मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
२०८० लाई फर्केर हेर्दा

कला क्षेत्रका चर्चित घटना : एलिना र कृष्णको विवाददेखि अनमोल पक्राउसम्म

दुर्गेशमाथि जुत्ता, प्रकाश सपुतमाथि स्टेजमै बियरको बोतल प्रहार
शनिबार, ०१ वैशाख २०८१, १८ : ३९
शनिबार, ०१ वैशाख २०८१

काठमाडौँ । नयाँ वर्ष २०८१ को आगमन भएको छ । उमङ्ग र उल्लाससहित भित्रिएको नयाँ वर्ष फलिफाप हुने सबैले आश गरेका छन् ।

नयाँ वर्षको आगमनसँगै हामीबाट बिदा भएको वर्ष २०८० फर्केर हेर्नुपर्दा नेपाली कलाक्षेत्र चहलपहल र हल्ला खल्लामै बितेको देखिन्छ । यो वर्ष कलाकारको आत्महत्या, हिरासत, डिभोर्सदेखि स्टेज विवादसम्मका घटना बाहिर आए । जसले कला क्षेत्रलाई चर्चा दिलाउनेदेखि सेलिब्रेटीलाई विवादमा ल्याउनेसम्म काम गर्‍यो । वर्ष २०८० का चर्चित दर्जन घटना । जसको यहाँ चर्चा गर्दैछौँ ।

  • अनमोल केसी पक्राउ

गत असोजमा अभिनेता अनमोल केसी पक्राउ परेका थिए । ठगीको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेबाट उनलाई पक्राउ गरेको थियो । निर्माणाधीन फिल्म ‘रावायण’ अभिनयका लागि दश लाख रुपैयाँ लिएको र फिल्म खेल्न आनाकानी गर्दै विभिन्न नोक्सानी पुर्‍याएको भन्दै उनी विरुद्ध प्रहरीमा  ठगीको उजुरी परेको थियो । पक्राउ परेको केही दिनपछि लेनदेन मिलाएर उनी छुटेका थिए ।

  • एलिनाको गीतदेखि स्टेजसम्म

गायिका एलिना चौहान वर्षभरि जस्तै चर्चामा रहिन् । उनको चर्चाको विषय गीत चोरी, ब्रेकअपदेखि साउन्ड टेक्निसियनसँग विवाद बन्यो । पर्वतको तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा साउन्ड टेक्निसियनसँग उनको विवाद भएको थियो । ‘साउन्ड सिस्टम मिलाउनुस्’ भन्दा विवाद निम्तियो । त्यो विवादमा उनी बहिस्कार समेत भइन् । साउन्ड टेक्निसियनले माफी मागेपछि विवाद मिल्यो ।

अर्को उनको गीत ‘कट्टा हानिदिन्छु’ माथि चोरीको आरोप लाग्यो । गायक विश्वराम कार्कीले उक्त गीत आफ्नो गीत ‘कट्टा हानिदिन्छु’ बाट हुबहु चोरिएको आरोप लगाएका हुन् । विश्वरामको गीत पनि अर्कोबाट चोरिएको एलिनाले उल्टै आरोप लगाएपछि यो मसला सेलाए यो । उनी अहिले विवाह गर्न लागेको प्रेमी विष्णु सापकोटासँग ब्रेकअपको हल्ला गरेर समेत चर्चामा रहिन् । 

  • सारुक आत्महत्या

अभिनेता सारुक ताम्राकार गत असार २२ गते आफ्नै घरमा मृत भेटिए । ३१ वर्षीय सारुकलाई झुन्डिएको अवस्थामा फेला पारिएको थियो । अझै पनि उनले किन आत्महत्या गरे  भन्ने विषय बाहिर आएको छैन ।

जुन समयमा शारुकले आत्महत्या गरे, त्यतिबेला उनी फिल्म ‘ह्यासट्याग माया’को छायाङ्कनमा व्यस्त थिए । जसमा नम्रता श्रेष्ठ अभिनेत्रीको रूपमा रहेकी थिइन् । सारुकलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै अभिनेत्री नम्रता श्रेष्ठ विरुद्ध उजुरी समेत परेको थियो । तरपछि नम्रताले सफाइ पाइन् । सारुकको आत्महत्या विषयमा आरोप प्रत्यारोपदेखि जुलुस र आन्दोलनसम्म भए ।

  • राजेशपायल राईको डिभोर्सदेखि घोडेकिक

गायक राजेश पायल राई यो वर्ष तीन कारणले चर्चामा रहे । पत्नी सङबुङ राईसँग डिभोर्स, प्रहरीमा पक्राउ र स्टेजमा कमेडियनलाई हानेको ब्याक किकसम्म चर्चाको विषय बन्यो । डिभोर्समा राईले पत्नी सङबुङ राई पाँच करोड बढी दिएर सम्बन्ध विच्छेद गरेका थिए । २०७८ साल असोज महिनामा यी दुईबिच विवाह दर्ता भएको थियो ।

Rajesh-Payal-Rai

राईले तेह्रथुमको स्टेज कार्यक्रममा एक कमेडियनलाई ब्याक किक हानेका थिए । भिडियो सामाजिक सञ्जालमा आए पनि उनको आलोचना भएको थियो । राईको ब्याक किक खाने कमेडियन राकेश दर्नालले आफूलाई राईले घोडे किक हानेको भन्दै मिडिया अन्तर्वार्ता समेत दिए ।

मापसे गरेर हल्ला गरेको कारण राईलाई प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ समेत गरेको थियो । एक दिन प्रहरी हिरासतमा बसेर उनी छुटेका थिए ।

  • दुर्गेशमाथि जुत्ता प्रहार

स्याङ्जामा आयोजित वालिङ महोत्सवको अन्तिम दिन गायक दुर्गेश थापामाथि स्टेजमै जुत्ता प्रहार भएको छ । स्टेज प्रस्तुति दिँदै गर्दा एक युवकले उनीमाथि जुत्ता प्रहार गरेका थिए । २०–२५ हजार मानिसको भिडमा उनीमाथि जुत्ता प्रहार भएको थियो । दुर्गेशले भने कलाकारलाई यस्तो हुन्छ भन्दै जुत्ता हान्ने व्यक्तिलाई माफी दिए ।

  • प्रकाश सपुतमाथि बोतल प्रहार

गायक प्रकाश सपुतमाथि रोमानियाको एक कार्यक्रममा क्यान बियरको बोतल प्रहार भएको छ । दर्शक दीर्घाबाट फ्याँकिएको बोतल उनको टाउकोमा लागेको थियो । स्टेजमा गीत गाइरहँदा उनीमाथि आक्रमण भएको थियो । जसको कारण उनको निधारमा सामान्य चोट लाग्न पुग्यो । रक्सीको तालमा बोतल प्रहार भएको भन्दै घटनालाई थामथुम गरियो ।

  • सुगम पोखरेलको माइक काण्ड

अस्ट्रेलियाको एडिलेडमा आयोजित एक कन्सर्ट गायक सुगम पोखरेलले माइकबाट दर्शकलाई प्रहार गरेका थिए । मादक पदार्थ सेवन गरेर स्टेज चढेका सुगमले दर्शकलाई माइक हिर्काएको विषयको चौतर्फी विरोध भयो । सामाजिक सञ्जालमा उनलाई गालीको वर्षा भयो । सबैतिरबाट विरोध भएपछि उनले माफी समेत मागे । 

  • ‘कमेडी च्याम्पियन’ टिम दुर्घटनामा 

गत चैत्रमा रियालिटी शो ‘कमेडी च्याम्पियन’को टिम सवार कार भक्तपुरको जगातीमा दुर्घटना भएको थियो । दुर्घटनामा ६ जना घाइते भएका थिए । तीमध्ये एकको अवस्था गम्भीर थियो । नगरकोटबाट फर्कँदै गर्दा उक्त दुर्घटना भएको थियो । गम्भीर घाइते सुशान्त बस्यालको अझै उपचार चलिरहेको छ । मापसे गरेर गाडी चलाउँदा दुर्घटना घटेको कारण निर्देशक भण्डारी दुई दिन प्रहरी हिरासतमा रहे । शो कारणले ‘कमेडी च्याम्पियन’ समेत बन्द हुन पुगेको थियो ।

  • रवि ओडलाई बलात्कार मुद्दा

images लोकप्रिय गायन रवि ओडविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा वैवाहिक बलात्कार मुद्दा दर्ता भएको छ । उनकी पत्नीले दिएको मुद्दाको कारण उनी उनीविरुद्ध  पक्राउ पुर्जी जारी भएको हो । पत्नीले अप्राकृतिक तरिकाले आफूलाई बलात्कार गरेको आरोप सहित मुद्दा दर्ता गराएकी छिन् । नेपाल आइडलका विजेता ओडलाई नेपालमा प्रहरी खोजिरहँदा उनी भने जापान कार्यक्रममा व्यस्त छन् । 

  • निशान र ऋचा डिभोर्स

वर्षको अन्त्यतिर गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स समाचार बाहिर आयो । एकअर्काेमा असमझदारी भएपछि उनीहरूले सहमतिमै चैत ७ गते काभ्रे जिल्ला अदालतका सम्बन्धविच्छेद गरेका थिए । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले २०७७ सालमा कानुनी विवाह गरेका थिए ।

  • शर्मिला श्रेष्ठ र कृष्ण कँडेलको झगडा

1708091725-XOt13

लोकदोहोरी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल र गायिका शर्मिला श्रेष्ठबिचको झगडा पनि २०८० मा निकै चर्चामा रह्यो । गायिका श्रेष्ठले कँडेलबाट आफू विभिन्न हिंसाको शिकार भएको आरोप सहित अदालत समेत पुगिन् । कँडेलले पन श्रेष्ठ विरुद्ध अदालतमा मुद्दा हालेका थिए । अदालतमा केस बढ्नु अगाडि नै दुवैले सहमतिमा विवाद मिलाए ।

  • पवन खतिवडा ‘म्याकुरी’ लाई पत्नीको कुटाइ

Capture

हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ले पत्नी सुन्नीमा खालिङसँग खाएको कुटाइले पनि रामै चर्चा पायो । श्रीमतीले पीडित भन्दै उनी मिडियामा आए । पवन र सुन्नीमा बेग्लाबेग्लै मिडिया मार्फत एक अर्कासँग खनिए । एकअर्काेको चरित्र हत्या नङ्ग्याए । दुवैको विवाद डिभोर्ससम्म पुगेको छ ।

  • अनलाइन बेटिङमा कलाकार

अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा गत जेठमा राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जना कलाकारलाई प्रहरीले पक्राउ गर्‍यो । जसमा पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र बेगम नेपाली समेत थिए । युट्युबबाट वानएक्स बेट एपमार्फत बेटिङको प्रचार गरेको आरोप उनीहरूमाथि लागेको थियो ।

meri-bassai-2

एक महिनाको हिरासत बसेर उनीहरू धरौटीमा छुटेका थिए । छुटे पनि उनीहरूले अनलाइन बेटिङ प्लेटफर्मको प्रचार नजानेर गरेको भन्दै आगामी दिनमा सचेत रहने प्रतिक्रिया दिए ।

  • जुवा खालमा कलाकार

गत कार्त्तिकमा प्रहरीले काठमाडौँको मैतीदेवीबाट सुलेमान शङ्कर (इकु), गायक चक्र बम, शङ्कर आचार्य, नरेन्द्र विष्ट सहित ९ जना कलाकारलाई जुवाखालबाट पक्राउ गरेको थियो । मैतिदेवीस्थित डान्सबारमा सञ्चालित जुवा खालबाट प्रहरीले उनीहरूलाई १ लाख ९० हजार नगद सहित पक्राउ गरेको थियो । केही दिन हिरासतका बसाइपछि उनीहरू धरौटीमा छुटेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप