शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

माइकल हट भन्छन्—कर्णाली साँच्चिकै दुर्गम रहेछ

मङ्गलबार, ११ वैशाख २०८१, १७ : ०३
मङ्गलबार, ११ वैशाख २०८१

सुर्खेत । नेपाली भाषामा विद्यावारिधि गरेका माइकल हटले कर्णाली साँच्चिकै दुर्गम रहेको बताएका छन् । सुर्खेतमा आयोजित कर्णाली लिट्रेचर फेस्टिभलको ‘भाषा, साहित्य र शिक्षा’ सत्रका वक्ता रहेका माइकलले यस्तो बताएका हुन् ।

उनले आफू अध्ययनका क्रममा कर्णाली आउँदा निकै दुर्गम भएको अनुभव गरेको सुनाए । ‘म नेपाली भाषाको इतिहासका बारेमा बुझ्दै थिएँ, जुम्लाको बारेमा बुझ्दै थिएँ,’ उनले भने, ‘सुरुमै पश्चिमतिर आउन सकिएन, काठमाडौँ वरिपरि बसेर काम गरेको मैले कर्णाली आउँदा थाहा पाएँ, कर्णाली त साँच्चिकै दुर्गम रहेछ ।’

यतिबेला नेपालकै दलित समुदायबारे अध्ययन गरिरहेका उनले त्यसभित्र पनि दलित साहित्यलाई महत्वका साथ आफ्नो अध्ययनभित्र राखेको बताए । उनले दलितका अनुभव, प्रतिरोध, उत्पीडन जस्ता विषयलाई पनि आफ्नो अध्ययनमा समावेश गर्न खोजेको बताए । 

अध्ययनका क्रममा आफूले दलितहरूको अनुभव, प्रतिरोध, उत्पीडनलाई साहित्यका दृष्टिकोणबाट हेर्दा महत्त्वपूर्ण लागेको उनको भनाइ छ ।

‘म अहिले दलित समुदायबाट आएका मान्छेहरूले लेखेको साहित्यको विषयमा अध्ययन गरिरहेको छु, खासगरी पहाडी (कर्णाली) दलित समुदायबाट आएका लेखकहरूले लेखेका पुस्तकहरूको विषयमा बुझ्दै छु,’ उनले भने, ‘दलितको अनुभव, प्रतिरोध, उत्पीडनका विषयहरू स–साना छन्, तर तिनलाई साहित्य र राजनीतिक  दृष्टिकोणबाट हेर्दा निकै महत्त्वपूर्ण छन् ।’ 

उनले आफूले अध्ययन गरेको दलित साहित्यका विषयमा पुस्तक लेख्ने योजना रहेको पनि सुनाए । 

उनले नेपालको साहित्य राजधानीको वरिपरि मात्र सीमित रहेको आफूले पाएको बताए । यसलाई सबैतिर विस्तार गर्नुपर्नेमा माइकलले जोड दिए । उनले नेपालमा अध्ययनका क्रममा पाँच सय भन्दा धेरै पुस्तक आफूले पढिसकेको बताए । 

माइकलले उपन्यास कर्णाली ब्लुज लगायत थुप्रै किताबको अङ्ग्रेजीमा अनुवाद पनि गरेका छन् । ‘मैले नेपाली पुस्तक अनुवाद गर्दा कर्णाली टेकेको पनि थिएन, पछि मात्र टेक्न पाएँ,’उनले भने । 

माइकलले तत्कालीन माओवादी छापामारहरूले लेखेको पुस्तकहरूको संस्मरण पनि बनाएका छन् । त्यस क्रममा माओवादी विद्रोहमा हुँदा उनीहरूले घरपरिवार छाडेर किन युद्धमा होमिएका थिए भन्ने आफूले थाहा पाएको माइकलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप