मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

टी–२० राष्ट्रिय क्रिकेट : पहिलो खेलमा मधेस प्रदेशले बागमतीलाई ६ विकेटले हरायो

मङ्गलबार, ०४ वैशाख २०८१, १२ : ५२
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले विजयी सुरुआत गरेको छ । प्रतियोगिताको पहिलो दिन मंगलबार खेलिएको पहिलो खेलमा मधेस प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले हराएको हो ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १४१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मधेस प्रदेशले भने १७ ओभरमा केवल चार विकेट गुमाउँदै विजय लक्ष्य पुरा गर्यो ।

मधेस प्रदेशको जितमा ओपनर ब्याट्सम्यान साहिल पटेलले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले ६७ रन बनाए । विकेटकिपर ब्याट्सम्यान साहिलले केवल ४९ बलको सामना गरी चार छक्का र चार चौका पनि हिर्काए ।

साहिल र रोहन बीकेले ओपनिङ विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । रोहनले टोलीको खातामा ३२ रन थपे । उनले केवल २८ बलमा एक छक्का र चार चौका पनि हिर्काए । तेस्रो नम्बरका ब्याट्सम्यान मयान यादबले २३ रन बनाए । उनले १५ बलमा एक छक्का र दुई चौका हिर्काए । राहुल मण्डल १४ रनमा अविजित रहे । बागमती प्रदेशका बलर सुवाष खत्री, गौतम केसी र सोनु देबकोटाले एक–एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको बागमती प्रदेशका लागि शुभ कंसाकारले ४३ रन बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका शुभले केवल ३७ बलको सामना गरी दुई छक्का र तीन चौका पनि हिर्काएका थिए ।

ओपनर ब्याट्सम्यान आशुतोष घिरैयाले पनि ३७ रन बनाएका थिए । उनले २६ बलमा दुई छक्का र चार चौका पनि हिर्काएका थिए । कप्तानसमेत रहेका अर्का ओपनर रित गौतमले पनि १३ रन जोडे । रविन जोशीले १३ र उत्तम मगरले १२ रन बटुले ।

बागमती प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीले अतिरिक्त रुपमा सात रन पाएको थियो । मधेस प्रदेशका बलर रुपेश सिंह, विशाल पटेल र अभिषेक तिवारीले दुई–दुई विकेट लिए । रंजित कुमार र प्रदीप पासवानले पनि एक–एक विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप