बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

शनिबार, २४ चैत २०८०, ०८ : २०
शनिबार, २४ चैत २०८०

विराटनगर । विराटनगर महानगरपालिका अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) सेवा सञ्चालनमा ल्याइएको छ । भौतिक विकाससँगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको महानगरले विराटनगर–१५ स्थित रानी अस्पतालमा एकपछि अर्को सेवा विस्तार गरिरहेको छ । 

केही महिना अगाडिबाट फिजियोथेरापी सञ्चालनमा ल्याएको महानगरले सोही अस्पतालमा भिडियो एक्स–रे सेवा पनि सुरु गरेको हो । महानगरवासीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भिडियो एक्स–रे सेवा सञ्चालनमा ल्याइएको मेयर नागेश कोइरालाले बताए । उनले स्वास्थ्य बीमामार्फतबाट पनि भिडियो एक्स–रे गरिने जानकारी दिए । यसबाट महानगरवासीलाई धेरै राहत महसुस गर्ने मेयर कोइरालाले दाबी गरे । 

कोशी अस्पतालमा भन्दा कम शुल्कमा भिडियो एक्स–रे गरिनेछ । स्वास्थ्य बिमा नगरेका सेवाग्राहीका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको मेयर कोइरालाले जानकारी दिए । “महानगरवासीलाई थोरै भए पनि राहत होस् भनेर हामीले कोशी अस्पतालको शुल्कभन्दा पनि कम लिने निर्णय गरेका छौं । प्राइभेट अस्पतालको त कुरै छाडौँ,” मेयर कोइरालाले भने, “बीमा गरेका महानगरवासीलाई त अझै ठुलो राहत मिल्नेछ ।” 

महानगरले रानी हेल्थपोष्टलाई स्तरोन्नती गरी अस्पतालका रूपमा सञ्चालन गरेको थियो । सो अस्पतालबाट दक्ष चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । अस्पतालबाट दैनिक ओपीडीसहित परिवार नियोजन, मातृशिशुलगायतका सेवा दिइरहेको अस्पतालका प्रमुख मानिकचन्द भगतले जानकारी दिए । यसबाहेक नेपाल सरकारले वितरण गर्ने औषधिसमेत निःशुल्क रूपमा प्रदान गरिने भगतले बताए । अब चाँडै नै प्रसूति र डिजिटल एक्स–रे  सेवासमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । 

nagesh koirala

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप