सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको आयात ५१ प्रतिशतले घट्यो, मूल्य आकासियो

मङ्गलबार, २७ चैत २०८०, १३ : ५३
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । नेपाली बजारमा पछिल्लो पटक सुनको मूल्य आकासिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो । 

चैत २० गते प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार १ लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । 

पछिल्लो समय विश्व अर्थतन्त्रमा परेको आर्थिक शिथिलताको प्रभाव बैंकको ब्याजदर घट्दो क्रममा रहनु, पेट्रोलियम पदार्थको मूल्य बढ्नु र शक्ति राष्ट्रहरुबिचको तनावपूर्ण स्थितिका कारण लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका हुन् । जसले सुनको डिमान्ड बढाउँदा मूल्य पनि बढ्न गएको हो । 

त्यसो त अन्तर्राष्ट्रिय बजारमा २०७९ फागुन मसान्तमा प्रति आउन्स सुनको मूल्य १ हजार ९०७.५५ अमेरिकी डलर रहेकोमा २०८० फागुन मसान्तमा १३.७ प्रतिशतले बढेर २ हजार १६८.४० अमेरिकी डलर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यसले  अन्तर्राष्ट्रिय बजारमा सुनको माग ह्वात्तै बढेको सहजै अनुमान लगाउन सकिन्छ । तर, यो अवधिमा नेपाली बजारमा भने  सुनको माग बढ्नुको साटो उल्टो घटेको तथ्यांकले देखाउँछ । 

५१ प्रतिशतले घट्यो सुनको आयात

नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म १७ अर्ब ५७ करोड ८० लाख ३० हजार रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५१ प्रतिशतले कमी हो । 

अघिल्लो आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्मा यसको दोब्बर अर्थात् ३५ अर्ब ८६ करोड १० लाख ५० हजार रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको थियो । 

खासगरी अन्तर्राष्ट्रिय बजारमा सेयर मार्केटलाई जस्तै सुनमा पनि लगानीलाई महत्वका साथ हेरिने भए पनि नेपालमा व्यक्तिगत प्रयोग र संस्कृतिसँग जोडेर मात्र हेर्ने गरिएको हुँदा उति माग बढ्न नसकेको हो । पछिल्लो समय नेपालमा पनि सुनमा लगानीका लागि नीति ल्याउनुपर्ने माग उठ्न थालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप