सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर

सोमबार, २५ जेठ २०८३, १९ : २७
सोमबार, २५ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अधिवेशन ५६ जिल्लामा सम्पन्न भएको छ, तर मधेस प्रदेशमा आन्तरिक विवादका कारण अधिवेशन लम्बिएको छ।
  • देशभरका अधिवेशनहरूमा जम्मा तीन जना महिला निर्वाचित भएका छन्, जसमध्ये बागलुङकी पुनम शर्मा, अर्घाखाँचीकी सीता पराजुली र बर्दियाकी शान्ता बुढा क्षेत्री रहेका छन्।
  • पार्टीको जिल्ला अधिवेशनहरूमा सभापति रवि लामिछाने पक्ष हावी देखिएको छ भने एकता प्रक्रियामा आएका विवेकशील साझा र बालेन समूहका नेताहरू नेतृत्वमा स्थापित हुन सकेनन्।

काठमाडौँ । सोमबार बिहानसम्म ५६ वटा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अधिवेशन सम्पन्न हुँदा मधेस प्रदेशमा आन्तरिक विवादका कारण अधिवेशन लम्बिएको छ। केन्द्रीय निर्वाचन आयोगले जेठ २३ र २४ गते ६८ जिल्लामा अधिवेशन घोषणा गरेको थियो । तीमध्ये ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।

केसीका अनुसार १२ वटा जिल्लामा अधिवेशन जारी छ। बागमती प्रदेशको सिन्धुपाल्चोकमा विवादका कारण अधिवेशन स्थगित भएको छ । कर्णाली प्रदेशको डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा अधिवेशन नभएको उनले जानकारी दिए।

मधेसको हकमा प्राविधिक कारणले अधिवेशन रोकिएको प्रदेश महामन्त्री मनिष कुमार साहले जिकिर गरे । नेतृत्व छनोटका लागि आन्तरिक प्रतिस्पर्धा गर्नु लोकतान्त्रिक अभ्यास भए पनि समूहगत भागबन्डा नहुने उनले प्रस्ट पारे ।

‘एकताको सहमति केन्द्रमा भएको हो। अधिवेशनमा पार्टीको विधि, प्रक्रिया र लोकतान्त्रिक तरिकाले नै नेतृत्व छानिन्छ । यो वा त्यो समूहको नाममा भागबन्डा हुँदैन । प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष हो । प्राविधिक कारणले गर्दामात्र अधिवेशनमा ढिलाइ भएको हो । मधेसका कुनै पनि जिल्लामा अधिवेशन भएको छैन, प्रक्रियामै छ’, रातोपाटीसँग साहले भने ।

देशभर ५६ जिल्लामा नयाँ नेतृत्व चयन हुँदा महिला जम्मा तीन जनामात्र निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बागलुङमा पुनम शर्मा, अर्घाखाँचीमा सीता पराजुली, बर्दियामा शान्ता बुढा क्षेत्री छन् । अधिवेशनबाट चयन भएको जिल्ला नेतृत्वमा सभापति रवि लामिछाने पक्ष नै हाबी देखिएको छ । एकता प्रक्रियामा आएका विवेकशील साझा, बालेन समूह नेतृत्वमा स्थापित हुन सकेनन् ।

रास्वपामा बालेन समूहबाट महामन्त्री रहेका भूपदेव शाहको संयोजकत्वमा एकता समायोजन समिति गठन भएको छ । विवेकशील साझाबाट सचेतक प्रकाशचन्द्र परियार एकता वार्ता टोलीका प्रमुख छन् । नेतृत्वमा आउन नसकेको विषयमा दुवै समूहका नेताहरूले बोल्न चाहेनन् । विवेकशील साझा निकट एक नेताले यस विषयमा जिम्मेवार नेतालाई सोध्न आग्रह गरे । ‘यस विषयमा मेरो कुनै टिप्पणी छैन । जिम्मेवार प्रमुख नेतालाई नै सोध्नुहोला’, ती नेताले भने ।

बालेन निकट अर्का एक नेताले पनि नेतृत्व छनोटमा नपरेको विषयमा कुनै टिप्पणी गर्न चाहेनन् । ती नेताले भने, ‘अधिवेशनमा को आए, को आएनन् भन्दा पनि काम गर्ने हो । पार्टीलाई अझै एकताबद्ध र बलियो बनाउन ध्यान दिएका छौँ ।’

यी हुन् निर्वाचित जिल्ला सभापतिहरू

कोशी प्रदेश (१४ जिल्ला)

झापामा ओम भण्डारी, मोरङमा भरत कंडेल, तेह्रथुममा सुमन खत्री, ताप्लेजुङमा राजन कुमार गुरुङ, भोजपुरमा ख्यामबहादुर भुजेल, संखुवासभामा भक्तनारायण श्रेष्ठ, पाँचथरमा प्रकाश गुरुङ, ओखलढुङ्गामा कृष्णबहादुर थापा,  सुनसरीमा सागर दाहाल, सोलुखुम्बुमा नारायणकाजी कार्की, खोटाङमा मुकुन्दकृष्ण थापा, इलाममा दिनेश महत, धनकुटामा भुवन थापा निर्वाचित भएका छन् । प्रतिनिधि विवादका कारण निर्वाचन रोकिएको उदयपुरमा नेतृत्व चयन हुँदैछ । यहाँ चित्र कुमार कार्की र जनक बस्नेतले प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन् ।

मधेस प्रदेश (८ जिल्ला)

महोत्तरीमा आन्तरिक विवाद चर्किएपछि अधिवेशन स्थगित भएको छ । पालिका अधिवेशनमा भएको विवाद जिल्ला अधिवेशनसम्म आइपुग्दा कुटाकुटमा परिणत भएको थियो । रौतहटमा पनि विवादका कारण अधिवेशन स्थगित भएको छ। यहाँ अध्यक्षका लागि प्रदीप साह, अजय साह, रवीन्द्र यादव, राजेश चौधरी लगायत आकाङ्क्षी छन् ।

सिराहा र पर्सामा आन्तरिक विवाद चर्किंदै जाँदा दुई पक्षबिच झडप हुने देखिएपछि अधिवेशन स्थगित भएको छ । निर्वाचन आयोगले धनुषामा भोलि (मंगलबार) अधिवेशन गर्ने तयारी गरेको छ । सर्लाही र सप्तरीमा आन्तरिक विवादकै कारण अनिश्चितकालका लागि अधिवेशन स्थगित भएको छ । बाराका सभापति चन्दन स्वर्णाकार पार्टीबाट निष्कासित भएपछि विवादले उग्ररुप लिएको छ । कलैया उपमहानगरपालिका निर्वाचित कार्यसमितिलाई केन्द्रले मान्यता नदिएको भन्दै असन्तुष्ट पक्षहरूले केन्द्रीय कार्यालय वनस्थलीमा विरोध प्रदर्शन गरेका थिए ।

बागमती प्रदेश (१३ जिल्ला)

दोलखामा दिनेश बस्नेत, काठमाडौँमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, मकवानपुरमा सञ्जिव पाठक, काभ्रेमा प्रवीण ढकाल, रसुवामा वसन्त भट्ट, सिन्धुलीमा अविनाश बस्नेत, धादिङमा राजन अर्याल, रामेछापमा रमेश कुमार रायमाझी, चितवनमा मिनिमाधव खनाल, ललितपुरमा बुद्धरत्न महर्जन निर्वाचित भएका छन् । सिन्धुपाल्चोकमा भने अधिवेशन स्थगित भएको छ ।

गण्डकी प्रदेश (११ जिल्ला)

स्याङ्जामा विश्वास भण्डारी, कास्कीमा यदुनाथ अधिकारी, पर्वतमा जलबहादुर पुर्जा, लमजुङमा अशोक सापकोटा, बागलुङमा पुनम शर्मा (सहमति भएको भनिए पनि उजुरी प्राप्त), म्याग्दीमा युवराज रोक्का, तनहँुमा विश्व बास्तोला, गोरखामा सुवर्ण रोकाहा क्षेत्री निर्वाचित भएका छन् । नवलपुरमा निर्वाचन हुँदैछ भने मनाङ र मुस्ताङमा अधिवेशन भएको छैन ।

लुम्बिनी प्रदेश (१२ जिल्ला)

गुल्मीमा हरि श्रेष्ठ, नवलपरासीमा रवि पाण्डेय, पाल्पामा विष्णुप्रसाद भण्डारी, कपिलवस्तुमा शिवकुमार सुवेदी, दाङमा किरण खनाल, प्युठानमा विकाश पोखरेल, बाँकेमा विवेक कुमार श्रेष्ठ, बर्दियामा शान्ता बुढा क्षेत्री, रोल्पामा बालाराम थापा, अर्घाखाँचीमा सीता पराजुली र रुपन्देहीमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन् । रुकुम पूर्वमा अधिवेशन भएको छैन ।

कर्णाली प्रदेश (१० जिल्ला)

कालिकोटमा प्रेम केसी, सल्यानमा प्रकाश नेपाली, सुर्खेतमा रमेशकुमार सापकोटा, दैलेखमा बखतबहादुर भण्डारी, रुकुम पश्चिममा द्रोण खड्का, हुम्लामा लक्ष्मण ऐडी र जुम्लामा मकरबहादुर भण्डारी निर्वाचित भएका छन् । जाजरकोटमा निर्वाचन हुँदैछ भने मुगु र डोल्पामा निर्वाचन भएको छैन ।

सुदूरपश्चिम प्रदेश (९ जिल्ला)

बैतडीमा भीम नाथ, बझाङमा सत्यराज उपाध्याय, अछाममा ओमप्रकाश रावल, डडेल्धुरामा सुरेन्द्र अवस्थी, कैलालीमा कवीन्द्र ठगुन्ना, कञ्चनपुरमा पदम विष्ट निर्वाचित भएका छन् । दार्चुला, डोटी र बाजुरामा निर्वाचन हुँदैछ ।

जेठ २३ गते कोशी प्रदेशको झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सुनसरी, मधेस प्रदेशको महोत्तरी र रौतहट, बागमती प्रदेशको दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, धादिङ र रामेछापमा अधिवेशन भएको थियो। 

गण्डकी प्रदेशको स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी, लुम्बिनी प्रदेशको गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णाली प्रदेशको कालिकोट र सल्यान तथा सुदूरपश्चिम प्रदेशको बैतडी, बझाङ र दार्चुलामा अधिवेशन भएको थियो।

जेठ २४ गते कोशी प्रदेशको उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम, मधेस प्रदेशको सिराहा, धनुषा, पर्सा र सर्लाही, बागमती प्रदेशको चितवन, ललितपुर र रसुवामा अधिवेशन भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप