सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतले प्रत्येक दिन विभागीय प्रमुखसँग बैठक गर्ने

वडाको प्रगति बढाउन विभागीय प्रमुखहरूलाई सहजीकरण जिम्मेवारी
बुधबार, ०७ चैत २०८०, २० : ४३
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले हरेक दिन बिहान ०९ः४५ बजे विभागीय प्रमुखहरूसँग प्रगति बैठक राख्ने तालिका बनाएका छन् । विभाग स्तरमा अघिल्लो दिन के भयो, आज के गर्ने तयारी छ, यसका लागि आन्तरिक समन्वय र प्रगतिका बारेमा थाहा पाउन  तालिका बनाइएको उनले जानकारी दिए । 

‘बैठक संक्षिप्त हुनेछ । बैठक भएकै कारण काममा वा सेवा प्रवाहमा बाधा हुनेछैन । बैठकलाई औपचारिकतामानभन्दा विषयमा केन्द्रित गरिनेछ,’ बैठक योजनाका विषयमा जानकारी दिँदै उनले भने, ‘यसबाट प्राप्त हुने सूचनाले प्रगतिमा पुग्न सघाउ पुग्नेछ । यस्तै देखिएका बाधा फुकाउन सहज वातावरण बन्नेछ ।’

बुधबार उनको कार्यकक्षमा बसेको आर्थिक वर्ष २०८०/०८१ को आयव्यय स्रेस्ताको अन्तिम लेखापरीक्षण, प्रारम्भिक प्रतिवेदनले औँल्याएको अवस्थाका बारेमा विभागीय प्रमुखहरूसँग छलफल गर्दै योजना सुनाएका हुन् । खर्च बढाउन र बेरुजु घटाउन विभागका प्रमुखहरूले सक्रिय भएर काम गर्नुमा उनको जोड थियो । 

प्रतिवेदनले औँल्याएका ‘सैद्धान्तिक’ र ‘लगती’ वेरुजुसँग सम्बन्धित विभाग, आयोजना, एकाइ, सचिवालय र कार्यक्रमका प्रमुखहरूले प्रारम्भिक बेरुजुलाई रुजु गराउन गर्नु पर्ने काम र निर्वाह गर्नु पर्ने भूमिका छलफलको मुख्य विषय थियो । 

बैठकमा वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले प्रारम्भिक प्रतिवेदनका विषयमा प्रस्तुतीकरण गरेका थिए । यस्तै आन्तरिक लेखा परीक्षण एकाइका प्रमुख यादव घिमिरे, विषयसँग सम्बन्धित यसअघि गरिएका कामका विषयमा जानकारी गराएका थिए । 

विभागका प्रमुखहरूलाई वडा सहजीकरणको जिम्मेवारी

बैठकमा प्रमुख प्रशासकीय अधिकृत परियारले आजसम्ममा वडाहरूले प्राप्त गरेको वित्तीय प्रगतिको ग्राफ प्रस्तुत गरेका थिए । ‘वडाका काम महानगरबाट अलग छैनन्, अलग्ग होइनन् । यसकारण त्यहाँको सम्भावनालाई उपयोग गर्नुपर्छ । चुनौतीको समाधान गर्नुपर्छ । समस्याको समाधान गरिदिनु पर्छ । यसका लागि एकजना विभागीय प्रमुखलाई २ वटा वडाको जिम्मेवारी दिएको छु,’ उनले भने, ‘अहिलेसम्म देखिएको प्रगतिको अङ्क तपाईँहरूले काम थाल्ने विन्दु हो । तपाईँको सहजीकरणपछि यसअघिको विकास गतिले कति फरक पार्छ, तपाईँको उपस्थितिको मापन सूचक हो ।’

प्रशासन विभागका प्रमुख दीपक अधिकारीलाई वडा नं. ६ र १६, सूचना प्रविधि विभागका प्रमुख महेश काफ्लेलाई वडा नं. ५ र ७, सहरी विकास विभागका प्रमुख अर्चना श्रेष्ठलाई वडा नं. २ र १७, कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यलाई वडा नं. १२ र १५, राजस्व विभागका प्रमुख ध्रुव काफ्लेलाई वडा नं. ८ र १४ को जिम्मेवारी दिइएको छ । यसैगरी वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीलाई वडा नं. ९ र १० को जिम्मेवारी दिइएको छ । 

खरिद एकाइका प्रमुख नमराज ढकाललाई वडा नं. ३ र ११, सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नरेन्द्रबिलास बज्राचार्यलाई वडा नं. २१ र २९, योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीलाई वडा नं. २० र ३०, आन्तरिक लेखा परीक्षण एकाइका प्रमुख यादव घिमिरेलाई वडा नं. १ र ३१, वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठलाई वडा नं. ४ र २६, सार्वजनिक  निर्माण विभागका प्रमुख सुरज शाक्यलाई वडा नं. २२ र ३२ को जिम्मेवारी दिइएको छ ।   

सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालालाई वडा न. १३ र १९, सम्पदा तथा पर्यटन विभागका निमित्त प्रमुख कुमारी राईलाई वडा नं. २५ र २८, स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनलाई वडा नं. १८ र २७, शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेललाई वडा नं. २३ र २४ को जिम्मेवारी दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप