मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?

मङ्गलबार, १२ साउन २०८३, १५ : १३
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • सांसद आनन्दप्रसाद ढुङ्गानाले नेपालको सामाजिक-आर्थिक अवस्था, गरिबी र अशिक्षालाई मध्यनजर गर्दै निर्वाचनमा उच्च प्रविधिको प्रयोगको व्यवहारिकता र विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।
  • उनले साधारण मतदाताले प्रविधिमार्फत सहजै मतदान गर्न सक्ने वातावरण छ कि छैन र प्रविधिको विश्वसनीयता कसरी स्थापित गर्ने भन्ने जिज्ञासा राखेका छन् ।
  • ढुङ्गानाले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनमा प्रविधिको प्रयोगका लागि आवश्यक पूर्वाधार र जनशक्तिको तयारीबारे पनि प्रश्न गर्दै हतारमा लागू गर्दा जटिलता आउन सक्नेप्रति सचेत गराएका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले नेपालको वर्तमान सामाजिक–आर्थिक अवस्थालाई मध्यनजर गर्दै निर्वाचनमा उच्च प्रविधिको प्रयोग कति व्यवहारिक र विश्वसनीय हुन्छ भनी प्रश्न उठाएका छन् । 

प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको संसदीय सुनुवाइका क्रममा मङ्गलबार बोल्दै सांसद ढुङ्गानाले गरिबी र अशिक्षालाई निर्वाचन प्रविधिसँग जोडेर जिज्ञासा राखेका हुन् । 

सांसद ढुङ्गानाले नेपालको धरातलीय यथार्थ औँल्याउँदै भने, ‘हाम्रो देश गरिब छ, यहाँ धेरै जनता अझै पनि अशिक्षित छन्। यस्तो अवस्थामा निर्वाचनमा आधुनिक टेक्नोलोजी (प्रविधि) को प्रयोग कसरी गर्न सकिन्छ ? के हाम्रा साधारण मतदाताहरूले प्रविधिमार्फत सहजै मतदान गर्न सक्ने वातावरण छ ?’ उनले प्रविधि भित्र्याउँदा सर्वसाधारणको पहुँच र बुझाइलाई ध्यान दिनुपर्नेमा जोड दिए । 

प्रविधिको प्रयोगमा हुनसक्ने शङ्का र त्रुटिबारे चासो राख्दै ढुङ्गानाले भने, ‘टेक्नोलोजी ल्याएर मात्र पुग्दैन, त्यसलाई विश्वसनीय कसरी बनाउने ? मतदाताले आफूले दिएको मत सही ठाउँमा परेको छ र गणनामा कुनै चलखेल भएको छैन भनेर कसरी पूर्ण विश्वास गर्ने ? प्रविधिको विश्वसनीयता स्थापित गर्ने तपाईंसँग के आधार छ ?’  

ढुङ्गानाले आगामी स्थानीय तह र प्रदेश सभाको निर्वाचनमा प्रविधि प्रयोगको सम्भावनाबारे पनि प्रश्न गरे । 

उनले प्रश्न गरे, ‘के आगामी स्थानीय र प्रदेश सभा निर्वाचनमै प्रविधि प्रयोग गर्न सकिने वातावरण निर्माण हुन्छ ? यसका लागि आवश्यक पूर्वाधार र जनशक्तिको तयारी कसरी गर्नुहुन्छ ।’

सांसद ढुङ्गानाले प्रविधि समयको माग भए पनि नेपालको सन्दर्भमा यसलाई हतारमा लागू गर्दा निम्तिन सक्ने जटिलताप्रति सचेत रहन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप