सोमबार, १४ जेठ २०८१
ताजा लोकप्रिय

त्रिविवि र यसको सुधारका सम्बन्धमा

मङ्गलबार, ०१ जेठ २०८१, १० : ००
मङ्गलबार, ०१ जेठ २०८१

विश्वविद्यालय उच्च शिक्षा र अनुसन्धानको संस्था हो, जसले अध्ययन तथा अनुसन्धानका विभिन्न क्षेत्रमा कार्य गर्छ । नेपालमा १९७५ सालमा त्रिचन्द्र कलेजको स्थापना भएसँगै उच्च शिक्षाको प्रारम्भ भएको इतिहास छ । उच्च शिक्षाको प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न चारवटा मुख्य उद्देश्य राखेर २०१६ सालमा देशकै ठुलो तथा पुरानो विश्वविद्यालय अर्थात् त्रिभुवन विश्वविद्यालय (त्रिविवि)को स्थापना भएको थियो । 

करिब १५५ हेक्टर क्षेत्रफलमा फैलिएको त्रिविविअन्र्तगत अहिले पाँचवटा संस्थान र चारवटा संकाय सम्मिलित ४० केन्द्रीय विभागहरू, ६२ वटा आङ्गिक क्याम्पसहरू र एक हजार ६२ वटा सम्बन्धन प्राप्त विभिन्न विषयका क्याम्पस सञ्चालित छन् । 

त्रिविवि नेपाल सरकारद्वारा लगानी गरी सञ्चालनमा ल्याएको एक गैरनाफामुखी संस्था हो, जसलाई २०१३ सालमै तत्कालीन सरकारले केन्द्रीय विश्वविद्यालय घोषणा गर्न सैद्धान्तिक सहमति जनाएको थियो । चारवटा अनुसन्धान केन्द्र रहेका तथा कार्यक्रमको विविधताका हिसाबले ठुलो संख्यामा विद्यार्थीका आवश्यकता पूरा गर्न सफल भएको दाबी गर्ने त्रिविविले १९ डिसेम्बर २०२३ का दिन ४९औँ दीक्षान्त समारोहको आयोजना गरी करिब ७४ हजार ७४९ विद्यार्थीलाई दीक्षित गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा आफ्नो नाम लेखाउन सफल भयो । बर्सेनि करिब साढे तीन लाख विद्यार्थीले अध्ययन गर्ने यस विश्वविद्यालयले करिब १५ हजार १९६ शिक्षक तथा कर्मचारीलाई रोजगारी दिइरहेको छ । 

त्रिविविले आव २०८०/०८१ का लागि २६ अर्ब २४ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसबाट उसले आफ्ना नियमित कार्यक्रम सञ्चालानार्थ ५३ प्रतिशत, आन्तरिकतर्फ ४२ प्रतिशत र विकास कार्यक्रममा करिब पाँच प्रतिशत गरेर जम्मा तीनवटा मुख्य विधामा बजेट खर्च गर्दोरहेछ । कुल बजेटको ५० प्रतिशत आन्तरिक आम्दानीबाट उठ्ने रहेछ भने बाँकी ५० प्रतिशत रकम चाहिँ विश्वविद्यालय अनुदान आयोगमार्फत नेपाल सरकारलाई माग गरेपछि प्राप्त हुने रहेछ । 

सरकारबाट प्राप्त हुने अनुदान रकम कुनै कारणवश त्रिविविले माग गरेभन्दा कम प्राप्त भएमा वा त्रिविविको योजना मुताविकको रकम नेपाल सरकारले उपलब्ध गराउन नसकेमा विकास कार्यक्रमका लागि छुट्ट्याइएको रकमलाई नियमित तथा आन्तरिक कार्यक्रम सञ्चालनका निम्ति उपयोग गर्नुपर्छ । यसो हुँदा विकास कार्यक्रम अन्तर्गतका अनुसन्धान, तालिम तथा वृत्ति विकासका निम्ति गरिने महत्त्वपूर्ण तथा अत्यावश्यक कार्यक्रम कटौती गर्नुपर्ने वा रोक्का नै गर्नुपर्ने अवस्था आउने रहेछ । 

त्रिविविले हाल पठनपाठन गराइरहेका विषयवस्तुले नेपाली समाजको भित्री सांस्कृतिक पक्षलाई समात्न सकेका छैनन् ।

त्रिविविको पहिलो मुख्य उद्देश्य ‘नेपालको समग्र विकासका निम्ति आवश्यक सक्षम जनशक्ति तयार पार्ने’ भन्ने कुरा सैद्धान्तिक रूपमा सकारात्मक देखिए पनि व्यावहारिक रूपमा भने पूरै फरक छ । त्रिविविले पढाउने पाठ्यक्रम नै नेपालको विशिष्टता अनुरूपका छैनन् । सबैजसो क्षेत्रमा विकासका कार्य न्यून मात्रामा भएका र हुनुपर्ने विकाससँग मेल खाने विषय पढाउन अत्यावश्यक रहे पनि त्रिविविले त्यो धारबाट बाहिर रहेर पाठ्यक्रमको विकास गर्ने र लागु गर्ने गरेको छ । जसले गर्दा देशभरका ७९ प्रतिशत विद्यार्थीको संख्यालाई प्रतिनिधित्व गर्ने त्रिविविले कुल विद्यार्थी संख्याको ८० प्रतिशत अनुत्पादक जनशक्तिहरू उत्पादन गरिरहेको छ । 

गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नु त्रिविविको अर्को मुख्य उद्देश्य हो । देशको राष्ट्रिय आवश्यकता, विश्वविद्यालयको पाठ्यक्रम तथा त्यसबाट उत्पादित जनशक्तिको गुणस्तरलाई मध्यनजर गरेर शिक्षाको गुणस्तर मापन गर्नुपर्र्छ ।

नेपालको राष्ट्रिय आवश्यकता शारीरिक श्रम गरी जीविकोपार्जन गर्ने मानिसको जीवनस्तरलाई उकास्नु हो । त्यसका निम्ति नेपालमा आफ्नै मौलिकतामा आधारित रहेर पाठ्यक्रमको विकास गर्नुपर्छ । जसले राष्ट्रको विकासमा प्रत्यक्ष रूपमा सहयोग गर्न सकोस् । 

विभिन्न एनजीओ, आईएनजीओ तथा दातृ निकायको प्रत्यक्ष निगरानीका आधारमा व्यापक औद्योगिकीकरण भइसकेका तथा विकासका दृष्टिले सम्पन्न भइसकेर जीवनलाई सक्रिय राखिरहनका लागि पढ्ने खालका विषयवस्तु समावेश गरेर तयार पारिएका त्रिविविको पाठ्यक्रम र यसको भद्रगोल शैक्षिक प्रणालीले मास्टर्स डिग्री सकाए पनि मजदुरी गर्नका लागि बिदेसिनुपर्ने बाध्यतामा परेका युवालाई देशभित्रै रोक्न सकेको छैन । त्यसका साथै युवा पुस्तामा त्रिविविप्रतिको भरोसा कमजोर भई वार्षिक एक डेढ लाख विद्यार्थी उच्च शिक्षा आर्जनका निम्ति बिदेसिने गरेका छन् । 

‘राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण तथा विकास गर्ने’ भन्ने कुरा त्रिविविको तेस्रो मुख्य उद्देश्य हो । नेपालमा सामन्तवादको धरोहरको अवसान भए पनि त्यसका पक्षपोषककोे अन्त्य हुन सकेको छैन । प्रत्यक्ष रूपमा सामन्तवादी संस्कार र संस्कृतिको पक्षपोषण गर्ने खालका पाठ्यसामग्री पाठ्यक्रमबाट हटाइए पनि पाठ्यक्रममा आमूल परिवर्तन गर्न सकिएको छैन । 

त्रिविविले हाल पठनपाठन गराइरहेका विषयवस्तुले नेपाली समाजको भित्री सांस्कृतिक पक्षलाई समात्न सकेका छैनन् । विभिन्न समुदायका सांस्कृतिक पक्षलाई सामान्य ढङ्गले समावेश गरिएको भए पनि त्रिविविको पाठ्यक्रम, वैदेशिक सांस्कृतिक हस्तक्षेपबाट देशलाई मुक्त गराउन सक्ने खालकोे छैन ।

त्रिविविको पाठ्यक्रम, राष्ट्रिय उत्पादन, श्रम तथा उद्यमशीलताको संस्कारलाई समाजमा स्थापित गराउने खालको हुनुपर्र्छ तर युवा पलायनलाई प्रतिस्थापन गर्नका लागि राष्ट्रिय उत्पादन, श्रम तथा उद्यमशीलताको संस्कृतिको विकास गर्ने खालको शिक्षा त्रिविविले प्रदान गर्न सकेको छैन ।  

त्रिविविमा सैद्धान्तिक बाहेकका पनि थुप्रै जटिल समस्याको चाङ रहेको कुरा वर्षैपिच्छे फेरिने शिक्षामन्त्रीहरू, प्रत्येक चार–चार वर्षमा फेरिने उपकुलपतिहरूका त्रिविवि सुधार्ने प्रतिबद्धता र त्रिविविमा अध्यापन गराइरहेका प्राध्यापकहरूले आफ्नो जीवन रक्षाका निम्ति अदालतको ढोकामै अनशन बस्नुपर्ने स्थिति लगायत गतिविधिले प्रस्ट्याउँछन् । 

त्रिविविलाई अध्ययन र अनुसन्धानको केन्द्रका रूपमा व्याख्या गरिन्छ । हालसम्मको अवस्थालाई हेर्दा त्रिविविमा अनुसन्धान, तालिम तथा वृत्ति विकासका निम्ति सरदरमा त्रिविविको कुल बजेटको १.५ प्रतिशत मात्रै बजेट उपलब्ध हुन्छ । त्रिविविमा विभिन्न विषयसँग सम्बन्धित अनुसन्धानका लागि भनेर विभिन्न दातृ निकायबाट बर्सेनि लाखौँ रुपैयाँ आउने गरेको पनि छ, तर त्यो रकमको चरम दुरुपयोग हुन्छ, झिनामसिना योजना तयार पारी बजेट सकाइन्छ । वैदेशिक भगिनी विश्वविद्यालयबाट थेसिसका लागि भनेर आएका विभिन्न कोषको रकमको पनि सही सदुपयोग हुने गरेको छैन । अर्कोतर्फ विभिन्न सीमितताका बाबजुद पनि त्रिविविले गर्ने वा गराउने अनुसन्धानका कार्य राज्यको नीति तथा जनताका आवश्यकतासँग मेल खाने खालका छैनन् । 

मास्टर्सको थेसिस फोटोकपी पसलमा किनबेच हुने, प्रतिविद्यार्थीलाई १२ सयका दरले मात्रै अनुसन्धानका निम्ति पैसा उपलब्ध हुने, विदेशी विश्वविद्यालय वा संस्थाहरूले प्रकाशित गरेका पेपरलाई सन्दर्भ सामग्रीको रूपमा लिई गरेको कामलाई मात्रै अनुसन्धान मान्ने र यसरी गरेको अनुसन्धान नेपालको विकासमा उपयोगी नहुने लगायत कुराले त्रिविवि आर्थिक, नीतिगत तथा व्यावहारिक हिसाबले नै अनुसन्धानको केन्द्र बन्न नसकेको पुष्टि हुन्छ । 

त्रिविविमा सैद्धान्तिक बाहेकका पनि थुप्रै जटिल समस्याको चाङ रहेको कुरा वर्षैपिच्छे फेरिने शिक्षामन्त्रीहरू, प्रत्येक चार–चार वर्षमा फेरिने उपकुलपतिहरूका त्रिविवि सुधार्ने प्रतिबद्धता र त्रिविविमा अध्यापन गराइरहेका प्राध्यापकहरूले आफ्नो जीवन रक्षाका निम्ति अदालतको ढोकामै अनशन बस्नुपर्ने स्थिति लगायत गतिविधिले प्रस्ट्याउँछन् । 

अस्तव्यस्त समय तालिका, विभिन्न टेन्डरका प्रक्रियामा हुने अवैध गतिविधि, गैरजिम्मेवारी प्रशासन तथा अत्यन्तै निम्छरो प्रशासनिक सेवा प्रवाह लगायत विकृत कुराले त्रिविविलाई अझै अँध्यारोतर्फ धकेलिरहेका छन् । उपकुलपति तथा अन्य नियुक्तिका सन्दर्भमा हुने जटिल विवाद तथा राजनीतिक दाउपेचका मुद्दाले त्रिविविलाई थप कमजोर बनाइरहेका छन् । 

त्यसो त त्रिविवि सुधार्नका निम्ति उपकुलपति लगायत पद खुला प्रतिस्पर्धाको माध्यमद्वारा गर्नुपर्ने, त्रिविविलाई अध्ययन तथा अनुसन्धानको केन्द्र बनाइनुपर्ने, त्रिविवि र यसका आङ्गिक क्याम्पसमा राजनीतिक दल समर्थित विद्यार्थी सङ्गठनहरू खोल्न बन्देज लगाउनुपर्ने, त्रिविविको समकक्षता लगायत प्रशासनिक सेवा–सुविधालाई छिटो र छरितो बनाइनुपर्ने साथै त्रिविविको वार्षिक कार्यतालिकालाई कडाइका साथ लागु गर्नुपर्ने लगायत कुरा विभिन्न बुद्धिजीवी तथा राजनीतिक दलबाट पटक–पटक उठ्ने गरेको पाउँछौँ, तर त्रिविविको आमूल पुनर्संरचनाबिना ती विषय उठान गर्नु निरर्थक छ । 

अस्त–व्यस्तताको भुमरीमा परेको त्रिविविलाई सुधार गर्नका निम्ति सर्वप्रथम त्रिविविलाई स्वतन्त्र संस्थाका रूपमा विकास गर्नुपर्छ । त्रिविवि सबै हिसाबले स्वतन्त्र भइसकेपश्चात् नेपाल सरकारको राष्ट्रिय नीतिहरूसँग मेल खाने गरी त्रिविविको पाठ्यक्रमलाई पूर्णरूपमा परिवर्तन गरिनुपर्छ । त्यससँगै त्रिविविको समग्र शैक्षिक तथा प्रशासनिक प्रणालीलाई पनि व्यापक रूपान्तरण गर्नुपर्छ ।

त्रिविविका प्राध्यापक बौद्धिक काममा खटिइरहने र अध्ययनरत विद्यार्थी पनि अनुसन्धानात्मक काममा खट्ने हुँदा त्रिविविमा देखिएका आर्थिक, राजनीतिक तथा शैक्षिक बेथिति धेरै हदसम्म नियन्त्रणमा आउँछन् ।

यथासम्भव त्रिविविका ४० वटा केन्द्रीय विभागमध्ये कतिपयलाई खारेज गर्ने त कतिपयलाई एक अर्कामा गाभ्नुपर्छ । त्यसपश्चात् त्रिविविका शैक्षिक विभागहरूलाई विषय सम्बन्धित नेपाल सरकारका मन्त्रालय वा राष्ट्रिय योजना आयोगसँग प्रत्यक्ष रूपमा जोड्नुपर्छ । 

यस प्रकारको प्रणालीको विकास गर्न, त्यसलाई थप मजबुत बनाउन नेपाल सरकारको नीति तथा कार्यक्रम र त्रिविविको योजनालाई एकैसाथ तयार पारी सँगसँगै कार्यान्वयनमा लैजानुपर्छ । यस प्रकारको प्रणालीको संस्थागत विकास भइसकेपछि नेपाल सरकारका पञ्चवर्षीय योजना, नेपालमा आयोजना डिजाइन निर्देशिका लगायत नेपालका हरेक राष्ट्रिय मुद्दामा त्रिविविले विषय अनुसारका आफ्ना प्राध्यापक र उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई कामकाजमा खटाउने गर्नुपर्छ । 

यसरी त्रिविविका प्राध्यापक बौद्धिक काममा खटिइरहने र अध्ययनरत विद्यार्थी पनि अनुसन्धानात्मक काममा खट्ने हुँदा त्रिविविमा देखिएका आर्थिक, राजनीतिक तथा शैक्षिक बेथिति धेरै हदसम्म नियन्त्रणमा आउँछन् । विद्यार्थी कमाउँदै, पढ्दै र अनुसन्धान गर्दै आफ्नो शैक्षिक डिग्री प्राप्त गर्छन् । यसरी उत्पादन हुने दक्ष जनशक्ति नेपालको विकासका कार्यमा खपत हुने हुँदा देशमा जर्जर अवस्थामा रहको बरोजगारीको समस्याको अन्त्य हुन्छ । 

नेपालमा योजनाहरूको छनोट तथा डिजाइन आफ्नै मौलिकता अनुरूप गरिने हुँदा आयोजनाहरूको दिगोपना पनि कायम हुन्छ । त्रिविविको बजेट, यसको गहन जिम्मेवारीका आधारमा बढ्ने तथा नेपाल सरकारले योजनाहरू तर्जुमा गर्दाका बखतमा खर्च हुने बजेट त्रिविविका माध्यमद्वारा उत्पादनमूलक कार्यमा खर्च हुने हुँदा त्रिविवि सञ्चालनमा बजेटको अभाव हुने बजेट अभावमा अनुसन्धानका कार्य रोकिनुपर्ने लगायत दुरवस्थाहरूको अन्त्य भई त्रिविवि स्वचालित रूपमा स्वतः आत्मनिर्भरताको बाटोमा अगाडि बढ्न सक्छ ।

देशको मुख्य समस्या हटाउन त्रिविविको व्यापक रूपान्तरण आवश्यक छ, जसले देशको समग्र शिक्षा प्रणालीलाई गतिलो लयमा लैजान सकोस् ।

देशको आकार र सानो स्तरको विकासको बजेट जताततै छिरोलिने र कतै पनि पूर्णरूपमा कार्य सम्पादनमा चुनौती थपिई विदेशी ऋणको सिकार बनिरहनुपर्ने स्थितिलाई धेरै हदसम्म नियन्त्रण गर्नमा समेत यो प्रणालीले मद्दत पुर्‍याउँछ ।  

तसर्थ विश्वविद्यालयहरू राष्ट्रिय उत्पादन, राष्ट्रिय एकता, देश विकास, नयाँ पुस्ताहरूमा नवीनतम आशा र भरोसा जगाउने खालका हुनुपर्छ । देशकै ठुलो विश्वविद्यालय त्रिविविलाई कस्तो बनाउने भन्ने नेपाल सरकारको हातमा छ ।

खर्बौंको सम्पत्ति भएको त्रिविविले बर्सेनि हजारौँको संख्यामा बेराजगार जनशक्ति उत्पादन गरिरहेको छ । युवा पुस्तामा चरम निराशा र आफ्नो भविष्यप्रतिको भयले देश नै असफलताको बाटोमा लम्किरहेको छ ।

त्रिविविलाई सुधार गर्नका निम्ति जे–जस्ता विषय सतहमा आएका छन्, तिनीहरूबाट टालटुले समाधानबाहेक अरु सम्भव देखिँदैन । विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिलाई प्रतिस्पर्धात्मक बनाउनेदेखि विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउनेसम्मका कुरा क्षणिक समाधानका उपाय हुन् । 

देशको मुख्य समस्या हटाउन त्रिविविको व्यापक रूपान्तरण आवश्यक छ, जसले देशको समग्र शिक्षा प्रणालीलाई गतिलो लयमा लैजान सकोस् । आधाभन्दा बढी बजेट खर्च गरेर अनुत्पादक जनशक्ति उत्पादनमा विश्व रेकर्ड कायम गराउने त्रिविविको परिपाटीको अन्त्य जरुरी छ र त्यो सम्भव पनि छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

युवराज आचार्य
युवराज आचार्य
लेखकबाट थप