बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

९ वर्षपछि चीनमा बढ्यो विवाह गर्नेको सङ्ख्या

मङ्गलबार, ०६ चैत २०८०, १६ : ४५
मङ्गलबार, ०६ चैत २०८०

बेइजिङ । चीनमा विवाह गर्नेको सङ्ख्या बढेको छ । सन् २०२३ मा देशभरमा नवविवाहितकाे सङ्ख्या ७६ लाख ८० हजार रहेको छ । 

यो अघिल्लो वर्षको भन्दा १२ दशमलव ४ प्रतिशत धेरै हो । योसँगै चीनमा बिहे गर्ने जोडीको सङ्ख्या नौ वर्षमा पहिलो पटक बढेको हो । निजामती मामिला मन्त्रालयले बताएअनुसार सन् २०२२ को तुलनामा गएको वर्ष ८ लाख ४५ हजारभन्दा बढीको बिहे भएको छ ।

सन् २०१३ मा बिहे गर्नेको सङ्ख्या १ करोड ३४ लाख ७० हजारको कीर्तिमानी उचाइमा पुगेको थियो । त्यसयता यो सङ्ख्या वर्षेनी ओरालो लाग्दै आएको थियो । कीर्तिमानी न्यून स्तरमा झरेको जन्मदर उकास्न सरकारले अनेक अभियानहरू चलाइरहेको बेलामा बिहे गर्नेको सङ्ख्या बढेको खबर आएको छ ।

सन् १९८० को दशकमा उच्च जनसङ्ख्या नियन्त्रण गर्न सरकारले विवादास्पद एक सन्तान नीति लागू गरेको थियो । त्यसपछि दशकौँसम्म चीनको जन्मदर ओरालो लाग्यो । सन् २०१५ मा यो नीति खारेज गरियो । सन् २०२१ देखि जनसङ्ख्या बढाउने अभियानहरू नै चलाइयो । तर पछिल्ला २ वर्षयता चीनको जनसङ्ख्या घटेको छ ।

चीनमा बिहे मात्रै होइन पारपुचुके पनि बढेका छन् । सरकारी तथ्याङ्कका अनुसार सन् २०२२ मा मुद्दा नलडीकन सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या २१ लाख थियो । सन् २०२३ मा यो बढेर २५ लाख ९० मा पुगेको छ । अदालतमा मुद्दै लडेर सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या सन् २०२२ मा ७ लाख ७९ हजार रहेको थियो । यो सन् २०२१ को भन्दा १ दशमलव ४ प्रतिशत बढी  थियो । मन्त्रालयले सन् २०२३ को यो आँकडा सार्वजनिक गरिसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप