आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जसपाको दाबी, ‘कोशी र लुम्बिनी प्रदेशका सांसदहरू हाम्रो साथमा छन्’

मङ्गलबार, २५ वैशाख २०८१, १५ : १६
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित भएका प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधि अशोक राई नेतृत्वको नवगठित जनता समाजवादी पार्टीको पक्ष वा विपक्षमा रहने भनेर सनाखत प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगले आफ्नो कित्ता छुट्याउन २१ दिने सूचना मंगलबार जारी गरेको हो ।

यता अशोक राई नेतृत्वको जसपाले लुम्बिनी प्रदेश र कोशी प्रदेशका प्रदेश सभाका सबै सदस्यहरू आफ्नो पक्षमा रहेको दाबी गरेको छ । जसपाका उपमहासचिव प्रदीप यादवले कोशी र लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य आफूहरूको पक्षमा रहेको जिकिर गरे ।

‘उहाँहरूले जसपाको पक्षमा समर्थन जनाइसक्नु भएको छ । आजदेखि सनाखत प्रक्रिया सुरु हुन्छ । कोशी र लुम्बिनीलगायत अन्य प्रदेशका प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रतिनिधिहरूले पनि जसपाकै पक्षमा सनाखत गर्नुहुन्छ,’ यादवले भने । कोशी प्रदेशमा जसपा नेपालका एक र लुम्बिनी प्रदेशमा तीन जना प्रदेश सभा सदस्य रहेका छन् ।

उता, जसपा नेपालका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले जसपाका लुम्बिनी प्रदेशका सबै प्रदेश सभा सदस्य सबै संस्थापन पक्षमा नै रहेको दाबी गरे । ‘उहाँहरूसँग मेरो कुरा भएको छ । उहाँहरू कतै जानु भएको छैन,’ उनले भने ।

त्यस्तै, मधेस प्रदेशको जसपा नेपाल प्रदेश सभा संसदीय दलले विज्ञप्ति जारी गर्दै आफूहरू संस्थापन पक्षमा नै रहेको जनाएको थियो । तर, जसपाले मधेश प्रदेशका ६० प्रतिशत सांसद आफूहरूको पक्षमा रहेको दाबी गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप