बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

बंगलादेशका नागरिकलाई काठमाडौँ ल्याएर किन बन्धक बनाइन्छ ?

साउन यता १२ जना पक्राउ
मङ्गलबार, २० चैत २०८०, १६ : ५३
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ पकनाजोलस्थित होटल निभाना ग्रीन पिस होमबाट चैत ८ मा ४ जना बंगलादेशका नागरिक पक्राउ परे । उनीहरूमाथिको आरोप थियो– बंगलादेशका ५ जना नागरिकलाई बन्धक बनाएको ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले ३ जना बंगलादेशीलाई उद्धार गरेको छ । उद्धार गरिएहरूसँगै ढाकाबाट काठमाडौँ आएका दुई जना अझै सम्पर्कमा आएका छैनन् ।

पकनाजोलबाट पक्राउ पर्नेमा ढाका घर भएका ३८ वर्षीय नुरुल हुडा, ३१ वर्षीय सामिम अहमद, ३० वर्षीय एम डी मासुम बिल्लाह र ३३ वर्षीय प्रणय कुमार छन् । उनीहरूले युरोपियन मुलुक क्रोएसिया पठाउँछौँ भनेर पीडितहरूलाई काठमाडौँ ल्याएका हुन् ।

ढाकाबाट भारतको नयाँ दिल्ली हुँदै काठमाडौँ ल्याएर आरोपितहरूले बन्धक बनाएर परिवारसँग पैसा माग्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए ।  उनीहरूविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

यस्तै कसुरमा संलग्न अर्का एक जना बंगाली पनि पक्राउ परेका छन् । उनी हुन् २७ वर्षीय यासिर अहमद भन्ने एमडी यासिर बंगला । उनलाई चैत १५ मा पक्राउ गरेर प्रहरीले अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

युरोपियन मुलुक क्यानडा, इटाली र क्रोएसियाको सपना देखाएर बंगलादेशबाट युवालाई काठमाडौँ ल्याउने र यहाँ बन्धक बनाएर गिरोहले पैसा असुल्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

२०८० साउनमा पनि प्रहरीले काठमाडौँ महानगरपालिका–९ स्थित कालीमाटी डोलमा रहेको मेमोरियल गेष्ट हाउस, हरिसिद्धी र नक्सालस्थित मसाज सेन्टरबाट बंगलादेशका नागरिकलाई उद्धार गरेको थियो ।

प्रहरी वरिष्ठ उपरीक्षक राठौर भन्छन्, ‘पीडितहरूलाई नियन्त्रणमा राखेर बंगलादेशमा परिवारलाई फोन गर्न लगाएर पैसा असुल्ने उनीहरूको उद्देश्य देखिन्छ ।’

२०८० साउनमा पनि प्रहरीले काठमाडौँ महानगरपालिका–९ स्थित कालीमाटी डोलमा रहेको मेमोरियल गेष्ट हाउस, हरिसिद्धी र नक्सालस्थित मसाज सेन्टरबाट बंगलादेशका नागरिकलाई उद्धार गरेको थियो ।

साउन २८ मा बन्धक बनाएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ जनालाई सार्वजनिक गरेको थियो । बंगलादेशबाट ‘युरोपियन मुलुक पठाउँछौँ’ भनेर काठमाडौँमा ल्याएर बन्धक बनाएको आरोपमा बंगलादेशका ५ जना नागरिक र दुई जना नेपाली पक्राउ परेका हुन् । त्यतिबेला ८ जनालाई प्रहरीले उद्धार गरेको थियो ।

यातना दिएर रकम असुलेको आरोपमा पक्राउ पर्नेमा बंगलादेशका ४७ वर्षीय अमिर हुसेन, ३७ वर्षीय मोहम्मद मोसिअर रहमान, ३८ वर्षका सलिम ताय, २१ वर्षीय जहानगिर आलम र २१ वर्षीय ताहमिना बेगम थिए । उनीहरूलाई सिन्धुपाल्चोक घर भएकी २७ वर्षीय तारा नेपाली र ईलाम घर भएकी ३३ वर्षीय रोशनी राईले सहयोग गरेका हुन् ।

बंगलादेशबाट युरोपियन मुलुक पठाउने ‘सपना’ देखाएर काठमाडौँमा ल्याएपछि आरोपितहरूले बन्धक बनाएर कुटपिट गरी १० लाखसम्म फिरौती असुलेको अनुसन्धानबाट थाहा भएको छ । बंगलादेशका पीडित महिलाहरूलाई गिरोहका सदस्यले स्पामा राखेर जबर्जस्ती यौनधन्दामा समेत लगाउने गरेको भेटिएको छ । दुई जना महिलालाई गिरोहले रोशनी राईद्वारा सञ्चालित ‘केटीसी ब्यूटी पार्लर स्पा’मा राखेर जबर्जस्ती यौन धन्दामा लगाएका हुन् ।

साउन यता हालसम्म १० जना बंगलादेशी र दुई जना नेपाली सहयोगी पक्राउ परेका छन् । गिरोहका सदस्यहरूले पीडितलाई पहिले भारतमा ल्याउँछन् । युरोपमा गएर आकर्षक रोजगारी पाउने आशामा पीडितहरू गिरोहको योजना अनुसार काठमाडौँसम्म आइपुग्छन् । काठमाडौँमा थप असुल गरेर गिरोहका सदस्यले उनीहरूलाई बिचल्ली बनाउने गरेको एसएसपी राठौरले बताए ।

उनी भन्छन्, ‘यसअघि केही बंगलादेशी पुरुष नेपालीसँग विवाह गरेर युरोप गएको पनि देखिन्छ, गिरोहले त्यस्ता उदाहरण देखाएर पीडितलाई लोभ्याउने गर्छन् ।’

बंगलादेशका पुरुषले नेपाली महिलासँग विवाह गरेर नेपाली नागरिकता लिई काठमाडौँबाट युरोप यात्रा तय गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । पछिल्लो समय मानव तस्करीमा संलग्न गिरोहले ती घटनालाई उदाहरणको रूपमा देखाएर बंगालीलाई काठमाडौँसम्म ल्याएर अुसल्ने गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप