बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

त्रिपालमुनि रात कटाउँदै आगलागी पीडित

बुधबार, २८ चैत २०८०, १९ : ५०
बुधबार, २८ चैत २०८०

उदयपुर । उदयपुरको कटारी नगरपालिका-१०, थुम्की गाउँका दुईघर आगलागी पीडित परिवार तीन दिनदेखि त्रिपालमुनि रात कटाउँदै आएका छन् । सोमबार दिउँसो आगलागीबाट घरगोठ जलेर नष्ट भएपछि ७४ वर्षीय गुमानसिंह थापा मगर र ७२ वर्षीय नारायणबहादुर थापा मगर परिवारको बिचल्ली भएको हो ।

आगलागीले घरविहीन भएपछि कटारी नगरपालिकाले मङ्गलबार त्रिपाल पठाएको थियो । “अहिले उहाँहरु त्यही त्रिपालमुनि रात कटाइरहनुभएको छ”, स्थानीय ककनी टोल विकास संस्थाका सचिव धर्म खनालले भने, “हावाहुरी आयो र पानी प-यो भने बिचल्ली हुने अवस्था छ ।”

अर्का बेचन थापा मगरको भने मतान जलेको थियो । उनको मतानमा रहेको सरसामानसँगै १८ वटा खसीबाख्रा मरेका थिए । आगलागीबाट अन्नपात, नगद, भाँडाकुँडा, लत्ताकपडा गरी झण्डै रु ६५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईले बताए ।

आगलागीबाट ठुलो क्षति भएको र उनीहरूको अवस्था दयनीय भएको कटारी-१० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताए । आर्थिक अवस्था कमजोर भएकाले आगलागी पीडितलाई त्रिपालको व्यवस्था गरिएको उनले जानकारी दिए । 

स्थानीयवासीका अनुसार लत्ताकपडा र दैनिक उपभोग्य वस्तु विभिन्न संस्थाले सहयोग गरेका छन् । पीडित परिवारमा वृद्धवृद्धा भएकाले त्रिपालमुनिको बास कष्टप्रद बनेको छ । 

आगलागीमा परी घाइते भएका स्थानीय शङ्कर भुजेल उपचारपछि घर फर्किएका छन् । आगोले उनको आँखामा चोट लागेको थियो । घटनास्थल उदयपुरको पश्चिम-उत्तर भेगमा पर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप