सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
स्टाफ नर्स हत्या प्रकरण

परिवार नआई अनुसन्धान प्रक्रिया अगाडि नबढ्ने

शुक्रबार, ०२ चैत २०८०, १७ : १०
शुक्रबार, ०२ चैत २०८०

विराटनगर । विराटनगर–४ मा डेरा गरी बस्दै आएकी स्टाफ नर्सको हत्याको विषयमा प्रहरीले उनका परिवारका सदस्यहरू नआएसम्म भित्री अनुसन्धान नहुने बताएको छ । नोबेल शिक्षण अस्पतालमा काम गर्ने २२ वर्षकी चन्द्रिकाकुमारी दासको आज दिउँसो हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

सिराहाको फुलकाहकट्टी घर भएकी दास अस्पताल नजिक विराटनगर–४ को बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । डेरा बसेको घरको कोठाभित्रको बाथरुममा उनको शव दिउँसो १२ बजेतिर फेला परेको थियो । 

उनको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट देखिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनको हत्या भएको र शव छाडेर संलग्न व्यक्ति फरार भएको पाइएको दाहालले बताए ।

दासको परिवारलाई खबर भएको र उनीहरू आएपछि मात्रै घटनास्थलको भित्री पाटोको अनुसन्धान हुने दाहालले बताए । ‘परिवारका सदस्यहरू नआएसम्म हामीले भित्री पाटो हेर्न सकेका छैनौँ,’ दाहालले भने,‘बाहिरी घेरामा अनुसन्धान बढाएका छौँ । घटनास्थलमा के छ ? कस्तो अवस्थामा छ ? भन्नेबारे परिवारको रोहबरमा मात्रै हेर्नुपर्ने हुन्छ ।’

परिवारलाई अगाडि राखेर चित्त बुझ्ने गरी अनुसन्धान हुनुपर्ने भएका कारणले प्रहरीले परिवारलाई कुरेर बसेको उनले बताए । ‘मान्छेको मृत्यु भएको हो कि होइन भन्ने विषयमा मात्रै हामीले हेरेका हौँ । अन्य विषय परिवारका सदस्यहरू आएपछि मात्रै अनुसन्धान हुन्छ,’ दाहालले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप