मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्छ : मन्त्री अर्याल

शुक्रबार, ३० चैत २०८०, १६ : १०
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने बताएका छन् । रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि आयोजित चार दिने तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नु अपरिहार्य भएको बताएका हुन् ।  

मन्त्री अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अपेक्षित रूपमा परिणाम आउन नसकेको बताए । ‘जुन उद्देश्यका साथ कार्यक्रमको घोषणा गरियो, त्यो आम नागरिकले महसुस गर्न पाएनन् । कार्यक्रमले लक्षित वर्गलाई छुन सकेन, । त्यसैले यसलाई परिणाम मुखी बनाउन यसको ढाँचा परिवर्तन गर्न आवश्यक छ,’ उनले भने ।    

त्यस्तै, मन्त्री अर्यालले तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे । ‘भनिन्छ डाक्टरको व्यवहारले बिरामीको आधा रोग निको हुन्छ, त्यसैगरी तपाईँहरूको व्यवहारले सेवा लिन आउनेलाई सहज अनुभव होस, ऊर्जा मिलोस्,’उनले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रम सचिव घनश्याम उपाध्यायले श्रम डेस्कमा बसेर आफ्नो जिम्मेवारी पुरा गर्न तालिममा सहभागी रोजगार संयोजक र रोजगार सहायकलाई आग्रह गरे । ‘तपाईँहरू जनतालाई सेवा गर्न पाउने जस्तो पवित्र कार्यमा सहभागी हुन पाउनु भएको छ । यो अवसरलाई भरपुर प्रयोग गर्नुहोला,’ उनले भने ।

मन्त्रालयले आयोजना गरेको क्षमता अभिवृद्धि तालिममा नौ जिल्लाका रोजगार संयोजक र रोजगार सहायक गरी १४२ जनाको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप