मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

रासायनिक मलको खर्च बढ्दो, ९३ अर्बभन्दा बढी रकम खर्च

नौ वर्षमा २९ लाख मेट्रिक टन मल आयात
बुधबार, ०५ वैशाख २०८१, ११ : ००
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । नेपालमा बर्सेनि रासायनिक मलमा हुने खर्च बढ्दो छ । नौ वर्षमा ९३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी रकम रासायनिक मलका लागि खर्च भएको छ ।

सरकारी तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१/०७२ मा ५ अर्ब ८१ करोड रुपैयाँको रासायनिक मल आयात भएको थियो । २०७२/०७३ मा ५ अर्ब ६५ करोड, २०७३/०७४ मा ४ अर्ब ८३ करोड रुपैयाँको मल आयात भएको थियो ।

यस्तै, २०७४/०७५ मा ५ अर्ब ९८ करोड, २०७५/०७६ मा ८ अर्ब ७ करोड रुपैयाँ, २०७५/०७७ मा ८ अर्ब ३० करोड रुपैयाँ, २०७७/०७८ मा ९ अर्ब ४० करोड रुपैयाँ रासायनिक मलका लागि खर्च भएको छ ।

यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा १४ अर्ब ३९ करोड  रुपैयाँ र २०७९/०८० मा ३१ अर्ब १ करोड रुपैयाँ रासायनिक मलमा खर्च भएको छ । चालु आर्थिक वर्षका लागि ३० अर्ब रुपैयाँ रासायनिक मलका लागि विनियोजन गरिएको छ । यस अतिरिक्त चालु आर्थिक वर्षकै लागि थप १५ करोड रुपैयाँ सुनिश्चितता गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

नेपालमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले रासायनिक मल आयात गर्दै आएका छन् । नौ वर्षको अवधिमा कृषि सामग्रीले ५९ अर्ब ७० करोड र साल्ट ट्रेडिङले ३३ अर्ब ७४ करोड रुपैयाँ बराबरको रासायनिक मल ल्याएका हुन् ।

  • नौ वर्षमा रासायनिक मल आयातमा भएको खर्च विवरण:

Untitled-1

नौ वर्षमा कति आयो मल ?

नेपालमा आर्थिक वर्ष २०७१/०७२ देखि आर्थिक वर्ष २०७९/०८० बिच नौ वर्षको अवधिमा २९ लाख १० हजार मेट्रिक टन मल आयात भएको छ ।

२०७१/०७२ मा २ लाख ८६ हजार मेट्रिक टन मल आयात आएको थियो । आर्थिक वर्ष २०७२/०७३ मा २ लाख ९० हजार मेट्रिक टन, २०७३/०७४ मा ३ लाख ४ हजार मेट्रिक टन, २०७४/०७५ मा ३ लाख ३६ हजार मेट्रिक टन मल आयात भएको थियो ।

यस्तै, २०७५/०७६ मा ३ लाख २४ हजार मेट्रिक टन, २०७६/०७७ मा ३ लाख ९३ हजार मेट्रिक टन, २०७७/०७८ मा ३ लाख ९७ हजार मेट्रिक टन मल आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०७८/०७९ मा रासायनिक मल आयातको परिमाण घटेको छ । यो वर्ष १ लाख ७५ हजार मेट्रिक टनमात्रै मल आयात भएको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

वर्ष २०७९/०८० मा मल आयात ह्वात्तै बढेको छ । सो वर्ष ४ लाख ५ हजार मेट्रिक टन मल आयात भएको तथ्याङ्क छ ।

  • नौ वर्षमा आयात भएको रासायनिक मलको विवरण:

2

यो वर्ष मलको अभाव नहुने

मन्त्रालयले आगामी सिजनमा रासायनिक मलको अभाव नहुने दाबी गरेको छ । आगामी बर्खा सिजनका लागि रासायनिक मलको अभाव नहुने दाबी गरेको हो ।

मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माका अनुसार हाल ९९ हजार ३५ मेट्रिक टन रासायनिक मल मौज्दात छ । यसमध्ये ७० हजार ५६० मेट्रिक टन कृषि सामग्री कम्पनीसँग मौज्दात भएको छ भने २८ हजार ४७५ मेट्रिक टन मल साल्ट ट्रेडिङ कम्पनी लिमिडेटसँग मौज्दात छ । 

यस्तै, ७५ हजार ९६६ मेट्रिक टन युरिया मल मौज्दात छ । डीएपी १६ हजार ८३५ मेट्रिक टन र पोटास ६ हजार २३४ मेट्रिक टन मौज्दात छ ।

यसैगरी ३ लाख २२ हजार ३६९ मेट्रिक टन मल ल्याउने प्रक्रियामा रहेको सचिव डा. शर्माले उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू
लेखकबाट थप