सुदूरपश्चिममा धूमधामका साथ ‘बिसु’ पर्व मनाइँदै
काठमाडौं । २०८१ सालको पहिलो दिन आज देशभर हर्ष र उल्लासका साथ नयाँ वर्ष मनाइँदै छ । ‘चार जात छत्तिस वर्णको फूलबारी’ नेपालमा विभिन्न जातजाति तथा समुदायले आ–आफ्नै तौर–तरिकाले नयाँ वर्ष २०८१को स्वागत गरिरहेका छन् ।
बैतडीसहित सुदूरपश्चिममा धूमधामका साथ नयाँ वर्षको अवसरमा ‘बिसु’ पर्व मनाइँदै छ । चाडपर्वमा धनी सुदूरपश्चिम प्रदेशका नौं जिल्लामध्ये सात पहाडी जिल्ला (कैलाली र कञ्चनपुर बाहेक)मा नयाँ वर्षको दिन बिसु पर्व मनाउने चलन रही आएको छ । चुलोमा पकाएका मिठा परिकार खाने, रमाइलो गर्ने र सिस्नु हानाहान गरेर मनाइने यस पर्वलाई बिसु, (विस्का)वा विस्पती पर्व पनि भन्ने गरिन्छ ।
पूजापाठ र आफन्तसँगको भेटघाटको लागि यो पर्व विशेष हुने गरेको छ । बिसु पर्व मनाउनका लागि घरभित्र, घरबाहिर सरसफाइ, लिपपोतगरेसँगै शरीरको सरसफाइलाई समेत मुख्य रूपमा हेरिन्छ । बच्चा, बिरामीदेखि वृद्ध सबैले बिसु पर्वको दिन नुहाउनु अपरिहार्य मानिन्छ ।
यो दिन अरू दिनभन्दा फरक तरिकाले नुहाइन्छ । आफ्ना शरीरका प्रत्येक अङ्गलाई साबुन पानीले मिच्दै काखीको विष (रोग) गयो, घुँडाको विष गयो, घाँटीको विष गयो, तिघ्राको विष गयो, पेटको विष गयो इत्यादि भन्दै सफा पानीले पखाल्दै जानुपर्ने स्थानीय संस्कृतिका जानकार मोहनदेव जोशीले बताए । यति भनेर सफासँग स्नान गरेपछि वर्षभरि कुनै रोग र प्रकोपको सामना गर्नु पर्दैन भन्ने जनविश्वास रहिआएको छ ।
सुदूरमा वसन्त ऋतुको रमझम, फूल फुलेर झलमल्ल, खुलेको आकाश, पालुवाको समय, गहुँ पाक्ने समय, जताततै हरियालीबिच नयाँ वर्षको सुरुवातसँगै बिसु पर्व मनाएर रमाइलो गर्ने चलन रहेको छ । बिसुको प्रमुख विशेषता नुहाइसकेपछि शरीरमा सिस्नु लगाउने गरिन्छ ।
सिस्नुको झन्झनाहटले शरीरमा रहेका रोगव्याधि हट्नुको साथै छालाजन्य रोगहरूबाट छुटकारा मिल्ने, निरोगी बनाउने जनविश्वास रहेको छ । शरिरमा सिस्नो लगाए मनसुनी ज्वरोले नच्याप्ने जन विश्वास छ ।
सिस्नु लगाउनुका साथै जिल्लाभरी घरमै सेलरोटी, खीर, पुरी, माँडा, बटुक, मासुलगायत स्थानीय स्वास्थ्यवर्धक मिठा परिकारहरू पकाएर बिसु मनाइन्छ ।
बिसुमा देवर र नन्दले भाउजूलाई खोजीखोजी पानीमा चोपेको सिस्नु लगाएर रमाइलो गर्ने गर्दछन् । भाउजूसँगै, नन्द, साला, साली, भिनाजु लगायतले समेत पानीमा चोपेको सिस्नो झोसेर बिसु पर्व मनाउने गरिएको बैतडीको दशरथचन्द नगरपालिका–९ का जानकार धर्मराज जोशी बताउँछन् ।
उनी भन्छन्, ‘देशभर हर्ष र उल्लासका साथ मनाइने यो पर्वलाई सुदूपश्चिममा आफ्नै तरिकाले मनाउने गरिन्छ । यहाँ खासगरी बैतडी, दार्चुला, बझाङ, बाजुरा, डडेलधुरा, अछाम र डोटीमा देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजुहरुले पानीमा हालेको सिस्नो हानाहान खेलेर बिसु पर्व मनाउने गर्दछन् ।’
लामो समयसम्म भेटघाट नहुने र मनमुटाव भइरहने नन्द भाउजूको नातालाई यो पर्वले कसिलो बनाउने विश्वास रहेको जोशीको भनाइ छ । नयाँ वर्ष अर्थात बिसु पर्व मनाउनकै लागि रोजगारीको सिलसिलामा भारतमा रहेका सुदूरपश्चिमेली एक साता अघिदेखि नै घर फर्किने तथा बिहे गरेर गएका छोरी चेलीसमेत माइत जाने चलन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ः कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण