बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका कृषि मन्त्रीले सार्वजनिक गरे ३३६ दिने कार्यप्रगति (विवरणसहित)

बिहीबार, २२ चैत २०८०, २० : २३
बिहीबार, २२ चैत २०८०

सुर्खेत । कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी विकासमन्त्री भीम प्रकाश शर्माले आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त सार्वजनिक गरेका छन् । बुधबार मुख्यमन्त्रीले राजीनामा घोषणा गरेसँगै कर्णाली सरकार काम चलाऊ हैसियतमा पुगेको छ ।

०७९ फागुन ११ गते कृषि मन्त्री नियुक्त भएका शर्माले ३३६ दिन मन्त्रालयको जिम्मेवारी सम्हाले । यो अवधिमा आफूले सकेको काम गरेको उनको दाबी छ । ‘जति चाहेको हुन्छ, त्यति गर्न त गाह्रो नै हुँदो रहेछ,’ उनले भने, ‘जे होस् राम्रो गर्ने प्रयत्न गरिएको छ ।’

उनका अनुसार यो अवधिमा मन्त्रालयगत ६ वटा नीति पारित भएका छन् भने २०४९ सालदेखि बन्द भएको डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–११ मा पर्ने बलाङ्ग्रामा चौरी विकास फर्म पुनः स्थापना गरी सरकारी श्रोत केन्द्रको रुपमा विकास गर्ने रणनीति अगाडि बढाइएको छ ।

शर्माले चालु आर्थिक वर्षमा प्रदेशका १० जिल्लामा साना सिँचाइ तथा मर्मत सम्भार कार्यक्रम सञ्चालन गरी ५५६ वटा सिँचाइ योजनाको सम्झौता भई ३ सय वटा सिँचाइ योजनाको निर्माण कार्य सम्पन्न भएको पनि बताए ।

बाँकी योजना निर्माण कार्य सुचारु भइरहेको र त्यसबाट सिँचाइ क्षेत्र विस्तार भई कृषिको उत्पादन तथा उत्पादकत्व वृद्धिमा टेवा पुग्ने उनको अपेक्षा छ । ब्याज अनुदान कार्यक्रम मार्फत ४ करोड ७१ लाख लगानीमा ८७ करोड ८३ लाख पुँजी कृषि क्षेत्रमा परिचालन भएको पनि उनले बताए । जसबाट एक हजार ३५७ जना कृषक प्रत्यक्ष सहभागी भएका छन् भने ८५० जना पूर्ण स्वरोजगार र ३ हजार ५७० जनालाई ३ महिना बराबरको आंशिक रोजगारी सिर्जना भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप