शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

संसद्‌बाट कानुन संशोधन गरेको भए अझ राम्रो सन्देश जाने थियो : पूर्वउपाध्यक्ष डा.पोखरेल

शनिबार, १५ वैशाख २०८१, १४ : ४२
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोविन्द पाखरेलले नेपालमा हुने लगानी सम्मेलनले विश्वमा सकारात्मक माहोल प्रवाह हुने बताएका छन् । आइतबारदेखि सुरु हुन लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा कुरा गर्दै उनले सम्मेलनले लगानीमैत्री वातावरण बनाउनुका साथै विश्वको ध्यान नेपालमा खिच्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

“नेपाल लगानी बढाउन आतुर छ भन्ने सन्देश गएको छ, राजनीतिक र सबै हिबासले लगानी भित्र्याउन चाहन्छ भन्ने देखिएको छ”, पूर्वउपाध्यक्ष डा पाखरेलले भने, “सरकारको तत्परता राम्रो छ, यो गतिलाई थप बलियो बनाउनुपर्छ, यसले नेपालका तर्फबाट विश्वमा सकारात्मक माहोल प्रवाह हुन्छ, लगानीमैत्री वातावरण बनाउन सहयोग पुग्छ ।”

लगानी सम्मेलन गरेर सरकारले रोजगारीका अवसर सृजना गर्न खोज्नु राम्रो कुरा भएको उल्लेख गर्दै पूर्वउपाध्यक्ष डा पोखरेलले भने, “राष्ट्रिय हित हुने गरी दीर्घकालीन सोच राखेर राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पार्ने आकलन गरेर सबै क्षेत्रमा लगानी गर्नुपर्छ ।” 

उनले पर्यटन, कृषि, जडीबुटी, जलविद्युत्का साथै व्यक्तिको क्षमतामा विकास गर्नेमा पनि लगानी गर्नुपर्नेमा जोड दिए । नेपालमा यसअघि कतारका अमिर शेख तमिम विन हमाद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमण जस्तै सम्मेलनमा पनि विशिष्ट व्यक्ति आउन सकेमा विश्वमा थप राम्रो सन्देश जाने उनको भनाइ थियो ।

पूर्वउपाध्यक्ष डा.पोखरेलले यस्ता भ्रमणले हाल मुलुकमा निजी क्षेत्रविरुद्ध सृजना भएको अमैत्री राजनीतिक भाष्यलाई चिरेर लगानीमैत्री वातावरण बनाउन सहयोग पुग्ने बताए । “दैनिक १६–४० वर्ष उमेर समूहका व्यक्ति अध्ययन तथा रोजगारीको सिलसिलामा विदेश गइरहेका छन्,” उनले भने, “देशमा रोजगारीको वातावरण सृजना भयो भने युवा कामकै लागि विदेश भौँतारिनुपर्ने अवस्था हुँदैन ।”

योजनाविद् डा.पोखरेलले वैदेशिक लगानीकर्ताको मनोबल जित्न सजिलो नभएको उल्लेख गर्दै सरकारले अन्तिम समयमा आएर भए पनि ऐन, कानुन संशोधन गर्नु राम्रो कुरा भएको भन्दै प्रशंसा गरे ।  “सरकारले नेपालमा लगानी गर्न विश्व समुदायलाई आह्वान गर्ने उद्देश्य रहेको छ, त्यो खालको वातावरण पुर्याउन खोजेको तयारीबाट देखिन्छ,” उनले भने, “यो लगानी सम्मेलनले अध्यादेशमार्फत अन्तिममा आएर कानुन बनाएको छ, संसद्‌बाटै सहमतिमा कानुनहरु बनाएको भए, नेपालमा राजनीतिक अस्थिरता छैन भन्ने स्पष्ट सन्देश जाने थियो ।”

पूर्वउपाध्यक्ष डा.पोखरेलले संसद्मै विधेयकहरु ल्याएर कानुन बनाएको भए अझै राम्रो सन्देश जाने उल्लेख गर्दै यसअघिको लगानी सम्मेलनमा गरिएका कानुन संशोधनका वाचा पनि समयमै पूरा गरेको सन्देश जाने धारणा व्यक्त गरे । नेपालमा हुन लागेको यो तेस्रो लगानी सम्मेलन हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप