सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

महराले खान्छन् ८ प्रकारका औषधि, अस्पतालमा बस्न दिन अदालतको आदेश

सोमबार, ०५ चैत २०८०, १८ : ५६
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई अस्पतालमा बस्न दिन आदेश दिएको छ ।

महराले आफूले विभिन्न ८ प्रकारका औषधि खाँदै आएको र स्वास्थ्य अवस्था ठीक नभएकाले अस्पतालमा बस्नुपर्ने आवश्यकता रहेको अदालतमा बताएका थिए । सोहीअनुसार अदालतले आवश्यकताअनुसार अस्पतालमा बस्न दिन प्रहरीलाई आदेश  दिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतले जनाएको छ। 

अदालतको आदेशअनुसार महराले केन्द्रीय अनुसन्धान ब्युरोका हिरासतमा नबसेर नर्भिक अस्पतालमा बस्ने तयारी गरेका छन् ।

प्रतिनिधिसभाको पूर्वसभामुख समेत रहेका महरा सुन तस्करी प्रकरणमा मुछिएपछि सोमबार रुपन्देहीबाट पक्राउ परेका थिए । पक्राउ परेलगत्तै यती एयरलाइन्सको जहाजमार्फत काठमाडौँ ल्याएर अदालतमा उपस्थित गराएकामा उनीमाथि अनुसन्धान गर्न सीआईबीले ४ दिनको म्याद दिएको छ । 

तर न्यायाधीश दुर्गा प्रसाद खनालको इजलासमा महराले आफूमा मस्तिष्कसम्बन्धी, घाँटीको क्यान्सर, प्रोस्टेटसम्बन्धी समस्या रहेको भन्दै सोहीअनुसार आठ प्रकारको औषधि खाने गरेको बताएका थिए । सोहीअनुसार अदालतले अस्पतालमा उपचार गराउन आदेश दिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले काठमाडौँ ल्याइएसँगै महरामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए । 

सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए।

गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका थिए । 

भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ ।  महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् । भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो ।

महरा साढे २ वर्षअघि पनि बलात्कार आरोपमा पक्राउ परेका थिए । सो मुद्दामा भने उनले सफाइ पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप