मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

युवामाझ लोकप्रिय बन्दै मोटरसाइक्लिङ सप्ताह

बुधबार, ०५ वैशाख २०८१, १३ : १७
बुधबार, ०५ वैशाख २०८१

संसारमा थुप्रै खेलका ‘खेलकुद सप्ताह’ हुने गर्छन् । अझ कतिपय खेलकुदमा महिनौँसम्म कार्यक्रम निरन्तर चल्छन् । अन्तर्राष्ट्रिय मोटरसाइक्लिङ फेडरेसन (एफआईएम), अटोमोबाइल्स फेडरेसन (एफआईए) र युनियन इन्टरनेसनल मोटरबोर्ड (युआईएम)का कतिपय कार्यक्रम लामो अवधिसम्मका लागि सञ्चालन भइरहेको पाइन्छ । 

नेपालमा पनि थुप्रै खेलकुद प्रतियोगिता हप्तौँ र महिनौँ चलिरहेको देखिन्छ तर एउटै खेलको विभिन्न प्रतियोगिता फरक स्थान र फरक ढाँचामा आयोजना गरेर सम्भवतः नेपालमा पहिलोपटक नेपाल अटोमोबाइल्स एसोसिएसनले मोटरसाइक्लिङ ‘स्पोर्टस् सप्ताह’का रूपमा नयाँ अवधारणा अगाडि ल्याएको छ । भर्खरै (अप्रिल १ देखि ७ तारिखसम्म) पहिलोपटक आयोजित ‘स्पोर्टस् सप्ताह’मा विभिन्न गतिविधि गरिए ।

‘मोटरसाइक्लिङ स्पोर्टस् सप्ताह’मा रेसिङका प्रतियोगिता, मार्सल र राइडर टे«निङ तथा लाइसेन्सिङ, नयाँ राइडर्स इन्ट्री र अपरेटिङ, राइडर मार्सल तथा अफिसियल अवार्ड, मिडिया तथा सोसल मिडिया मोभिलाइजेसन, नयाँ रुट इभेन्ट, भेन्युको सार्वजनीकरणजस्ता महत्त्वपूर्ण कार्य भएका छन् । 

यसपटक प्रारम्भिक रूपमा विभिन्न कार्यक्रम सम्पन्न भए । यसको समापनसहित ‘स्पोर्ट्स विक’को घोषणा भने अप्रिलको अन्तिममा गर्ने योजना छ । आगामी वर्षदेखि मूलतः ‘मोटरसाइकल स्पोर्टस् विक’ र ‘मोटर स्पोर्टस् फेस्टिभल’जस्ता कार्यक्रम आयोजना गर्ने तयारी छ । 

Rally Photo

त्यसमध्ये ‘मोटरसाइकल स्पोर्टस् विक’ नेपालका विभिन्न स्थानमा र ‘स्पोर्टस् फेस्टिभल’ कुनै एक स्थानमा आयोजना हुनेछन् । यसपटक भएका महत्त्वपूर्ण कार्यक्रम र त्यसको प्रभावले विशेष अर्थ राखेको छ । यी कार्यक्रम नेपाली खेलकुद, नेपाली पर्यटन र नेपाली अटोमोबाइल क्षेत्रमा अमूल्य उपहार हुनेछन् । 

स्पोर्टस् सप्ताह किन ?

विश्व खेलकुदमा मोटरसाइक्लिङ स्पोर्टको इतिहास निकै लामो छ । विश्वभर यसको थुप्रै प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने गरेका छन्, नेपालको सन्दर्भमा भने यो खासै पुरानो खेल होइन । नेपालमा मोटरसाइक्लिङ स्पोर्टस्को इतिहास खासै लामो छैन । 

पछिल्लो समय भने मोटरसाइक्लिङ स्पोर्टस्प्रति युवाको आकर्षण निकै बढेको छ । त्यसैले यसप्रति युवाको थप आकर्षण बढाउन ‘मोटरसाइक्लिङ स्पोर्टस् सप्ताह’ आयोजना गरिएको हो ।

रेसिङ, टुरिङ र ¥याली इभेन्ट स्थापित गर्न तथा क्षेत्रीय र विश्व सङ्गठनसँग सहकार्य गर्न पनि मोटरसाइक्लिङ स्पोर्टस् सप्ताहको उत्तिमै महत्त्वपूर्ण भूमिका रहन्छ । 

यसैगरी देशभित्र रहेका विभिन्न पर्यटकीय भेन्यु र गन्तव्यलाई उजागर गर्न; इच्छुक, क्षमतावान् र दक्ष राइडरलाई अवसर प्रदान गर्न; टु ह्विल टुरिङमार्पmत दिगो पर्यटन प्रवद्र्धन गर्न; मोटरसाइकलिङ रेसिङ इभेन्टलाई सूत्रबद्ध र सुरक्षित बनाउन र नेपाललाई अन्तर्राष्ट्रिय मोटरसाइकलिस्टको गन्तव्य स्थल बनाउन पनि यस सप्ताहको महत्त्वपूर्ण भूमिका रहन्छ ।

सम्भवतः नेपालमा पहिलोपटक नेपाल अटोमोबाइल्स एसोसिएसनले मोटरसाइक्लिङ ‘स्पोर्टस् सप्ताह’का रूपमा नयाँ अवधारणा अगाडि ल्याएको छ । भर्खरै (अप्रिल १ देखि ७ तारिखसम्म) पहिलोपटक आयोजित ‘स्पोर्टस् सप्ताह’मा विभिन्न गतिविधि गरिए ।

यसका अतिरिक्त प्राविधिक, राइडर र अफिसियल (पदाधिकारी)को अपग्रेडिङ गर्न; राइडर र मार्सललाई क्रमशः व्यावसायिक बनाउन; मोटरसाइकलसम्बन्धी ज्ञान र सीप बाँड्न; प्रदेश, सङ्घ तथा क्लबहरूका बिचमा सहकार्य बढाउन; सेफ राइडिङको सन्देश दिन; मोटरसाइकलिङ स्पोर्टस्को इभेन्टलाई प्रोडक्ट बनाउन; कर्पोरेट र सरकारी निकायसँग सहकार्य बढाउन पनि यसको आयोजना गरिएको हो ।

कहिले, कहाँ र कसरी ?

प्रत्येक अप्रिलको पहिलो साता हुने ‘मोटरसाइकलिङ विक’मा ¥याली, टुरिङ, रेसिङ, ट्रेनिङ, अवार्डिङ तथा मिडिया र सोसियल मिडिया परिचालन गरिनेछ । यस क्रममा अन्तक्र्रिया, फोटो प्रदर्शनी तथा प्रत्यक्ष प्रसारण लगायत रचनात्मक क्रियाकलाप पनि हुनेछन् ।

यस अभियानको स्टेकहोल्डर र पार्टनरका रूपमा प्रदेश, सङ्घ र क्लबहरू; कर्पोरट र सरकारी निकायहरू; केन्द्रदेखि पालिकासम्मका खेलकुदका निकाय; राजनीतिक तथा सामाजिक कार्यकर्ता; कलाकर्मीदेखि खेलकर्मीहरू; पर्यटनसम्बन्धी सरकारी र व्यावसायिक सङ्घ–संस्था तथा निकायहरू; विकास साझेदार र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू; इभेन्ट आयोजक, प्रमोटर, मिडिया तथा सोसल मिडिया र भ्लगरहरू रहनेछन् । पक्कै पनि यो अभियानले नेपाली खेलकुदमा एउटा नयाँ आयाम थप्ने विश्वास लिन सकिन्छ ।

ट्रान्स हिमालय एड्भेन्चर 

काठमाडौंदेखि मुस्ताङसम्म बाइकरहरू सम्मिलित मोटरसाइकल टुरिङ (¥याली) सम्पन्न भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा भएको कार्यक्रम नेपाललाई विश्वकै मोटर स्पोर्टस्को गन्तव्य बनाउने अभियानस्वरूप सञ्चालन गरिएको हो । 

कार्यक्रमको दौरान बन्दीपुर, पोखरा, घान्द्रुक, बाग्लुङ, तातोपानी, रुप्से झरना, लेते, कागबेनी, मार्फा, धुम्बाताल, जोमसोम, मुक्तिनाथ, लुम्ले र कुस्माको फोटोग्राफी, भिडियोग्राफीसहित सेफ्टी राइडिङसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको थियो । 

काठमाडौँदेखि पोखरा पुगेको टोलीलाई प्रदेशसभा सदस्य प्रकाश बराल, गण्डकी प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव श्रीधर शर्मा, गण्डकी अटोमोबाइल्स एसोसिएसनका सल्लाहकार नारायणप्रसाद शर्मा र अध्यक्ष शिव श्रेष्ठ, उपाध्यक्ष दीपेन्द्र कोइराला तथा सदस्यहरू चाँदनी हमाल र रविना श्रेष्ठ लगायतले स्वागत गरेका थिए । पोखरा सहर परिक्रमा गरेर राइडर्सको टिम मुक्तिनाथ पुगेको थियो ।

Mustang Motokhana

मुक्तिनाथमा मोटोखाना रेस

ट्रान्स हिमालय एड्भेन्चर अन्तर्गत मुक्तिनाथ नजिकै सेल्फी डाँडा (३०५० मिटर )मा ‘मोटोखाना रेस’ आयोजना गरिएको थियो । 

अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसनमा आबद्ध क्लबहरूमा यो सम्भवतः सबैभन्दा उचाइमा भएको आधिकारिक रेस हो । मुक्तिनाथनजिकै सेल्फी डाँडामा राइडरका बिच ट्रेल बाइक रेस प्रतियोगिता समेत आयोजना गरिएको थियो । 

प्रतियोगितामा विजयी ऋषभ शर्मा र अनुष्का शर्मालाई एक कार्यक्रमका बिच पुरस्कृत गरिएको थियो । राइडर्सहरूले प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए । प्रतियोगितामा ऋषभ शर्मा र अनुष्का शर्माका साथै अपूर्व बैकडी, शान्तहरि आचार्य, सरोज महर्जन, सञ्जितराम श्रेष्ठ, रौनक अधिकारी, ईश्वर वल्लभ उप्रेती, दीपेन्द्रकुमार खड्का र सुनिल श्रेष्ठ सहभागी थिए । 

पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसिप

pokhara Winners

नेपालमै पहिलो ‘पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसिप, २०२४’ भव्यताका साथ आयोजना भयो । प्रतियोगितामा महिला र पुरुष गरी ५६ खेलाडीले भाग लिए । प्रतियोगिताका लागि पाँच किलोमिटरको ट्र्याक निर्माण गर्न तीन महिनाभन्दा बढी समय लागेको थियो । वन–जङ्गल, खोलानाला, बाँसघारी, गोरेटो, बगर–बालुवा आदि छिचोल्दै प्रतिस्पर्धीले ठाउँठाउँमा उडाउन पनि सक्थे । 

उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेको कार्यक्रम महिलातर्फ ललितपुरकी वर्षा बस्नेत र पुरुषततर्फ राजेश मगरले उपाधि जितेका थिए । महिलातर्फ मन्दिरा भण्डारी दोस्रो र सुरक्षा केसी तेस्रो भए । पुरुष ओपनमा अन्जित बुढाथोकी दोस्रो र आशुतोष धोन्जु तेस्रो भए । पहिलो हुने (महिला–पुरुष दुवै)ले जनही एक लाख ५० हजार, दोस्रो हुनेले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

भरतपुर फ्ल्याट ट्र्याक रेस 

अन्तप्र्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटनको अवसर पारेर ‘भरतपुर फ्ल्याट ट्र्याक रेस’ आयोजना गरियो । बागमती अटोमोबाइल्स एसोसिएसन र नेपाल मोटरस्पोर्टस् क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा दिपेश तामाङ प्रथम, विशाल दोर्जे तामाङ द्वितीय र कुशल दुलाल तृतीय भए । 

बागमती प्रदेश सामाजिक विकास मन्त्रालय सचिव डा. भीष्मकुमार भुसाल र बागमती खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीले विजेताहरूलाई सिल्ड, मेडल, प्रमाणपत्रसहित क्रमशः ५० हजार, ३० हजार र १० हजार प्रदान गरेका थिए ।

Group Photo Bharaptpur Flat Race

पोखरामा पहिलोपटक मार्सल तालिम

पोखरा राइडर्स क्लबको आयोजनामा पोखरामा पहिलोपटक मोटर स्पोर्ट्सको मार्सल तालिम सम्पन्न गरियो । पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसिपका लागि आवश्यक मार्सलका लागि सञ्चालन गरिएको तालिममा ३५ पुरुष र १० महिलालाई गरी ४५ जनालाई बेसिक मार्सल तालिम प्रदान गरिएको थियो । 

पोखरा मोटो इन्डुरो क्रसका लागि खेलाडीको सुरक्षा, कम्पिटिसन फेयरनेस र आवश्यक प्राविधिक जनशक्तिका लागि तालिम केन्द्रित गरिएको थियो । नेपाल अटोमोबाइल एसोसिएसनका मार्सल तथा ट्रेनिङ कमिसनबाट आएका प्रशिक्षक यदुराज लामिछाने, आशिष रौनियार र क्षितिज श्रेष्ठले रेसमा प्रयोग हुने झन्डा, साइन सिग्नल, सेफ्टी गियर ग्याजेट्स, इमर्जेन्सी रेस्पन्स, इभेन्ट रिपोर्टिङ र मार्सलको भूमिकाका बारेमा प्रस्तुति दिएका थिए ।

मिडिया र सोसियल मिडिया

यसपटकको कार्यक्रम विभिन्न नाम र ब्रान्डमा आयोजना गरिएको हो । यसलाई सूचनामूलक, प्रभावकारी र सार्थक बनाउन मिडिया र सोसल मिडियामा निकै कार्य गरिएको छ । पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसिपसम्बन्धी विभिन्न समाचार, भिडियो, एकल र संयुक्त आर्टिकल प्रकाशन गरिएको छ । 

THA NEWS (1)

थुप्रै रेडियो, टीभी तथा युट्युब च्यानलले कभर गरेको कार्यक्रम फेसबुक तथा टीभीमा लाइभ गरियो । इन्स्टाग्राममा अत्यधिक रुचाइएको यो इभेन्ट अत्यन्त सफल भएको छ । दर्जनौँ पत्रपत्रिका र अनलाइन मिडियाले रिजल्ट, इभेन्ट तथा दर्शकको भिडलाई उल्लेख गरेका छन् ।

यसैगरी ट्रान्स हिमालय एडभेन्चरको पनि प्रेस रिलिज; एकल तथा संयुक्त आर्टिकल प्रकाशन; पाँचपटक समाचार प्रकाशन; टीभी, पत्रपत्रिका तथा अनलाइनमा नियमित रिपोर्टिङ; सोसियल मिडियाबाट नियमित प्रत्यक्ष प्रसारण; सहभागीबिच आर्टिकल लेखन; लाइभ स्ट्रिमिङ; फोटोकथा तथा सोसियल मिडिया लाइभको व्यवस्था आदि गरिएको थियो । 

यसैगरी भरतपुर भ्रमण वर्ष २०२४ लाई सहयोग पु¥याउने उद्देश्यले बागमती प्रदेश खेलकुद परिषद्द्वारा आयोजित प्रचारात्मक इभेन्टका रूपमा भरतपुर फ्ल्याट ट्र्याकको आयोजना भएको थियो । जसको समाचार दर्जनौँ पत्रपत्रिका, अनलाइन र सोसियल मिडियामा आएका छन् । 

अन्त्यमा, सन् १९०४ मा स्थापित इन्टरनेसनल फेडेरेसन डे मोटोसाइक्लिस्मी (फिम), इन्टरनेसनल फेडेरेसन डे अटोमोबाइल (एफआईए) तथा इन्जिनसँग सम्बन्धित सम्पूर्ण वाटर स्पोर्ट्सको विश्व महासङ्घ (युआईएम)को समेत राष्ट्रिय सङ्घ हो, नेपाल अटोमोबाइल्स एसोसिएसन । नेपालमा हुने अधिकांश खेल इभेन्टहरू यिनै महासङ्घका साथ, सहयोग र सिद्धान्तमा रहेर हुने गर्छन् ।

नेपालकै अनौठो साहसिक र रोमाञ्चकारी यस सप्ताहका इभेन्टमा नासा नेपालको मोटरसाइकल कमिसन, मार्सल र ट्रेनिङ कमिसन तथा टुरिजम कमिसनको सक्रियता लोभलाग्दो थियो ।

फिम, गण्डकी र बागमती प्रदेश खेलकुद परिषद्, नासा नेपाल गण्डकी र नासा नेपाल बागमतीको यस इभेन्टका लागि विशेष सहयोग रह्यो । गण्डकी र बागमती प्रदेश खेलकुद परिषद् तथा नासा नेपाल गण्डकी र नासा नेपाल बागमतीका अध्यक्षहरू शिव श्रेष्ठ र राजन पियाको यस सप्ताहमा खटाई सम्झनायोग्य रह्यो । 

पोखरा राइडर्स क्लबका अभियन्ताहरूको खटाई, पोखरा मोटो इन्डुरोको स्तर, दर्शकको सहभागिता र राइडर्सको तयारी हेर्दा भन्नैपर्छ— अबको युग भनेको युवा एडभेन्चर र अटोमोबाइलकै हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोविन्द भट्टराई
गोविन्द भट्टराई
लेखकबाट थप