सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
खेलकुद

आईपीएलमा आज : दुई निरीह टोली मुम्बई र बैंगलुरु दोस्रो जितको खोजीमा

बिहीबार, २९ चैत २०८०, १० : २६
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा बिहीबार मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्दै छ । खेल मुम्बईस्थित वानखेड स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

आईपीएलको जारी संस्करणमा मुम्बई इन्डियन्सले आफ्नो पाँचौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको चारमध्ये एक खेलमा मात्र मुम्बईले जित हात पार्न सकेको छ । बाँकी तीन खेलमा भने मुम्बई पराजित भएको छ । मुम्बईले सुरुको तीन खेलमा लगातार हारको सामना गर्नु परेको थियो ।

मुम्बई आफ्नो पहिलो खेलमा गुजरात टाइटन्ससँग ६ रनले र दोस्रो खेलमा सनराइजर्स हैदराबादसँग ३१ रनले पराजित भएको थियो । मुम्बई आफ्नो तेस्रो खेलमा राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भएको थियो । चौथो खेलमा भने मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको थियो ।

बैंगलुरुले भने जारी सिजनको आईपीएलमा आफ्नो छैटौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको पाँचमध्ये एक खेलमा मात्र बैंगलरु विजयी भएको छ । बाँकी चार खेलमा बैंगलुरुले नमिठो हारको सामना गर्नु परेको छ ।

बैंगलुरु आफ्नो पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग ६ विकेटले हारेको थियो । दोस्रो खेलमा भने बैगलुरुले पञ्जाब किङ्सलाई चार विकेटले हराएको थियो । त्यसपछि बैंगलुरु तेस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग सात विकेटले पराजित भएको थियो ।

यसैगरी बैंगलुरु आफ्नो चौथो खेलमा लखनउ सुपर जाइन्ट्ससँग २८ रनले पराजित भएको थियो । बैंगलुरु पाँचौँ खेलमा पनि राजस्थान रोयल्ससँग ६ विकेटले हारेको थियो । समग्रमा जारी आईपीएलमा मुम्बई र बैंगलुरु दुबैको प्रदर्शन अत्यन्तै निराशाजनक देखिएको छ ।

मुम्बई दुई अंकसहित तालिकाको आठौँ स्थानमा छ । समान अंक बटुलेको बैंगलुरु तालिकाको नवौँ स्थानमा आसिन छ । बैंगलुरुको तुलनामा मुम्बईको नेट रन रेट केही राम्रो छ । मुम्बई र बैंगलुरुबिच बिहीबार राति हुने खेल जारी आईपीएलको २५औँ खेल हो ।

हेड टु हेडमा मुम्बई अगाडि

इन्डियन प्रिमियर लिगमा हालसम्म यी दुई टोलीबिच कुल ३२ खेल खेलिएको छ । यी दुई टोलीबिचको भिडन्तमा मुम्बई इन्डियन्स अगाडि देखिन्छ । ३२ मध्ये १८ खेलमा मुम्बई विजयी भएको छ । बाँकी १४ खेलमा बैंगलुरुले मुम्बईलाई हराएको छ । वानखेड स्टेडियममा भने यसअघि यी दुई टोलीबिच कुल नौ खेल खेलिएको छ । ६ खेलमा मुम्बई र तीन खेलमा बैंगलुरु विजयी भएका छन् ।

मुम्बईलाई ओपनर जोडीमाथि आस

मुम्बई इन्डियन्सले आफ्नो ओपनिङ जोडी रोहित शर्मा र इशान किशनबाट गतिलो प्रदर्शनको आस गरेको छ । सुरुआती खेलमा मुम्बईको ओपनिङ जोडीले खासै गतिलो प्रदर्शन गर्न सकेको थिएन । तर, यसअघि खेलिएको दिल्लीविरुद्धको खेलमा दुवै ओपनरले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

रोहित र इशान किशनले ओपनिङ विकेटका लागि ८० रनको साझेदारी गरेका थिए । रोहितले ४९ र इशान किशनले ४२ रन बनाएका थिए । बैंगलुरुविरुद्धको खेलमा पनि आफ्ना ओपनरबाट मुम्बईले गतिलो प्रदर्शनको आस गरेको छ ।

तिलक वर्माले भने मुम्बईका लागि औसतमा राम्रो प्रदर्शन गर्दै आएका छन् । जारी आईपीएलमा उनी मुम्बईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । सूर्यकुमार यादवबाट पनि मुम्बईले राम्रो प्रदर्शनको आशा गरेको छ । बलिङतर्फ जसप्रित बुमराह र जेराल्ड कोट्जीमाथि मुम्बईको विश्वास छ ।

बैंगलुरुका विराटको नाममा सर्वाधिक रन

जारी आईपीएलमा बैंगलुरुका लागि अनुभवी ब्याट्सम्यान विराट कोहलीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनी बैंगलुरुका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । यसअघि खेलिएको राजस्थान रोयल्सविरुद्धको खेलमा पनि उनले शतक बनाएका थिए ।

यद्दपि, उक्त खेलमा विराटले सुस्त ब्याटिङ गरेको भन्दै उनको आलोचना पनि भएको थियो । विराट जारी सिजनको आईपीएमै सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । जारी आईपीएलमा उनले हालसम्म तीन सय १६ रन बनाइसकेका छन् ।

बैंगलुरुका विदेशी खेलाडीहरु भने खासै लयमा आउन सकेका छैनन् । हालसम्म फाफ डु प्लेसिसले एक सय नौ, ग्लेन म्याक्सवेलले ३२ र क्यामरुन ग्रिनले ६८ रनमात्र बनाउन सकेका छन् । बैंगलुरुका बलरहरु भने खासै प्रभावकारी देखिएका छैनन् । यश दयालले सर्वाधिक पाँच विकेट लिएका छन् ।

ब्याट्सम्यानलाई साथ दिने पिच

मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच बिहीबारको खेल हुने वानखेड स्टेडियमको पिच बलरभन्दा ब्याट्सम्यानहरुलाई बढी साथ दिने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा तुलनात्मक रुपमा बढी नै रन बन्ने गरेको देखिन्छ ।

यो स्टेडियमको पिचले तिब्रगतिका बलरलाई पनि केही साथ दिन सक्छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल १११ खेल खेलिएको छ । त्यसमध्ये ५१ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएको छ ।

बाँकी ६० खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेको छ । यो स्टेडियममा एक पालीमा बनेको उच्च स्कोर एक विकेट गुमाएर २३५ रन हो । यो रन मुम्बईविरुद्ध सन् २०१५ मा बैंगलुरुले बनाएको थियो ।

मौसम सफा रहने

मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच खेल हुने दिन बिहीबार मुम्बईको मौसम सफा रहने छ । वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहीबार मुम्बईको तापक्रम २५ देखि ३५ डिग्री सेल्सियसको बिचमा रहने समाचारमा जनाइएको छ ।

सम्भावित टोली

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, इशान किशन (विकेटकिपर), सूर्यकुमार यादब, तिलक वर्मा, रोमारियो शेफर्ड, टिम डेभिड, मोहम्मद नाबी, पियुष चावला, जेराल्ड कोट्जी र जसप्रित बुमराह रहेका छन् । इम्प्याक्ट प्लेयरका रुपमा आकाश मधवाल रहेका छन् ।

रोयल च्यालेन्जर्स बैंगलुरु : फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, रजत पाटिदार, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रिन, दिनेश कार्तिक (विकेटकिपर), सौरव चौहान, रिसे टप्ली, मयंक डागर, यश दयाल र मोहम्मद सिराज रहेका छन् । इम्प्याक्ट प्लेयरका रुपमा महिपाल लोमरर रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप