चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
सारांश
- चीनमा राष्ट्रिय भिलेज सुपर लिग एक सामाजिक र सांस्कृतिक स्वरूपको रूपमा स्थापित भएको छ, जसले लाखौं दर्शकलाई आकर्षित गरिरहेको छ र विश्वकपको विकल्प प्रस्तुत गरेको छ।
- यो प्रतियोगिता सामान्य नागरिकहरूलाई टोली बनाएर खेल्ने अवसर दिन्छ र स्थानीय सरकारहरूले यसलाई घरेलु अर्थतन्त्रलाई चलायमान बनाउन प्रयोग गरेका छन्।
- भिलेज सुपर लिग चीनको व्यावसायिक फुटबलमा देखिएको कमजोरी, कुप्रबन्धन र निराशाबाट दिक्क भएका समर्थकहरूका लागि आशाको प्रतीक बनेको छ।
बेइजिङ । रातो जर्सी लगाएका खेलाडीहरू उफ्रिँदै आफ्ना खुसीले चिच्याइरहेका टोलीका साथीहरूमाथि श्याम्पेन छर्किरहेका छन् । वरिपरि चकलेट र रंगीन रिबन वर्षिरहेका छन् भने दर्शकहरू मोबाइलमा त्यो उल्लासपूर्ण क्षण कैद गरिरहेका छन् ।
यो आइतबार अमेरिकाको न्यु जर्सीमा स्पेनले जितेको विश्वकपको दृश्य भने होइन । यो त्यसको एक दिनअघि, करिब १० हजार किलोमिटर टाढा उत्तरी चीनको हेबेई प्रान्तस्थित पहाडी तथा ग्रामीण फुपिङ काउन्टीमा मनाइएको जित हो ।
कम्युनिस्ट पार्टीका नाराले सजिएको रंगशालामा स्थानीय टोलीले जित हासिल गरेपछि यस्तै उत्सव मनाइएको थियो ।
यो खेल चीनभर भइरहेका सयौँ खेलमध्ये एक हो, जहाँ टोलीहरू राष्ट्रिय ‘भिलेज सुपर लिग’ को फाइनलमा स्थान बनाउन प्रतिस्पर्धा गरिरहेका छन् । यो एमेच्योर प्रतियोगिता अहिले चीनभर एउटा सामाजिक र सांस्कृतिक स्वरुपकै रूपमा स्थापित भएको छ । लाखौँ दर्शकलाई आकर्षित गरिरहेको यो प्रतियोगिताले दुई दशकभन्दा बढी समयदेखि पुरुष विश्वकपमा सहभागी हुन नसकेको चीनका लागि विश्वकपको एउटा भव्य विकल्प प्रस्तुत गरेको छ ।
‘यसरी सबैको ध्यानको केन्द्रमा उभिन पाउनु मेरो लागि असाधारण अनुभव हो,’ बाओडिङ लियान्छी टोलीका डिफेन्डर तथा पेशाले दन्त चिकित्सक टोङ जेहाओले सीएनएनसँग भने । ‘भिलेज सुपर लिग सुरु हुनुअघि स्थानीय स्तरमा यति ठूलो ध्यान पाउने कुनै प्रतियोगिता नै थिएन ।’
गाउँबाट राष्ट्रिय मञ्चसम्म
यो अवधारणाको सुरुआत चीनका सबैभन्दा गरिब प्रदेशमध्ये एक गुइझाउको ग्रामीण काउन्टीमा भएको थियो । अहिले यसको विस्तार भएर देशभर करिब ६० वटा लिग र सयौँ टोली समेट्ने राष्ट्रिय संरचनामा परिणत भएको छ ।

यसको अवधारणा सरल छ । यहाँ आफ्नो नियमित जागिर गर्ने सामान्य नागरिकहरूले टोली बनाएर स्थानीय लिग खेल्छन् । विजेता टोलीहरूले राष्ट्रिय च्याम्पियनसिपमा स्थान पाउँछन् । यसले प्रत्येक खेललाई स्थानीय उत्सव, सांस्कृतिक कार्यक्रम र व्यापार मेलाको रूप दिएको छ ।
स्थानीय सरकारहरूले पनि यसलाई सक्रिय रूपमा अघि बढाएका छन् । कमजोर उपभोगका कारण दबाबमा रहेको घरेलु अर्थतन्त्रलाई चलायमान बनाउन र स्थानीय व्यवसायलाई प्रोत्साहन गर्न उनीहरूले यो प्रतियोगितालाई उपयोग गरेका छन् ।
तर भिलेज सुपर लिग आर्थिक गतिविधिको माध्यम मात्र होइन । चीनको व्यावसायिक फुटबलमा वर्षौँदेखि देखिएको कमजोरी, कुप्रबन्धन र निराशाबाट दिक्क भएका समर्थकका लागि यो ताजा आशाको प्रतीक पनि बनेको छ । धेरैको विश्वास छ कि यिनै समस्याले १ अर्ब ४० करोड जनसंख्या भएको देशलाई विश्वस्तरीय पुरुष फुटबल टोली बनाउनबाट रोकेको छ ।
२१ वर्षीया कलेज विद्यार्थी लिउ जियापिङ भन्छिन्, ‘हाम्रो देश विश्वकपमा छनोट हुन सकेन, त्यसैले यहाँ स्थानीय फुटबल हेर्न झन् रमाइलो लाग्छ ।’
फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेको प्रशंसकसमेत रहेकी उनले भनिन्, ‘घरमा बसेर मोबाइल हेर्नुभन्दा यहाँ आएर आफ्नै देशको फुटबल अनुभव गर्नु धेरै राम्रो हो ।’
खेलभन्दा धेरै विकासको अभियान
शनिबार साँझ फुपिङ काउन्टी लिगको फाइनल हेर्न हजारौँ दर्शक स्थानीय प्राविधिक कलेजको रंगशालामा पुगे । करिब दुई लाख जनसंख्या भएको यो काउन्टी फलफूल उत्पादनका लागि परिचित छ, खेलकुदका लागि होइन ।
‘सायद फुपिङको आधा जनसंख्या यहीँ आएको छ,’ एक २० वर्षीया युवतीले ठट्टा गर्दै भनिन् ।
खेलअघि घोडचढी टोलीको परेड, सांस्कृतिक झाँकी, किसान, मजदुर, स्थानीय उद्योगका प्रतिनिधि तथा कलाकारहरूको प्रदर्शन गरिएको थियो । स्थानीय स्याउ, जुजुब र चेस्टनटको प्रचारसमेत गरिएको थियो ।
मध्याह्न विश्राममा सयौँ बालबालिकाले नृत्य प्रस्तुत गरे, जसले काउन्टीको क्रान्तिकारी इतिहासलाई झल्काएको थियो । रंगशाला बाहिर विशेष रात्री बजार सञ्चालन गरिएको थियो, जहाँ बारबेक्यु, चिसा चाउचाउ, मिठाइ र अन्य परिकार बिक्री भइरहेका थिए ।
यसले आयोजकहरूको उद्देश्य केवल फुटबल खेलाउनु मात्र नभई काउन्टीको प्रचार, आर्थिक गतिविधि बढाउने र स्थानीय जनताको मनोबल उकास्ने रहेको स्पष्ट देखिन्थ्यो ।
एक समय अत्यन्त गरिब मानिने फुपिङ राष्ट्रपति सी चिनफिङको गरिबी निवारण अभियानको सफल उदाहरणका रूपमा चिनिन्छ । त्यसैले स्थानीय अधिकारीहरू विकासको गति कायम राख्ने नयाँ उपाय खोजिरहेका छन् ।
विद्यालय शिक्षिका तथा चियरलिडर गेङ याङ भन्छिन्, ‘यी खेल र कार्यक्रमहरू फुपिङको विकासका लागि महत्त्वपूर्ण छन् । यसले गरिबीबाट माथि उठेपछि हाम्रो आत्मविश्वास देखाउँछ र अरूलाई हाम्रो गाउँबारे चिनाउँछ ।’
व्यापारमा पनि प्रभाव
प्रतियोगिताको सुरुआती खेलले मात्रै करिब दुई लाख युआन (झन्डै ३० हजार अमेरिकी डलर) बराबरको उपभोक्ता खर्च सिर्जना गरेको आयोजकहरूले बताएका छन् ।
स्थानीय रेस्टुरेन्ट सञ्चालक लिउ चियानले रात्री बजारमा स्टल राखेर एकै दिनमा थप १० हजार युआन (झन्डै १,५०० अमेरिकी डलर) आम्दानी गरेको बताए । यद्यपि सबै व्यापारी समान रूपमा लाभान्वित भएनन् । मह बिक्री गर्ने वाङ यिन्केले सरकारले निःशुल्क स्टल दिए पनि बिक्री अघिल्ला वर्षजति राम्रो नभएको बताए ।
‘खेलप्रतिको विशुद्ध प्रेम’
‘यी खेलाडीहरूले मैदानमा आफ्नो सम्पूर्ण शक्ति दिइरहेका छन् । यही नै खेलप्रतिको सबैभन्दा शुद्ध प्रेम हो,’ पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा उद्घोषकले भने ।

दर्शकहरूका लागि यी खेलाडीहरू पेशेवर होइनन् भन्ने कुरा नै आकर्षण बनेको छ । उनीहरू विद्यार्थी, चिकित्सक, शिक्षक वा कम्पनीका कर्मचारी हुन्, जसले कामपछि फुटबल खेल्छन् ।
यसको ठीक विपरीत चीनको व्यावसायिक फुटबल लामो समयदेखि विवादमा छ । एक समय बेइजिङले देशलाई ‘फुटबल महाशक्ति’ बनाउने घोषणा गरेपछि सांघाई पोर्ट, ग्वाङझाउ एभरग्रान्डे र जियाङ्सु सुनिङजस्ता क्लबहरूले विदेशी खेलाडीलाई अत्यधिक तलबमा अनुबन्ध गरेका थिए ।
तर सही आर्थिक प्रबन्धन नहुँदा धेरै ठूला क्लब बन्द भए । दर्जनौँ फुटबल अधिकारी भ्रष्टाचारविरुद्धको अभियानमा प्रतिबन्धित वा जेल परे । उता चीनको पुरुष राष्ट्रिय टोली भने सन् २००२ यता विश्वकपमा छनोट हुन सकेको छैन ।
यही निराशाको पृष्ठभूमिमा सन् २०२३ मा गुइझाउ प्रान्तको रोङजियाङ काउन्टीबाट सुरु भएको भिलेज सुपर लिगले देशव्यापी लोकप्रियता हासिल गरेको छ । अहिले चीनभरका स्थानीय लिगहरू यसमा आबद्ध छन् । कतिपय खेल प्रत्यक्ष प्रसारण भइरहेका छन् र सामाजिक सञ्जालमा ठूलो दर्शकसमेत पाइरहेका छन् ।
फुपिङ लिगका आयोजक तथा मुख्य रेफ्री गाओ च्याङ भन्छन्, ‘दर्शकहरू फुटबल हेर्ने मात्रै होइन, फुटबल बुझ्ने र फुटबलमा विश्वास गर्नेसम्म स्तरमा पुगेका छन् ।’
रासायनिक इन्जिनियरिङका विद्यार्थी झाओ जुन्जिए पनि सहमत छन् । ‘पूरै देशले यस्ता गाउँ लिग खेल्न थालेपछि ठूलो लहर आएको छ,’ उनले भने, ‘यसले धेरै मानिसलाई फुटबलप्रति आकर्षित गरिरहेको छ ।’
अर्को वर्ष फेरि भिड्नेछौँ
खेलको अन्तिम मिनेटतिर घरेलु टोलीले निर्णायक गोल गर्दै १–० को जित निकाल्यो । समर्थकहरू मैदानमै पसेर उत्सव मनाउन थाले । हारपछि बाओडिङ टोलीका दन्त चिकित्सक टोङ जेहाओ निराश देखिए पनि भविष्यप्रति आशावादी थिए ।
‘हार र जित खेलकै हिस्सा हुन्,’ उनले भने, ‘हामी यसलाई स्वाभाविक रूपमा स्वीकार गर्छौँ । अर्को वर्ष फेरि भिड्नेछौँ ।’
सिमोन म्याककार्थी/सीएनएनबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण