आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

थोरै यताउता भए प्रदेश सरकार ढल्ने स्थिति छ : चक्रपाणि खनाल

सोमबार, १० वैशाख २०८१, १२ : ०८
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । सरकार गठन भएको एक महिना नपुग्दै लुम्बिनी प्रदेश सरकारबाट जसपाका मन्त्री बाहिरिएपछि मुख्यमन्त्री जोखबहादुर महरा तनावमा छन् । सरकारमा गएको १५ दिनमै मन्त्री भण्डारीलाल अहिरले आइतबार पदबाट राजीनामा दिएका थिए । जसपा सरकारबाट बाहिरिएपछि अप्ठ्यारोमा परेका मुख्यमन्त्री महरा जसपाका नेताहरूलाई फकाउन दौडधुप गरिरहेका छन् ।

जसपालाई दुई वटा मन्त्रालय दिने पूर्वसहमति मुख्यमन्त्री महराले पालना नगरको भन्दै जसपा सरकारबाट बाहिरिएको हो । मन्त्रालय फुटाएर भए पनि आफूलाई दुई वटा मन्त्रालय दिनुपर्ने जसपाको अडान रहेको छ । तर अहिलेसम्म कुनै सहमति नभएको माओवादी केन्द्र लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल बलदेवले बताए । सरकार झिनो बहुमतमा बनेकाले थोरै दायाँबायाँ हुने बित्तिकै के हुन्छ भन्ने स्थिति नभएको उनको भनाइ छ ।

‘अहिलेसम्म जसपा सहमतिमा आएको छैन । मन्त्रालय फुटाएर भए पनि दुई मन्त्रालय दाबी गरेका छन् । मन्त्रालय नफुटाउने सहमति भएको छ । असाध्यै झिनो बहुमतमा सरकार  बनेको छ । थोरै यताउता हुनासाथ सरकार अप्ठ्यारोमा पर्ने स्थिति छ’, सोमबार रातोपाटीसँग उनले भने ।

एकात्मक राज्यसत्ताविरुद्ध सशस्त्र विद्रोह गरेका शक्ति नै संसदीय अंकगणित जोगाउन दौडधुप गर्नुले सङ्घीयताको के अर्थ भन्ने प्रश्नमा उनले भने– ‘सरकार गठन र  विघटनका कारण सङ्घीयताको अर्थ  भएन भन्ने छ । के भयो ? के बिग्रियो भन्नेमा समीक्षा भइरहेको छ । विकल्पमा स्थानीय तह र संघमात्र राख्नुपर्ने कुरा धेरैले उठाइराखेका छन् । संघीयता भनेकै प्रदेश हो । संघीयता टिक्छ । संविधान नै संशोधन गर्न गाह्रै छ तर यसको विकल्प अहिले छैन ।’

संघमा व्यवस्थापन गर्न नसकेका नेताहरूलाई व्यवस्थापन गर्न उपयुक्त ठाउँ प्रदेश भएकाले स्वायत्तता पनि नहुने उनको बुझाइ छ ।

‘सानो देश छ, हरेक मान्छे गोजीका छन् । तीनको चित्त बुझाउनुपर्छ । संघमा व्यवस्थापन गर्न नसकेकालाई प्रदेशमा व्यवस्थापन गर्नुपर्छ । गुटहरू छन्, ती सबै मिलाउँदा संघले कुनै  हालतमा स्वायत्तता दिनेवाला छैन’, खनालले भने ।

प्रदेशलाई स्वायत्तता दिएको भए संघमा सत्ता परिवर्तन हुँदा प्रदेश सरकार ढल्ने स्थितिको अन्त्य हुने उनको भनाइ छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप