आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
रङ्गशालाबारे प्रश्न

५ दिनभित्र दशरथ रङ्गशालाको स्तर सुधार गरिएको प्रगति विवरण पेस गर्न मन्त्री श्रेष्ठको कडा निर्देशन

मङ्गलबार, २५ वैशाख २०८१, १७ : ३९
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रङ्गशालाको स्तर सुधार गर्न दिएको निर्देशनका विषयमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मंगलबार दास्रो पटक सम्बद्ध निकायहरूसँग छलफल गरेका छन् ।

मन्त्री श्रेष्ठले मंगलबारमा साझ दशरथ रङ्गशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायतका पदाधिकारीसँग छलफल गरी ५ दिनभित्र दशरथ रङ्गशालाको स्तर सुधारमा गरिएको प्रगति विवरण प्रस्तुत गर्न कडा निर्देशन दिएका छन् । 

मन्त्री श्रेष्ठले विश्व कप छनौट फुटबलको अर्को खेल नेपालमै गराउने वातावरण बनाउन पनि निर्देशन दिएका छन् । यसअघि मंगलबार बिहान मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन रुपमा टुङ्गिएको थियो । 

दशरथ रङ्गशालाको रेखदेख हाल राखेपले आफ्नै अधीनमा लिएको छ । फिफा र एएफसीले दशरथ रङ्गशालाको स्तर सुधार गर्न एन्फासँग पत्राचार गरेको थियो । दशरथ रङ्गशालामा दर्शक र खेलाडीको सुरक्षा, फ्लड लाइटजस्ता विषयमा प्रश्न उठाएपछि यस विषयमा एन्फाले राखेप र युवा तथा खेलकुद मन्त्रालयलाई जानकारी गराएको थियो । 

दशरथ रङ्गशाला नेपालको एक मात्र अन्तर्राष्ट्रिय रङ्गशाला हो । फुटबलका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता यही रङ्गशालामा आयोजना हुँदै आएका छन् । पछिल्लो समय फिफा र एएफसीले दशरथ रङ्गशालाको विभिन्न पक्षमा प्रश्न उठाउँदै एन्फालाई स्तर सुधार गर्न सुझाव दिँदै आएको छ । 

फिफा र एएफसीले दशरथ रङ्गशाला निकै पुरानो भएकाले खेलका क्रममा दर्शकको सुरक्षाको विषयमा प्रश्न उठाएको हो । ‘फ्लड लाइट’ को विषयमा पनि प्रश्न गरिएको छ । दशरथ रङ्गशालामा रात्रिकालीन खेलका लागि जडान गरिएको ‘फ्लड लाइट’ को प्रकाश ९उज्यालो० पर्याप्त नहरेको गुनासो आएपछि फिफा र एएफसीले यसप्रति चासो देखाएका हुन् । 

सन् १९९९ मा नेपालमा आयोजित आठौँ दक्षिण एसियाली खेलकुदका क्रममा चीन सरकारले दशरथ रङ्गशालामा ‘फ्लड लाइट’ जडान गरिदिएको हो । आठौँ दक्षिण एसियाली खेलकुदलाई नै ध्यानमा राखी चीन सरकारले सातदोबाटोस्थित खेलकुद परिसरमा पौडी पोखरी र सुटिङ रेन्जलगायतका पूर्वाधार पनि निर्माण गरिदिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप