मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने

मङ्गलबार, ०५ साउन २०८३, ०९ : २५
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • रौतहटको लालबकैया खोलाको बाँधको अवस्था र सम्भावित बाढी जोखिमको मूल्याङ्कन गर्न सोमबार साँझ उच्चस्तरीय अनुगमन तथा निरीक्षण गरिएको छ।
  • मनसुनका बेला बाढी र कटानका कारण जोखिम बढ्ने भएकाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन, मौसमसम्बन्धी सूचना पालना गर्न तथा सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरिएको छ।
  • बाँधको अवस्था, सम्भावित कटान हुने क्षेत्र र बाढीबाट हुन सक्ने क्षतिको स्थलगत अवलोकन गरी जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिएको छ।

रौतहट । रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुरस्थित लालबकैया खोलाको बाँधको अवस्था र सम्भावित बाढी जोखिमको मूल्याङ्कन गर्न सोमबार साँझ उच्चस्तरीय अनुगमन तथा निरीक्षण गरिएको छ।

हरेक वर्ष मनसुनका बेला बाढी र कटानका कारण जोखिम बढ्ने भएकाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन, मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पालना गर्न तथा जोखिम बढे सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरिएको छ।

अनुगमनमा रौतहट क्षेत्र  ३ का प्रतिनिधिसभा सदस्य धिरजप्रसाद पटेल, सिडियो दिनेश सागर भुसाल, मौलापुर नगरपालिकाकी प्रमुख रिना कुमारी साह, रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजाल, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हजमिनियाका प्रमुख एसपी रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक कुमार बुढाथोकी, सिँचाइ कार्यालयका प्रतिनिधि तथा अन्य सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

टोलीले बाँधको वर्तमान अवस्था, सम्भावित कटान हुने क्षेत्र र बाढीबाट हुन सक्ने क्षतिको स्थलगत अवलोकन गर्दै जोखिम न्यूनीकरणका उपायबारे छलफल गरेको थियो। सम्बन्धित निकायहरूबिच आवश्यक समन्वय गरी कटान रोकथाम तथा पूर्वतयारीका कामलाई प्रभावकारी बनाउने विषयमा पनि सहमति भएको जनाइएको छ।

रौतहटको पूर्विभेग स्थित बागमती नदी र पश्चिम लालबकैया नदी हरेक वर्ष वर्षायाममा उग्र बन्दै आसपासका बस्ती र खेतीयोग्य जमिनमा कटान तथा डुबानको समस्या दोहोरिने गरेको छ। त्यसैले मनसुनको सक्रिय अवधिमा गरिएको यस्तो संयुक्त अनुगमनलाई विपद् व्यवस्थापनको दृष्टिले सकारात्मक कदमका रूपमा हेरिएको छ। यद्यपि स्थानीयवासीले दीर्घकालीन तटबन्ध सुदृढीकरण र प्रभावकारी संरक्षणका काम समयमै अघि बढाउनुपर्ने माग गर्दै आएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप