शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ठाकुरबाबा नगरपालिकामा करारका कर्मचारी कटौती

मङ्गलबार, ०६ चैत २०८०, ११ : १६
मङ्गलबार, ०६ चैत २०८०

बुटवल । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाले करारका कर्मचारीलाई चैतदेखि हाजिर गर्नबाट रोक लगाएको छ । विगत ८ वर्षदेखि नगरपालिकामा मेलमिलापकर्ताका रूपमा कार्यरत राधा आचार्यलाई मेयर र उपमेयरले फरक पार्टी भएको कारण चैत १ गतेबाट काम गर्नबाट रोक लगाएका हुन् । 

ठाकुरबाबा नगरपालिकामा मेयर तिलकराम लम्साल नेपाली कांग्रेस र उपमेयर विना कुमारी भट्टराई एमालेका हुन् । हाजिर हुनबाट रोकिएकी कर्मचारी राधा भने माओवादी केन्द्रको नगरकमिटी अध्यक्ष नेत्रराज आचार्यकी पत्नी हुन् । आचार्य स्थानीय तह निर्वाचनमा उम्मेदवार समेत बनेका थिए ।

२०७२ सालदेखि कार्यरत राधाले पछिल्लो समय नगरपालिकाले पूर्वााग्रह राखेर विभिन्न बहानामा आफूलाई दुःख दिने गरेको आरोप लगाइन् । उनी तत्कालीन ठाकुरद्वारा गाविसमा मेलमिलापकर्ता नियुक्त भएकी थिइन् । २०७४ मा विभिन्न गाउँपालिका मिलेर ठाकुरबाबा नगरपालिका बनेपछि पनि मेलमिलापकर्ताहरूलाई निरन्तरता दिने निर्णय भएको थियो ।

२०८० साउन २७ गते सम्पूर्ण मेलमिलापकर्ताको करार नवीकरण नगर्ने निर्णय भएपछि राधाले उच्चअदालत नेपालगन्जमा रिट निवेदन दायर गरेकी थिइन् । अदालतको अन्तरिम आदेशपछि उनले २०८१ असार ३० सम्मका लागि करार नवीकरण प्राप्त गरिन् ।

अदालतले माघ १० गते सो प्रकरणमा आदेश गर्दै उक्त पदमा लोक सेवा आयोगबाट स्थायी नियुक्ति नहुँदासम्म करारका कर्मचारीलाई नहटाउन भनेको छ । तर ठाकुरबाबा नगरपरिषदले नै करार नवीकरण नगर्ने निर्णय गरेपछि विवाद सतहमा आएको हो ।

राधाले आफ्नो श्रीमान् फरक पार्टीका भएको कारण नै राजनीतिक पूर्वाग्रह राखेर आफूलाई दुःख दिने गरिएको बताइन् । उनले अदालतको आदेशलाई समेत उल्लङ्घन गर्दै चैतबाट हाजिरमा रोक लगाएको बताइन् । यसविरुद्ध आफू फेरि अदालतमा जाने उनको भनाइ छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले मन्त्रालयले पठाएको सिलिङमा उक्त पद नभएको जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप