बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

यो हो विश्वको सबैभन्दा खतरनाक पदार्थ

मङ्गलबार, २७ चैत २०८०, १२ : ३९
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । संसारमा एकसे एक खतरनाक पदार्थ पाइन्छ । तपाईँले कहिले युक्रेनको पिपरियातमा रहेको ‘हात्तीको पाउ’बारे कहिले सुन्नु भएको छ ? विज्ञान पत्रिका नटिलसमा छापिएको एउटा रिपोर्टका अनुसार यसलाई पृथ्वीको सबैभन्दा खतरनाक वस्तु मानिन्छ । कोही ३० सेकेन्ड मात्रै यसको सम्पर्कमा आयो भने पनि रक्त कोशिकाहरूबाट रक्तस्राव सुरु हुन्छ । चार मिनेटसम्म यसको नजिक बस्दा झाडापखला र ज्वरो आउन थाल्छ । ५ मिनेटसम्म बस्यो भने २  दिनभित्रै ज्यान जान सक्छ ।

हात्तीको पाउ परमाणु विस्फोटपछि पग्लिएका पदार्थबाट बनेको हो । यो चेर्नोबिल नजिकको परमाणु केन्द्रमा सन् १९८६ मा विस्फोट भएको स्थानमा छ । यो विस्फोट यति शक्तिशाली थियो कि यो स्थानको तस्बिर कम्तीमा एक दशकपछि मात्रै खिच्न सकिएको बताइएको छ । त्यसपछि मात्रै पिपरियातको बेसमेन्टमा पग्लिएको सामाग्रीको तस्बिर बाहिर आयो । सन् १९८६ मा यहाँको विकिरण १० हजार रेंटजेन प्रतिघण्टा मापन गरिएको थियो । यो भनेको तीन फिटको दायरामा ३०० सेकेन्डसम्म उभिएको व्यक्तिलाई विकिरणको घातक डोज दिन पर्याप्त थियो ।

बेसमेन्टमा विकिरणको प्रभाव यति धेरै छ कि अहिले बिना सावधानी यहाँ जान नसकिने अस्ट्रेलियाका पुरातत्त्वविद् रोबर्ट म्याक्सवेलले बताएका छन् । म्याक्सवेलका अनुसार यहाँ भएका सामानहरू हजारौँ वर्षसम्म पनि खतरनाक रेडियोधर्मीको रुपमा रहनेछन् । त्यसबेला चेर्नाेबिल नजिक पिपरियातमा रहेको परमाणु केन्द्रको चार नम्बरको रिएक्टरमा विस्फोट भएको थियो । विस्फोटमा ६ देखि १० टन कङ्क्रिटको पर्खाल हावामा उडेको थियो । त्यसयता उक्त स्थानको हरेक कुना–कुनामा खतरनाक स्तरमा विकिरण छ । कङ्क्रिट, ग्रेफाइट र आणविक इन्धनको अंश हात्तीको पाउको रूपमा अझै पनि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप