सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

एमाले सुर्खेत अधिवेशन: नेतृत्वका लागि दुई समूहबिच रस्साकस्सी !

शुक्रबार, ०९ चैत २०८०, १३ : ४९
शुक्रबार, ०९ चैत २०८०

सुर्खेत । नेकपा एमालेको नवौँ अधिवेशन बिहीबारदेखि जारी छ । शनिबार सम्पन्न गर्ने गरी सुरु भएको अधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गरेका थिए । सकेसम्म सर्वसम्मत गर्ने तरिकाले अघि बढ्ने गरी नेतृत्व चयन गर्न पोखरेलले निर्देशन दिएका छन् । तर, नेतृत्वका लागि दुई वटा समूहबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

राजधानीको जिल्ला भएका कारण पनि यहाँको नेतृत्वका लागि दुई समूहका नेताहरूले प्रतिष्ठाकै विषय बनाइरहेका छन् । सुर्खेतमा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलको दबदबा छ ।

उनको पक्षबाट हाल उपाध्यक्ष रहेका कुलमणि देवकोटा अध्यक्षका दाबेदार छन् भने अर्को पक्षबाट वर्तमान अध्यक्ष अमृत बीसी नै अध्यक्षमा दाबेदार छन् । बीसी प्रदेशमा गोरख बोगटी टिममा छन् भने जिल्लामा यामलाल विरुद्ध नवराज रावतले अर्को पक्षको लिड गरिरहेका छन् । अहिले बोगटी पनि सुर्खेत जिल्ला इञ्चार्ज छन् । 

नेतृत्वका लागि यामलाल भर्सेस गोरख बोगटी–नवराज रावत समूहबिच प्रतिस्पर्धा भइरहेको छ । एमालेका एक नेताका अनुसार आज बिहानदेखि विभिन्न राजनीतिक प्रतिवेदनमाथि वृहत् रुपमा छलफल भइरहेको छ भने देवकोटा र बिसीको दाबेदारीमाथि एकको पक्षमा सर्वसम्मत गराउने गरी छलफल भइरहेको छ ।

बीसी एक कार्यकाल अध्यक्ष भइसकेकाले यदि सर्वसम्मत भए पनि देवकोटाकै पक्षमा हुने कतिपय नेताहरूको दाबी छ । तर, बोगटी–रावत पक्षधर नेताहरूले अडान गरिरहेकाले चुनाव नै हुने सम्भावना बढेको ती नेताले बताए । ‘यहाँ कुन गुटको मान्छे अध्यक्ष बन्ने भन्ने प्रतिस्पर्धा चलेको छ,’ ती नेता भन्छन्, ‘नेताहरू गुटलाई नै प्रतिष्ठाको विषय बनाई लागेपछि नेतृत्व चयन पेचिलै बन्ने देखिन्छ नै ।’ उसो त बीसी आठौँ अधिवेशनमा यामलाल कँडेलकै पक्षबाट उम्मेदवार बनेर अध्यक्ष बनेका थिए । तर, एमालेको प्रथम अधिवेशनदेखि उनी रावत टिममा लागेका हुन् ।

त्यसपछि कँडेलले उनलाई साथ दिन छाडिदिए । अध्यक्ष बाहेक जिल्लाका ८० प्रतिशत पदाधिकारी तथा सदस्यहरू कँडेल टिमको छन् । अहिले चुनाव नै भए पनि कँडेल पक्षको उम्मेदवारले सहजै जित्ने कँडेल पक्षधर एक नेताले बताए । बीसीले सुर्खेत जिल्लामा कँडेलको एकाधिकार रहेको, आठौँ जिल्ला अधिवेशनपछि जसरी पार्टी साझा तरिकाले चल्नुपर्ने हो त्यसरी चल्न नसकेको, अध्यक्षलाई अवमूल्यन तथा अपमान गर्दै केही व्यक्तिको इसारामा पार्टीलाई नचाउने प्रयत्नहरू भइरहेको आरोप लगाउँदै यसअघि फागुनमा गर्ने भनिएको अधिवेशन स्थगित गरिदिए । बीसीले त्यसो भनेका व्यक्ति यामलाल कँडेल नै थिए ।

बीसीले त्यसो गर्नुको पछाडि आफूले भनेको निर्वाचन कमिटी हुनुपर्ने र कसरी हुन्छ आफू पुनः नेतृत्वमा आउने रणनीति चालेको लगायतका आरोप अर्को पक्षले बताउँदै आएको थियो । बीसीले सार्वजनिक रूपमै प्रेस विज्ञप्ति जारी गरेर पार्टीभित्रको आन्तरिक विवाद सार्वजनिक गरेपछि त्यो विवाद केन्द्रसम्मै पुग्यो । त्यसपछि अध्यक्ष ओलीले कर्णालीका नेताहरूलाई काठमाडौँ बोलाई तीन दिनसम्म छलफल गरेका थिए ।

उनै बीसीको अडानका कारण अधिवेशन चैत्रमा सरेको थियो । बीसीसँग कँडेल चिढिएका छन् । उनको पक्षबाट अध्यक्षका दाबेदार देवकोटा पनि जिल्लामा राम्रो छाप छाड्ने नेतामा पर्छन् । उनी राजधानी वीरेन्द्रनगरको खानेपानी समस्या समाधानका लागि लामो समयदेखि संघर्ष गर्दै आइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप