आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चित पप गायिका शकिरा भन्छिन्– ‘मैले जेरार्ड पिकेको प्रेमका लागि निकै ठूलो त्याग गरेँ’

आइतबार, ०४ चैत २०८०, १५ : ५१
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । चर्चित कोलम्बियन गायिका शकिराले पति जेरार्ड पिकेका लागि आफूले धेरै कुरामा सम्झौता गरेको बताएकी छन् । ३७ वर्षीय जेरार्ड पिके आफ्नो समयका प्रभावशाली फुटबलर हुन् ।

शकिराले जेरार्ड पिकेका लागि आफ्नो ‘करियर’ को समेत वास्ता नगरेको पिडा पनि पोखेकी छन् । ४७ वर्षीया यी कोलम्बियन पप गायिकाले पिकेको खेलजीवनलाई निरन्तरता दिन आफूले निकै सहयोग गरेको बताइन् ।

शकिरा र पिके ११ वर्षसम्म पति–पत्नीका रुपमा रहेका थिए । तर, आपसी सम्बन्ध बिग्रँदै गएपछि सन् २०२२ को जुनमा यी दुई एकअर्काबाट औपचारिक रुपमा अलग भएका थिए । शकिरा र पिकेका दुई सन्तान पनि छन् ।

शकिराले सात वर्षको प्रशिक्षापछि आफ्नो नयाँ एल्बम ‘लस मुजेरस वा नो लोरान’ रिलिज गर्न लागेकी छन् । उक्त एल्बमलाई अंग्रेजीमा ‘वुमन नो लंगर क्राई’ को नाममा अनुवाद गरिएको छ । उनले यसअघि सन् २०१७ ‘एल डोराडो’ नामको एल्बम रिलिज गरेकी थिइन् ।

‘एल डोराडो रिलिज भएपछि हालसम्मको अवधिलाई प्रतिबिम्बित गर्दै नयाँ एल्बम रिलिज गर्दैछु । यसबिचमा मैले लामो समय पिकेका लागि खर्चिएँ । उनको नजिक रहनका लागि मैले आफ्नो करियरसँग पनि सम्झौता गरेँ,’ दी टाइम्ससँगको कुराकानीमा शकिराले भनेकी छन् ।

शकिराले पिकेको प्रेमका लागि आफूले निकै ठूलो त्याग गरेको पनि बताएकी छन् । ‘मैले पिकेको प्रेमका लागि धेरै कुरा त्याग गरेँ । उनले आफ्नो खेल जीवनलाई सहज रुपमा निरन्तरता दिन सकुन् भनेर मैले आफ्नो करियरसँग पनि सम्झौता गरेँ,’ उनले भनेकी छन् ।

शकिराले आफ्नो नयाँ एल्बमले धेरैको जीवनमा उत्साह थप्ने विश्वास पनि व्यक्त गरेकी छन् । ‘मेरो नयाँ एल्बमले पीडालाई रचनात्मक्तामा, निराशालाई आशामा, रिसलाई उत्साहमा र कमजोरीलाई आत्मविश्वासमा रुपान्तरण गर्नेछ,’ उनले भनेकी छन् ।

नयाँ एल्बममा पिकको याद पनि प्रतिबिम्बित भएको छ कि ? भनेर सोधिएको एक प्रश्नको जवाफमा शकिराले भनेकी छन्, ‘यो कुरा त अहिले नै खोल्न नहुने हो । पक्कै पनि केही त होला नै । मलाई लाग्छ अहिले पनि उनलाई लिएर मेरो घाँटीमा केही अड्किएको छ । मैले त्यसलाई आफ्नो घाँटीबाट बाहिर निकाल्नै पर्ने हुन्छ ।’

आफ्नो समयका प्रभावशाली स्पेनिस फुटबलर पिकेले लामो समय स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलेका थिए । यसका अतिरिक्त उनले इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट पनि व्यावसायिक फुटबल खेलेका थिए ।

पिकेले स्पेनको राष्ट्रिय टोलीबाट पनि सन् २००९ देखि सन् २०१८ सम्म एक सय दुई खेल खेलेका थिए । स्पेनलाई सन् २०१० को फिफा विश्वकप र सन् २०१२ को यरो कप जिताउन पनि उनले महत्त्वपूर्ण योगदान गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप