बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

महेश बस्नेतको त्यो भिडियो, यो जाहेरी

सोमबार, २६ चैत २०८०, १३ : २८
सोमबार, २६ चैत २०८०

काठमाडौँ । नेकपा एमालेका नेता, पूर्वमन्त्री महेश बस्नेत पछिल्लो समय धादिङ चैनपुरकी एक महिलासँग सम्बन्धमा रहेको चर्चा सामाजिक सञ्जालमा व्याप्त थियो । एमालेमै क्रियाशील महिला नेतृ र महेशबीच जोडिएका तस्बिरहरू सार्वजनिक भएका थिए ।

त्यस्तै केही महिना अघि महेश जस्तै देखिने एक पुरुष र महिला एउटा होटेल वा अपार्टमेन्टजस्तोको कोठाको बेडमा श्रीमान् श्रीमतीजस्तो देखिने गरी बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

त्यसलगत्तै महेशले आफूलाई बदनाम गराउन यस्तो भिडियो सार्वजनिक गरिएको प्रतिक्रिया जनाएका थिए । ‘अरेली काँडैले मलाई च्वास्सै च्वास्सै’ भन्ने गीतमा बनाइएको भिडियो क्लिप्सबारे प्रशस्त प्रतिक्रियाहरु आएका थिए । फोटो र भिडियोका विषयमा युवा संघका कार्यकर्ताहरुले बस्नेतको बचाउ गर्दै आएका थिए । 

भाइरल भिडियो र फोटोका कारण बस्नेतको राजनीतिक करियरमै असर गर्ने अनुमान गरिँदै आएको छ । हुन त बस्नेतविरुद्ध पटक पटक उजुरी पर्ने गरेको भएपनि युवतीसँग अन्तरङ्ग सम्बन्धका खबरहरू सार्वजनिक भएका थिएनन् । चैनपुरकी महिलाले भने सार्वजनिक रूपमै अभिव्यक्ति दिँदै बस्नेतसँग पाँच बर्षदेखि सम्बन्धमा रहेको बताएकी थिइन् । त्यतिमात्र होइन बस्नेत र महिलाबीच अश्लिल टेलिफोन कुराकानी भएको अडियो नै सामाजिक सञ्जालमा भाइरल बनाइएको थियो ।

यहीबिचमा अहिले बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको र कानुनी प्रक्रिया अघि बढेको परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिइसकेका छन् ।

हुलाकमार्फत जाहेरी दिने महिलाले भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएको खत्रीले आइतबार नै बताएका थिए । 

बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडितले आरोप लगाएकी छन् । पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ ।

बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप छ । औषधि खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितले आरोप लगाएकी छन् । मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रू्ण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ ।

जाहेरीमा बलात्कार र भ्रूण हत्या मात्र उल्लेख नभई महिलाले बस्नेतविरुद्ध डाँका चोरीको पनि आरोप लगाएकी छन् । गत फागुन ८ गते बिजुली बजारस्थित अपार्टमेन्टमा छिरेर डाँका चोरी गरेको आरोप पनि उनले लगाएकी छन् ।

ती महिलाका अनुसार बस्नेतले आफू पनि आएको भन्दै झुक्याएर दुई जना युवालाई अपार्टमेन्टमा छिराएर कुटपिटसमेत गर्न लगाएका थिए । त्यसपछि आफ्नो साथका दुईवटा मोबाइल र अन्य विद्युतीय सामान लगेको दाबी उनले गरेकी छन् । जाहेरीपछि नेता बस्नेतको कुनै सार्वजनिक प्रतिक्रिया आएको छैन ।

अधिवक्ता रामचन्द्र पौडेल(आरसी विमल) बलात्कार र भ्रूण हत्याको विषय फरक भएकाले प्रमाण पुगेको अवस्थामा फरक फरक कारबाही हुने बताउँछन् ।

‘फौजदारी अपराध संहिता दफा १८८ ले गर्भपतन गर्न नहुने भन्छ । कसैले गर्भवती महिलालाई करकापमा पारी वा धम्की दिई वा ललाइफकाइ वा प्रभावमा पारी गर्भपतन गर्न नहुने भन्छ । त्यस्तै १२ हप्तासम्मको गर्भ भई पतन गराए एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना, त्यस्तै १२ हप्ता माथि २५ हप्तासम्मको गर्भ रही पतन गराए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ,’ अधिवक्ता पौडेलले भने । कानुन बमोजिमका हकमा भने फरक कानुनी व्यवस्था रहेको, महिला आफूखुसी गराएको खण्डमा आफ्नै कानुनी व्यवस्था रहेको उनले बताए । 

मुलुकी ऐनको ज्यानसम्बन्धी महल २८(ग) मा १२ सातासम्मको गर्भ भए एक वर्ष, २५ साताको तीन वर्ष र त्यसभन्दा माथिको गर्भपतन गर्नेलाई पाँच वर्षसम्म कैद व्यवस्था छ । यस्तै, गर्भपतन गर्ने गराउने उद्देश्यले भ्रूण लिंग पहिचान गर्ने गराउने दुवैलाई ३ देखि ६ महिनासम्म कैद, लिंगका आधारमा गर्भपतन गर्ने गराउनेलाई हुने सजायमा थप एक वर्ष कैदको व्यवस्था रहेको पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप