आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

एक घण्टे श्रम स्वीकृति : कार्यालय सुनसान, कर्मचारीलाई प्रेसर

‘सर्भर स्लो’ हुँदा सेवा प्रवाह सुस्त
मङ्गलबार, २५ वैशाख २०८१, ०९ : ५१
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । वैदेशिक रोजगार विभाग अन्तर्गत वैदेशिक रोजगार कार्यालय ताहाचलले एक घण्टाभित्र श्रम स्वीकृति दिन थालेसँगै सेवा प्रवाह प्रभावकारी हुन थालेको छ । श्रम स्वीकृति लिनका लागि कार्यालयमा संयौँ मानिसको भिड हुने गरेको थियो । तर, हिजोआज कार्यालयमा सेवाग्राहीको भिड अन्त्य भएको छ । अनलाइन मार्फत नै श्रम स्वीकृतिको काम एक घण्टाभित्र हुने गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले २०८० चैत २५ गते पत्रकार सम्मेलन गर्दै एक घण्टामा श्रम स्वीकृति दिने घोषणा गरेका थिए । सोही आधारमा वैदेशिक रोजगार कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।

गत चैत २४ गतेदेखि एक महिनाको अवधिमा ६६ हजार २९९ जनालाई श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) प्रदान गरिएको छ । दैनिक दुई हजारभन्दा बढीको श्रम स्वीकृति हुँदै आएको छ ।

वैदेशिक रोजगार कार्यालय ताहाचलकी सूचना अधिकारी कल्पना मास्केले एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्ने कार्य प्रभावकारी भइरहेको बताइन् । ताहाचलबाट हाल दैनिक एक हजारदेखि १५०० को हाराहारीमा श्रम स्वीकृति जारी भइरहेको उनको भनाइ छ । त्यसका लागि दैनिक ४० जना कर्मचारीले काम गर्दै आएका छन् । ती कर्मचारीले बिहान सात बजेदेखि आवेदन नसकिँदासम्म रातिसमेत काम गरिरहेको मास्केले बताइन् ।

एक जना कर्मचारीलाई दैनिक ८४ जनाको श्रम स्वीकृति प्रदान गर्ने म्याण्डेट दिइएको छ । व्यक्तिगत श्रम स्वीकृतिको हकमा ‘वान लेयर एप्रुभ’ प्रणालीको व्यवस्था गरिएको छ । जसमा जुन कर्मचारीले श्रम स्वीकृतिको आवेदन रूजु गर्छन्, त्यही कर्मचारीले श्रम स्वीकृति प्रदान गर्र्दै आएका छन् ।

संस्थागत अर्थात् मेनपावर व्यवसायीको हकमा भने कम्प्युटर अप्रेरटर तथा नायव सुब्बाले आवेदन रूजु गर्ने र अधिकृत तहको कर्मचारीले श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।

कसरी हुँदैछ काम ?

श्रम स्वीकृति प्रदान गर्ने कर्मचारीहरू बिहान सात बजे नै कार्यालयमा उपस्थित हुन्छन् । त्यसपछि उनीहरूले फेमिसमार्फत आएका आवेदनहरू रूजु गर्छन् । आवश्यक सबै प्रमाण पेस गरेको पाइएमा बढीमा तीन मिनेटभित्र श्रम स्वीकृति प्रदान हुने गरेको छ ।

रातोपाटीकर्मी वैदेशिक रोजगार कार्यालयस्थित श्रम स्वीकृति प्रदान गर्ने शाखामा पुगेर अनलाइन आवेदनमाथि हुने प्रक्रिया अवलोकन गर्दा केही आवेदन तीन मिनेटभित्रै स्वीकृत गरेको पाइयो । कर्मचारीले आवेदनमा कुन देशमा जाने, त्यसको भिसा अथवा रेसिडेन्ट कार्ड, पासपोर्ट, काम गर्न जाने कम्पनीसँगको एग्रिमेन्ट पेपर लगायतका आवश्यक कागजात हेरेर भेरिफाइ गरेपछि बढीमा तीन मिनेटभित्रमा श्रम स्वीकृति प्रदान गरेका थिए । कर्मचारीले श्रम स्वीकृति प्रदान गरेसँगै त्यसको जानकारी फेसिममार्फत सम्बन्धित व्यक्तिको प्रोफाइलमा र म्यासेजमार्फत समेत जानकारी दिने गरेका छन् ।

One hour labor approval (1)

एउटाको एप्रुभ भइसकेपछि क्यूमा रहेको दोस्रो व्यक्तिको आवेदन हेर्ने पालो आउँछ । आवश्यक कागजात पूरा भएन वा फेक डकुमेन्ट पेस गरेको पाइएमा ‘रिजेक्ट’ गरिन्छ र सही कागजात पेस गर्न जानकारी गराइन्छ । कतिपयको भने कागजातको जाँचपड्तालमा समय लाग्ने गरेको छ ।

संस्थागत श्रम स्वीकृतिको हकमा एक तहबाट आवेदन रूजु गर्ने र अधिकृत तहबाट श्रम स्वीकृति प्रदान गर्दै आएको सूचना अधिकारी मास्केले बताइन् ।

श्रम मन्त्रालयले गरेको अध्ययन अनुसार एक जनालाई श्रम स्वीकृति प्रदान गर्न २ मिनेट ४४ सेकेण्ड लाग्ने देखिएको थियो ।

श्रममन्त्री अर्यालले एक जना कर्मचारीलाई दैनिक ८४ वटा श्रम स्वीकृति प्रदान गर्न लक्ष्य दिएका छन् । उक्त लक्ष्य पूरा गर्न कर्मचारीहरू दिनभर खटिन्छन् ।

‘दैनिक ८४ जनाको श्रम स्वीकृतिको काम गर्नुपर्छ । त्यो लक्ष्य पूरा गर्नुपर्ने मन्त्रीज्यूको निर्देशन छ । लगातार काम ग¥यो र सबै कागजात सही भएमा लक्ष्य पूरा हुन्छ, नत्र हुँदैन । राति अबेरसम्म पनि काम गरेर लक्ष्य पूरा गर्दै आएका छौँ,’ एक कर्मचारीले भने ।

कसरी सफल भयो ?

विगतमा १५ दिनसम्ममा श्रम स्वीकृति दिने व्यवस्था थियो । त्यसलाई बिस्तारै घटाउँदै पछिल्लो समय तीन दिनभित्र श्रम स्वीकृति दिने व्यवस्था गरिएको थियो । तर, अनेक बहानामा श्रमिकले श्रम स्वीकृति पाउन हप्तौँ कुर्नुपर्ने बाध्यता थियो । ती समस्याको समाधान गर्दै एक घण्टाभित्रै श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको हो ।

One hour labor approval (5) (1)

मन्त्री अर्यालले पत्रकार सम्मेलनमा भनेका थिए, ‘सुरुदेखि नै अध्ययन थालेका थियौँ । सुरुमा फेसिमका कारण समस्या हो भन्ने थियो । त्यसको अध्ययन ग¥यौँ । भित्र रहेका ५० औँ कम्प्युटर हे¥यौँ । हाम्रो टेक्निकल टिमका साथीहरू, सफ्टवेयर इन्स्टल गर्ने भेण्डर लगायतसँग बसेर समस्याहरू खोतल्ने काम भयो ।’

त्यसक्रममा केही नीतिगत सुधार गर्नुपर्ने देखिएको र ती सुधार समेत गरिएको मन्त्री अर्यालले बताएका थिए । त्यसका लागि ‘वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि, २०७९’ संशोधन गरिएको थियो । दुई तहमा श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था थियो । उक्त कार्यविधि संशोधन गरेर पुनः श्रम स्वीकृतिको हकमा एकै तहबाट स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाइएको थियो ।

श्रममन्त्री अर्यालले आफ्नो पदबहाली गरेसँगै एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सकिने बताएका थिए । सोही आधारमा उनले कर्मचारीहरूलाई काम थाल्न निर्देशन दिएका थिए ।

सर्भरका कारण सेवा प्रवाह सुस्त

कर्मचारीहरूलाई दैनिक गर्नुपर्ने कामबारे लक्ष्य दिइएको छ । तर, उनीहरूलाई उक्त लक्ष्य पूरा गर्न हम्मेहम्मे पर्ने देखिएको छ । किनकि बेलाबेला कम्प्युटर स्लो हुने, नेट नचल्ने, सर्भर स्लो हुनेजस्ता समस्याका कारण कर्मचारीहरूले राम्ररी काम गर्न पाएका छैनन् ।

कार्यालयकी निर्देशक समेत रहेकी सूचना अधिकारी मास्केले बेलाबेला सर्भर तथा कम्प्युटर स्लो हुने, नेट नचल्ने समस्या देखिने गरेको बताइन् । ‘बेला बेला सामान्य प्राविधिक समस्या आइरहेको छ । तर पनि साथीहरूले राति अबेरसम्म भए पनि काम गरिरहेका छन्,’ उनले भनिन् ।

कार्यालयमा सेवाग्राही विहीन  

केही समय अगाडिसम्म वैदेशिक रोजगार कार्यालयमा झ्याल, ढोकामा सेवाग्राहीको भिड हुन्थ्यो । दैनिक एक हजारभन्दा बढी सेवाग्राही कार्यालयमा श्रम स्वीकृतिका लागि जान्थे । अत्यधिक भिड भएपछि भिड नियन्त्रण गर्न प्रहरी नै परिचालन गर्नुपर्ने अवस्था आउने गरेको थियो । तर, अचेल कार्यालय सुनसान जस्तै देखिन्छ । कार्यालयमा कर्मचारीबाहेक न्यून मात्रामा सेवाग्राही कार्यालयमा हुन्छन् ।

तत्काल श्रम स्वीकृति चाहिने तर, आवश्यक कागजात नपुगेर श्रम स्वीकृतिको आवेदन रिजेक्ट भएपछि सेवाग्राहीहरू कार्यालयमै पुग्ने गरेका छन् ।

‘रिजेक्ट भएपछि कार्यालयमा आउनुपर्दैन । के कारणले रिजेक्ट भयो भनेर हामीले जानकारी दिन्छौँ । त्यही आधारमा कागजात अपलोड गरेपछि भेरिफाइ गरेर श्रम स्वीकृति प्रदान गरिन्छ,’ मास्केले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप