शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
कूटनीति

चीन र भारत किन केन्द्रित हुँदैछन् पोखरामा ?

आइतबार, १८ चैत २०८०, १४ : ०९
आइतबार, १८ चैत २०८०

काठमाडौँ । २०८० असोजमा पर्यटन दिवसको अवसरमा पोखरा पुगेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भनेका थिए, ‘मलाई थाहा छैन, यो सडक कसले बनाउँदैछ, भारतीय कम्पनीले राजमार्ग छिटो निर्माण गर्ने रेकर्ड राखेको छ । अब राजमार्ग बनाउँदा भारतीय कम्पनीलाई पनि सम्झनुहोला ।’

मुग्लिन–पोखरा सडकखण्डको दुरावस्थाबारे भारतीय राजदूत श्रीवास्तवले व्यङ्ग्यको शैलीमा यस्तो टिप्पणी गरेका थिए । मुग्लिन–पोखरा सडकखण्डको पुनर्निर्माण चिनियाँ कम्पनीले गरिरहेको छ ।

त्यसको अघिल्लो महिना भदौमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भारतको बारेमा टिप्पणी गर्दै भनेका थिए, ‘नेपालले भारतलाई गत आर्थिक वर्षमा १० अर्बको विद्युत् निर्यात गर्‍यो जबकि नेपालले भारतबाट १९ अर्बको विद्युत् आयात गर्‍यो । भारतसँग भइरहेको विद्युत् व्यापारबाट नेपालले घाटा बेहोरिरहेको छ । यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छ ?’ नेपालले भारतसँग गरेको विद्युत् व्यापारको बारेमा चिनियाँ राजदूत सोङले यस्तो प्रतिक्रिया दिएका थिए ।

चीन र भारत पछिल्लो समय नेपालमा कसरी आमनेसामने आएका छन् भन्ने बुझ्न यस्ता उदाहरण प्रशस्त पाइन्छ । हालै पर्यटनको राजधानी घोषणा भएको पोखरामा चीन र भारतले सम्पूर्ण शक्ति लगाइरहेका छन् ।

thumb1-1687397836

पछिल्लो समय नेपालका लागि चीन र भारतका राजदूतको निरन्तरजसो पोखरा पुग्ने गरेका छन् । चीनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाइसकेपछि त्यहाँ दुवै देशका राजदूतको दौडधुप बाक्लिएको छ ।

पोखराको लेकसाइडमा चिनियाँहरूको गतिविधि बढेको छ । लेकसाइडमा चिनियाँहरूको व्यापार विस्तार भइरहेको छ । पोखराको अन्य ठाउँमा पनि चिनियाँहरूले रेस्टुरेन्ट, होटल लगायतका विभिन्न व्यवसाय सञ्चालन गरेका छन् । पोखरामा पत्रकारिता गर्दै आएका अनुप प्रकाशले भने, ‘पोखरामा अन्तर्राष्ट्रिय एयरपोर्ट सञ्चालनमा आएपछि चीनको गतिविधि गजबले बढेको छ, चिनियाँहरू ठाउँठाउँमा टोल नै बनाएर बस्न थालेका छन् ।’

पोखरामा भारतले पनि आफ्नो सक्रियता बढाएको छ । गत असार ६ गते भारतले पोखरा महानगरपालिकाको सहकार्यमा पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको आयोजना गरेकै दिन चीनले पहिलो पटक पोखरा विमानस्थलमा आफ्नो विमान अवतरण गराएको थियो ।

योग दिवसका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र पहिलो अन्तर्राष्ट्रिय विमान अवतरणका लागि चिनियाँ राजदूत चेन सोङ दुवै जना पोखरा पुगेका थिए ।

shriwastaw-e1687360642435

चीनबाट आएको विमानमा असार ८ गतेदेखि सुरु भएको ‘ड्रागन बोट रेस’ का लागि खेलाडीहरू सवार थिए । उनीहरूलाई चिनियाँ राजदूत चेन सोङले स्वागत गरेका थिए ।

पोखरामा एकै दिन दुई देशका राजदूतको कार्यक्रम थियो । चार किलोमिटरको दुरीमा दुवै राजदूतको कार्यक्रम भएको थियो । कार्यक्रममा दुवै देशले नेपालसँगको सम्बन्धलाई व्याख्या गरेका थिए ।

त्यस्तै, असार ७ गते चिनियाँ पर्यटकलाई आकर्षित गर्न एनएमबि बैंकले नेपालमा वालेट ‘वी च्याट’ पोखरामा शुभारम्भ गरेको थियो, जसमा चीनका राजदूत सोङ पनि सहभागी थिए ।

त्यसपछि पटकपटक दुवै देशका राजदूत पोखरा पुग्ने गरेका छन् । असार ६ गतेको कार्यक्रम सकेर काठमाडौँ फर्केका भारतीय राजदूत श्रीवास्तव पुनः साउन ९ गते पोखरा पुगेका थिए ।

गत असोजमा विश्व पर्यटन दिवसका दिन पोखराको लेकसाइडमा भएको सडक महोत्सवमा भारतीय राजदूत श्रीवास्तव पुगेका थिए । सोही महिनामा नेपाल–भारत सुरक्षा सम्बन्धी बैठक पोखरामै बसेको थियो ।

त्यसपछि कात्तिकमा जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत लिएर दुई वटा चिनियाँ जहाज पोखरामा अवतरण गर्दा त्यसलाई रिसिभ गर्न चिनियाँ राजदूत चेन सोङ आफैँ पोखरा पुगेका थिए । त्यसअघि कात्तिकमा भारतीय राजदूत नवीन श्रीवास्तव दसैँको बिदा मनाउन पोखरा पुगेका थिए ।

मंसिर ८ गते चिनियाँ राजदूत चेन सोङ पोखरामा भएको अन्तर्राष्ट्रिय माउन्टेन क्रस–क्रन्ट्री प्रतियोगिताका लागि त्यहाँ पुगेका थिए । त्यतिबेला पनि चीनबाट आएका खेलाडीहरू सोझै पोखरा एयरपोर्टमै ओर्लेका थिए ।

सरकारले चैत ४ गते पोखरालाई पर्यटनको राजधानी घोषणा गर्दा चिनियाँ राजदूत सोङ पोखरा पुगेका थिए । घोषणा कार्यक्रमको एक भिडियो उनले आफ्नो ‘एक्स’मा सार्वजनिक गरेका थिए ।

यसरी दुई देशका राजदूत कुनै न कुनै बहानामा पोखरा पुगेकै हुन्छन् । नेपाल–भारत मैत्री सङ्घका अध्यक्ष ऋषिराम सापकोटा भन्छन्, ‘नेपालमा काठमाडौँपछि पोखरा नै हरेक किसिमले भाइब्रेन्ट सहर भएको हुनाले भारत र चीनको आकर्षण बढ्नु स्वाभाविक हो, यसलाई पोखरावासीले अन्यथा लिएका छैनन् ।’

पोखरा पर्यटनको हिसाबले मात्र होइन, राजनीतिक हिसाबले पनि गतिशील ठाउँ रहेको उनले बताए । पोखरा वामपन्थीहरूको राम्रो पकड क्षेत्र भएका कारण चिनियाँहरूको चहलपहल बढेको बताउँदै उनले पञ्चायतकालदेखि नै पोखरामा चीनको थोरबहुत गतिविधि हुँदै आएको प्रस्ट पारे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्न थालेपछि चाइनिजको गतिविधि ह्वात्तै बढेको उनको भनाइ छ ।

  • पोखरामा चीन र भारतको गतिविधि

सापकोटाका अनुसार पोखराको कुनै यस्तो ठाउँ छैन, जहाँ चिनियाँहरू देखिँदैनन् । उनले भने, ‘भारतले पनि पोखरामा पहिलादेखि नै आफ्नो गतिविधि गरिरहेको थियो । यहाँ भारतीय सेनाबाट अवकाश पाएका नेपालीहरूलाई पेन्सन वितरण गर्ने क्याम्प छ ।

पोखराको रामबजारमा २०१७ सालदेखि स्थायी भारतीय पेन्सन क्याम्प छ । सो क्याम्पमा भारतीय सेनाको एक टुकडी बस्छ । भारतीय सेनामा भर्ना हुने नेपालीमध्ये धेरैजसो गण्डकी प्रदेशका छन् ।

पोखराकै पहिलो जलविद्युत् फेवा जलविद्युत् परियोजना, पोखरा–लुम्बिनी जोड्ने सिद्धार्थ राजमार्ग निर्माण, भारतीय पूर्व गोर्खाका छोराछोरीका लागि नेपाल–भारत मैत्री विद्यालय लगायतका थुप्रै आयोजना भारतको लगानीमा गण्डकी प्रदेशमा सञ्चालित छन् ।

त्यतिमात्र होइन, पोखराका छोरेपाटन, हेम्जा, पृथ्वीचोक तथा तनहुँको दुलेगौंडा लगायतका ठाउँमा तिब्बती शरणार्थीको क्याम्प छ । त्यहाँबाट चीनको कोराला नाका नजिकै रहेको कारण चीनलाई झन् चिन्तित बनाएको छ । चिनियाँहरूको बुझाइ अनुसार तिब्बती शरणार्थीहरू भारतको सम्पर्कमा छन् ।

२०२० सालमा भएको खम्पा विद्रोहमा यिनै शरणार्थीहरूले सघाएको बुझाइ चीनको छ । २०१५ मा चीनबाट निर्वासित भएर तिब्बती धर्मगुरु दलाई लामा र उनीसँग आएका तिब्बतियनहरू पोखराको बाटो हुँदै भारत गएका थिए ।

  • पोखरामा चिनियाँ प्रधानमन्त्री

भारतले पोखरामा पेन्सन क्याम्प स्थापना गरेकै साल २०१७ मा चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले पोखराको भ्रमण गरेका थिए । तत्कालीन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाले चाउ एन लाईलाई फेवाताल लगायत विभिन्न क्षेत्रको अवलोकन गराएका थिए । यसबाट पनि चीनले पोखरामाथि सुरुदेखि नै आफ्नो ध्यान केन्द्रित गरेको पुष्टि हुन्छ ।

EeTJCK4UcAEr1zk

पोखरा महानगरपालिकाले चीनको कुनमिङ, गोन्जाओ, इविन, छुसाओ, हाइकाओ, नानिङ र गान्जी सहरसँग भगिनी सम्बन्ध विस्तार गरिसकेको छ । चीनले पोखरासँग विशेष सम्बन्ध स्थापित गरेको छ । असारदेखि हालसम्म पोखरामा तीन वटा अन्तर्राष्ट्रिय खेल गराउनुको साथै सडक महोत्सव, नयाँ वर्षको उपलक्ष्यमा भव्य कार्यक्रम चीनले सम्पन्न गरिसकेको छ ।

पोखरामा भारतको चहलपहल बढ्नु, तिब्बती शरणार्थीको सङ्ख्या पोखरामै बढी देखिएका कारण चीनले पोखरालाई टार्गेट गरेको हुनसक्ने बुझाइ पत्रकार अनुप प्रकाशको छ ।

चीनले पोखरा एयरपोर्ट बनाएपछि भारत झन् चिन्तित भएको उनको आकलन छ । पोखराबाट भारतको सुनौली नाका नजिक छ । नेपालको एयरपोर्ट नै चीनको अधीनमा भएपछि भारत त्यसबाट झस्केको छ र पोखरामा आफ्नो गतिविधि झन् बढाएको उनले बताए ।

नेपाल–भारत मैत्री सङ्घका अध्यक्ष सापकोटाले पोखरामा बनेको विमानस्थल सञ्चालनमा चुनौती देखिएको बताए । उनले भने, ‘हालसम्म त्यो एयरपोर्ट सञ्चालन भएको छैन । अहिलेसम्म चार वटा अन्तर्राष्ट्रिय जहाज अवतरण भएका छन्, त्यसमध्ये तीन वटा चीनकै छन् । एउटामा राहत आएको थियो भने अर्को दुई वटामा खेलाडी आएका थिए । व्यावसायिक उडान चीनले पनि सुरु गर्न सकेको छैन ।’

  • आ–आफ्नो स्वार्थ

चीन र भारतले पोखरामा आ–आफ्नो गतिविधिलाई तीव्रता दिनुमा उनीहरूकै स्वार्थ रहेको राजनीतिक विश्लेषक शिव बराल (पोखरा)को भनाइ छ । उनले भने, ‘चीन र भारतले पोखरामा जे–जति गरिरहेका छन्, उनीहरू आ–आफ्नो स्वार्थका लागि गरिरहेका छन् । यसले नेपाललाई केही क्षणिक फाइदा होला तर त्यसमा उनीहरूको आफ्नै स्वार्थ लुकेको छ ।’

भारतले पोखरामा क्याम्प खडा गरेपछि चीन डराएको र चीनले पोखरामा एयरपोर्ट बनाउँदा भारत डराएको उदाहरण दिँदै उनले पोखरा एक अर्काको विरुद्ध प्रयोग हुने हो कि भन्ने डर दुवै देशलाई रहेको प्रस्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप