मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश सरकार

एकैपटक ‘फोर स्टेप अट्याक’ गर्ने विपक्षीको रणनीति

सरकार परिवर्तनको लागि एमाले–माओवादीको छलफल बाक्लियो
सोमबार, २६ चैत २०८०, ०७ : ४३
सोमबार, २६ चैत २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार परिवर्तन गर्न एमाले र माओवादीबिचको छलफल बाक्लिएको छ । आइतबार दुई पार्टीको संसदीय दलका नेता हिक्मतकुमार कार्की र इन्द्रबहादुर आङ्बोबिच छुट्टाछुट्टै छलफल भयो । 

त्यसको केही समयपछि पुनः एमालेबाट कार्कीसहित उपनेता रामबहादुर राना मगर र दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी तथा माओवादी केन्द्रबाट नेता आङ्बोसहित सांसदहरू जीवन आचार्य, दुर्गाप्रसाद चापागाईं र पूर्वसभामुख बाबुराम गौतमबिच छलफल भयो । गत शुक्रबार पनि दलहरूबिच छलफल भएको थियो । 

आइतबारको भेटका क्रममा दुई दलबिच कोशी प्रदेश सरकार परिवर्तनको लागि चाल्ने कदमको विषयमा छलफल भएको छ । ‘नयाँ सरकार निर्माण हुनुभन्दा अगाडि आलोपालो कसरी गर्ने, बजेट, नीति तथा कार्यक्रम, सरकारका विभिन्न निकायमा हुने राजनीतिक नियुक्तिको भागबण्डा र संसदीय समितिको सभापति चयनको विषयमा गर्ने भागबण्डालगायतका विषयमा छलफल भयो,’ माओवादी दलका नेता आङ्बोले भने, ‘निष्कर्ष निकाल्नका लागि प्रदेशका पार्टीका इन्चार्ज र अध्यक्षहरूसहित बैठक बस्ने सल्लाह भएको छ ।’ 

angbo hikmat

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने माओवादीले औपचारिक रूपमा कुनै शर्त नराखेको बताए । ‘आलोपालो भन्ने कुरा माथिका शीर्ष नेताहरूले टुङ्ग्याउने विषय हो । यहाँका नियुक्ति, बजेट लगायतका विषय छलफल गरेरै टुङ्गो लाग्छ । आजको छलफलमा नेकपा (एकीकृत समाजवादी), जसपा लगायतका साथीहरू आउन नभ्याउनु भएको हुनाले भोली उहाँहरूसहित छलफल हुन्छ,’ भण्डारीले भने । 

उता, बैठकमा सहभागी एक नेताले भने केदार कार्की नेतृत्वको सरकार ढाल्नका लागि एकैपटक चार कदम चाल्ने सहमति भएको दाबी गरे । ‘हामीले एकैपटक चार कदम चाल्ने सहमति गरेका छौँ । त्यो संविधान, संसदीय मर्यादा र विधि अनुसार नै हुन्छ,’ उनले भने, ‘केदार कार्कीको नेतृत्वको सरकार अब लामो जाँदैन ।’ उनले बताए अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने, नयाँ मुख्यमन्त्रीसहितको दाबी सोही दिन प्रदेश प्रमुखसमक्ष पेश गर्ने, संसद्को विशेष अधिवेशन बोलाउने र मन्त्रीहरूले राजीनामा दिने सबै काम एकै दिन हुनेछ । 

‘कोशीमा सहज ढङ्गले अगाडि नबढ्ने हो भने प्रधानमन्त्रीप्रति नै अविश्वास हुन्छ नि ।’ 

त्यस्तो परिस्थितिमा काँग्रेसको संसदीय दलले मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह गर्दै निर्णय गर्ने सम्भावना रहेको उनको दाबी छ । तर, मुख्यमन्त्री कार्कीले भने आफूले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने बताइसकेका छन् । 

केन्द्रीय सत्ता गठबन्धनले कोशी प्रदेशमा एमाले नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेको छ । गठबन्धनकै सहमति अनुसार कर्णाली, बाग्मती, लुम्बिनी र गण्डकीमा सरकार निर्माण भइसकेको छ । जसमा माओवादी केन्द्रको भागमा परेको बाग्मती र लुम्बिनीमा सहज ढङ्गले सरकार निर्माण भइसकेको कारण एमालेबाट कोशी प्रदेशमा पनि छिटो टुङ्गोमा पुर्‍याउन दबाब आइरहेको एक माओवादी सांसदले बताए । ‘हामीले पाउने त सबै लिइसक्यौँ । सहमति अनुसार अरू प्रदेशमा हामीले पाउँदा एमालेले पाउने प्रदेशमा चाहिँ किन अप्ठ्यारो पार्ने,’ उनले भने, ‘कोशीमा सहज ढङ्गले अगाडि नबढ्ने हो भने प्रधानमन्त्रीप्रति नै अविश्वास हुन्छ नि ।’ 

संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकार विस्थापित गरेर पुनः सोही उपधारा अनुसार सरकार गठन गर्ने विषयमा दलहरूबिच लगभग सहमति भइसकेको बताइएको छ । प्रदेश प्रमुखको कार्यालयले पनि सरकार फेरबदलका लागि हुनसक्ने विभिन्न प्रयासको विषयमा छलफल गरिसकेको छ । 

प्रदेश प्रमुख कार्यालय स्रोतले दिएको जानकारी अनुसार समर्थन फिर्ता लिएको रेकर्ड कायम भएपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिन पत्र पठाउने र पत्र पठाएको ३१ दिनपछि बहुमत पक्षबाटै अर्को मुख्यमन्त्री नियुक्ति गर्न दबाब आइरहेको छ । तर, उक्त विषयमा निर्णय गर्दा आफू विवादमा परिने प्रदेश प्रमुख पर्शुराम खापुङलाई डर छ । यद्यपि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले संयुक्त रूपमा दिने निर्देशनलाई उनले काट्न नसक्ने सांसदहरू बताउँछन् । प्रदेश प्रमुखले अर्को मुख्यमन्त्रीलाई नियुक्ति दिएको खण्डमा केदार कार्की सर्वोच्च जान सक्ने एमाले, माओवादीको आशङ्का छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप