बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिमा आलोपालोबारे ओलीको टिप्पणी : धारामा पानी थाप्न बसेजस्तो होइन

बिहीबार, ०८ चैत २०८०, २० : ०२
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वमा आलोपालो गरेर पद प्राप्त गर्ने कुरालाई राजनीतिक वृत्तमा संस्कारकै रूपमा लिन थालिएको भन्दै आलोपालोको संस्कृतिले राजनीतिलाई गुणात्मक र परिणाममुखी बनाउन नसकिने बताएका छन् । 

नयाँ गठबन्धनमा माओवादी अध्यक्ष प्रचण्ड र केपी ओलीलगायतका नेता आलोपालो प्रधानमन्त्री चर्चा भइरहेका बेला ओलीले आलोपालोको संस्कृतिको विरोध गरेका हुन् । प्रधानमन्त्री मात्र नभएर मुख्यमन्त्रीका साथै अन्य सङ्घ संस्थामा पनि आलोपालोको चर्चा भइरहेका बेला अध्यक्ष ओलीले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘हाम्रो राजनीतिक वृत्तमा अराजनीतिक सोच यति बढेको छ कि नेतृत्वमा आलोपालो गरेर पद प्राप्त गर्ने कुरालाई पनि संस्कारका रूपमा लिन थालिएको छ । तर राजनीति अहिले तपाईंको पालो त्यसपछि मेरो पालो, मेरोपछि उसको पालो भनेर धारामा पानी थाप्न लाइन बसेजस्तो होइन ।’ 

अध्यक्ष ओलीले नेतृत्व गर्ने कुरा योग्यता, क्षमता, सक्रियता, बुझाइ र इमान्दारीमा भर पर्ने पनि बताएका छन् । 

‘यस्तो संस्कार बसाएर मात्र राजनीतिलाई गुणात्मक र परिणाममुखी बनाउन सकिन्छ । आलोपालो पदको अभ्यासले सञ्चारकर्मीदेखि समाजको ठुलो हिस्सालाई प्रभाव पारेको देखिन्छ र प्रश्नहरू सोधिन्छ – ’तपाईंको पालो कहिले, उहाँको पालो कहिले ?’  हामी राजनीतिमा बसेको गलत संस्कारलाई तोड्दै अघि बढिरहेका छौँ’,पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भनेका छन् । उनले राजनीतिलाई गुणदोषमा आधारित रहेर परीक्षण गर्ने संस्कार बसाल्नुपर्ने पनि बताएका छन् । ‘राजनीतिलाई गुण/दोषमा आधारित रहेर परीक्षण गर्ने संस्कार बसालौँ, आलो/पालो वा तेरो/मेरोमा आधारित रहेर होइन’, ओलीको भनाइ छ ।

k

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप