बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य मनोनित गर्न सिफारिस

शुक्रबार, ३० चैत २०८०, २१ : ४१
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गरिएको  एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा सदस्य पद रिक्त रहेको थियो । शाक्य एमाले कोटामा सिफारिस भएकी हुन् । उनी पूर्व राजदूतसमेत हुन् ।

को हुन् शाक्य ?

इजरायलका लागि नेपाली राजदूत भइसकेकी डा. शाक्यले व्यवस्थापन विषयमा विद्यावारिधि गरेकी छन् । उनी इजरायलमा राजदूत हुँदा एम्वेशडर अफ दि एअर–डिप्लोम्याट अफ दि एअर अवार्डबाट सम्मानित भएकी छन् । शाक्यसँग परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशक भएर काम गरेको लामो अनुभव छ ।

साथै, उनले अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष भएर काम गरिसकेको अनुभव पनि छ । नेपाल वुमन चेम्बरको संस्थापक अध्यक्षको समेत जिम्मेवारी बहन गरिसकेकी शाक्यले फरेन पोलिसी अफ नेपाल, नेपाल जर्मनी रिलेसन्स, भिजन अन फरेन अफियर्स, नेपाल चाइना रिलेशन्स, नेपाल इण्डिया रिलेसन्स, नेपाल–इजरायल रिलेसन्स, नेपाल–जापान रिलेसन्स लगायत पुस्तकको सम्पादन समेत गरिसकेकी छन् ।

शाक्यसँग लामो समय पद्मकन्या कलेजमा प्राध्यापन गरेको अनुभव समेत छ । उनले क्यालिफोर्नियाको वेष्टक्लिफ युनिभर्सिटीको प्रेसिडेन्सिएल विजनेश स्कुलमा समेत प्राध्यापन गरेको अनुभव छ ।

शाक्य चर्चित गायिका समेत हुन् । उनले ‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सधैँ आफू भन्दा’ बोलको गीत चर्चित गाएकी छन् । उनी नेपाल टेलिभिजनकी समाचार प्रस्तोता समेत रहेकी थिइन् । उनी नेपाल विश्व सम्बन्ध परिषद्को आजीवन सदस्यको समेत जिम्मेवारीमा रहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप