बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसाय प्रवर्द्धनका लागि महानगरले तथ्याङ्क एकीकृत गर्दै

महानगरमा २० प्रतिशत दर्ता विहीन व्यवसाय
शुक्रबार, ०२ चैत २०८०, १९ : ३३
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले व्यवसाय प्रवर्द्धनका लागि महानगरभित्र सञ्चालन भएका व्यवसायको तथ्याङ्क सङ्कलन गर्दैछ । महानगरभित्र सञ्चालित व्यवसायहरूलाई व्यवस्थापन गर्नका लागि सूचीकृत गरेको काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले बताए ।

‘काठमाडौँ महानगरमा सञ्चालित व्यवसाय वडा पनि दर्ता हुन्छ, त्यो सूचना हामी कहाँ आइपुग्दैन, हामीसँग के–कति मात्रमा व्यवसाय छ, भनेर तथ्याङ्क छैन,’ उनले भने, ‘वडाहरूमा भएका तथ्याङ्क विभागलाई थाहा छैन । हामीसँग भएको तथ्याङ्क दर्ता भएकाहरूलाई एकीकृत गर्न खोजेको हो ।’

महानगरमा सञ्चालित कतिपय व्यवसाय दर्ता नभएको डा. झाले बताए । ‘महानगरमा सञ्चालित कति व्यवसायहरू दर्ता नै भएका छैनन्, तिनीहरूलाई पनि नियन्त्रण गर्न व्यवसायको तथ्याङ्क एकीकृत गर्न खोजेको हो,’ उनले भने, ‘कुनै वडामा बढी तरकारी पसल होला कुनैमा चाहिएका पनि नहोलान्, तिनीहरूलाई एकीकृत गर्न खोजेको हो ।’

महानगरले तरकारी, फलफूल बजार, नर्सरी, कोल्ड स्टोर र मासु तथा माछाजन्य सञ्चालित उद्योग तथा व्यवसायहरूलाई फागुन ३० गते सूचना जारी गरी १५ दिनभित्र सूचीकृत गर्न आग्रह गरेको छ ।

महानगरमा सञ्चालित तरकारी, फलफूल बजार, नर्सरी, कोल्ड स्टोर र मासु तथा माछाजन्य सञ्चालित उद्योग तथा व्यवसायहरूलाई एकीकृत गर्दा व्यवसाय प्रवर्द्धन गर्न सहज हुने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा. महादेव प्रसाद पौडेलले बताए । 

महानगरमा २० प्रतिशत दर्ता नभएको व्यवसाय 

महानगरपालिकामा करिब २० प्रतिशत व्यवसायहरू दर्ता नभएर सञ्चालन भएको पाइएको छ । ‘महानगरभित्र करिब २० प्रतिशत व्यवसायहरू दर्ता नभएर सञ्चालन छन्,’ उनले भने, ‘कतिपय उद्योगमा, महानगरमा व्यवसाय गरिसकेपछि दर्ता गर्नुपर्छ । दर्ता नगरी व्यवसाय गर्न भएन नि ।’ 

महानगरमा सञ्चालित डेरीलाई सुधारको लागि एक महिनादेखि कार्य गरेको उनले उल्लेख गरे । ‘एक वडा नम्बरबाट डेरी सुधारका लागि कार्यक्रम सञ्चालन गरेका छौँ, एक महिनामा सबै डेरीलाई गुणस्तरको दायरामा ल्याउँछौँ,’ उनले भने, ‘डेरीले दिने खुल्ला दुध गाई वा भैँसीको हो, फ्याट, एसएनएफ कति सबै विषय जाँच गर्दै छौँ ।’

हालसम्म महानगरभित्र सञ्चालित व्यवसायको यकिन तथ्याङ्क नरहेको उनले सुनाए । 

महानगरले फागुन ३० गते जारी गरेको सूचना अनुसार १५ दिनमा व्यवसायको सूचिकृत नभए प्रचलित कानुन अनुसार कारबाही गर्ने समेत उल्लेख गरिएको छ । काठमाडौँ महानगरपालिकामा दर्ता भई सोको विवरण महानगरपालिका कृषि तथा पशुपक्षी विभागमा पेस गर्ने सूचनामा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप