१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
सारांश
- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ १८ वर्षपछि पुनः पलेँटीको मञ्चमा छोरा यमन श्रेष्ठसँग गायन प्रस्तुति दिन आइपुगेका छन् ।
- मदनकृष्णले आफ्ना पुराना चर्चित गीतहरूका साथै केही नयाँ सिर्जनाहरू पनि प्रस्तुत गर्नेछन् ।
- यो कार्यक्रम जुलाई ३१ र अगस्ट १ मा आयोजना हुनेछ र दर्शकले अनलाइन लाइभमार्फत हेर्न सक्नेछन् ।
काठमाडौँ । नेपालयको कालिकास्थानस्थित 'आर'शालामा नियमित आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम 'पलेँटी'मा यसपालि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको गायन सुन्न पाइने भएको छ ।
आगामी अङ्ग्रेजी महिनाको सप्ताहान्तमा हुने यस कार्यक्रममा उनले आफ्ना छोरा एवं गायक यमन श्रेष्ठका साथ प्रस्तुति दिनेछन् । मदनकृष्णले यसअघि १८ वर्ष पहिले पलेँटीको मञ्चमा आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा मदनकृष्णले आफ्ना पुराना चर्चित गीतहरूका साथै केही नयाँ सिर्जनाहरू पनि प्रस्तुत गर्नेछन् । विशेषगरी हास्यव्यङ्ग्य कलाकारिताका लागि परिचित भए पनि मदनकृष्णको कलाकारिताको यात्रा गायनबाटै सुरु भएको हो । उनले गाएका 'अरबौं मान्छेहरूमा', 'खोलावारि खोलापारि', 'फुलबुट्टे सारी', र 'सयथरी बाजा'जस्ता गीतहरू निकै लोकप्रिय छन् । पछिल्लो चरणमा स्वास्थ्यमा प्रतिकूलताका बाबजुद पनि उनी सांगीतिक र अभिनय क्षेत्रमा उत्तिकै सक्रिय छन् ।
यसपालिको पलेँटीमा मदनकृष्णका साथै उनका छोरा यमन श्रेष्ठको समेत विशेष प्रस्तुति रहनेछ । बुबाकै पथप्रदर्शनमा अभिनय, गायन र संगीतमा अघि बढेका यमन व्यङ्ग्यात्मक तथा गम्भीर दुवै प्रकृतिका गीत गाउन रुचाउँछन् । 'यो मन बदल्न चाहन्न', 'जिन्दगीमा सायद मैले' लगायत गीत गाएका यमन आफ्ना अधिकांश गीतमा आफैँ धुन भर्ने गर्छन् ।
लामो समयपछि पलेँटीमा फर्किंदा खुसी व्यक्त गर्दै मदनकृष्णले भने, '१८ वर्ष पहिले पनि पलेँटीमा गीत गाउँदा खुब रमाइलो भएको थियो । यसपालि त छोरालाई पनि साथमा लिएर आएको छु, झन् रमाइलो हुनेछ भन्ने आशा छ ।' त्यस्तै गायक यमन श्रेष्ठले पनि अभ्यास सत्र निकै रमाइलो भइरहेकाले मुख्य कार्यक्रम अझ उत्कृष्ट हुने बताए ।
आयोजकका अनुसार यो कार्यक्रम यही जुलाई ३१ तारिख शुक्रबार र अगस्ट १ तारिख शनिबारका दिन सञ्चालन हुनेछ । दर्शकहरूले घरमै बसेर पलेँटीको आधिकारिक वेबसाइटमार्फत लिङ्क बुक गरी अनलाइन लाइभमार्फत यो कार्यक्रम हेर्न सक्ने व्यवस्था मिलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने, मुख्य भूमिकामा साइग्रेस
-
एकैदिन ४२ विपद्का घटना
-
कुलमान घिसिङ भन्छन्– सांसदहरूले आफ्नै तलबबाट स्वकीय राख्नुहोस्
-
गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही
-
चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण