शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जितको खुसीमा होस गुमाएका प्रशिक्षकले पहिले गल्ती गरे, त्यसपछि माफी मागे

आइतबार, ०४ चैत २०८०, १६ : ४६
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । आफ्नो टोली विजयी भएपछि खुसीयाली मनाउने क्रममा आफूबाट गल्ती भएको स्वीकार्दै इङ्लिस फुटबल क्लब कोभेन्ट्री सिटीका प्रशिक्षक मार्क रोविन्सले माफी मागेका छन् । जितबाट निकै उत्साही भएका कारण खुसी मनाउने क्रममा आफूबाट गल्ती भएको उनले बताएका छन् ।

खासमा एफए कप फुटबलमा शनिबार राति कोभेन्ट्री सिटी र उल्भरह्याम्पटनबिच क्वार्टरफाइनल खेल थियो । प्रतिस्पर्धात्मक त्यो खेलमा कोभेन्ट्री सिटीले उल्भरह्याम्पटनलाई ३–२ गोलले हरायो । जितसँगै कोभेन्ट्री सिटी प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भयो ।

कोभेन्ट्री सिटी ३७ वर्षपछि एफए कपको सेमिफाइनलमा पुग्न सफल भएको थियो । यसअघि सन् १९८७ मा कोभेन्ट्री सिटी एफए कपको सेमिफाइनलमा पुगेको थियो । इन्जुरी समयको १० औँ मिनेटमा हाजी राइटले गोल गरेपछि कोभेन्ट्रीको सेमिफाइनल यात्रा सम्भव भएको थियो ।

हाजीको गोललगत्तै खेल सकिएको थियो । त्यसपछि कोभेन्ट्री सिटीका प्रशिक्षक मार्क रोविन्स दौडँदै त्यो खेलमा ‘बल ब्वाई’ को भूमिका निर्वाह गरिरहेका एक बालक नजिक गएर उनको अगाडि उत्तेजित शैलीमा जितको खुसीयाली मनाएका थिए ।

त्यो घटनापछि प्रशिक्षक मार्क रोविन्सको निकै आलोचना भएको थियो । हार–जितबाट कुनै सरोकार नै नभएका बालक (बल ब्वाई) को अगाडि गएर उत्तेजित शैलीमा खुसीयाली मनाउनु गलत कार्य भएको भन्दै उनको आलोचना गरिएको थियो ।

त्यसको एक दिनपछि प्रशिक्षक मार्कले आफ्नो गल्ति स्वीकार्दै सार्वजनिक रुपमा माफी मागेका हुन् । ‘म ती बालक बल ब्वाईसँग माफी माग्न चाहन्छु । वास्तबमा मबाट गल्ति भएको हो । ती बालकलाई जित–हारबाट कुनै मतलब नै थिएन । तर, जितबाट म निकै उत्साही बनेको थिएँ । त्यही उत्तेजनामा मबाट गल्ती भएको थियो,’ उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप