बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, ०८ जेठ २०८१, २२ : ००
मङ्गलबार, ०८ जेठ २०८१

आज २०८१ जेठ ८ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ :

  • सिरोहिया पक्राउ

कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो ।  सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका थिए ।  पक्राउ अघि मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको जनाएका थिए ।

  • संसद् बैठक

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सडक आन्दोलन चर्काउने रणनीतिमा छ । सत्तापक्ष विपक्षीलाई पेलेर नै जाने योजनासाथ अगाडि बढेको सोमबार र मंगलबार बसेको प्रतिनिधिसभा बैठकको दृष्यले प्रष्ट पारेको छ । सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा कायमै रहँदा लामो समयदेखि संसद् बन्धक छ । तर अवरुद्ध संसद् बैठक सुचारु गर्न सरकार अहिलेसम्म सफल हुन सकेको छैन ।

  • थली घटना

भक्तपुरको छालिङ–७ घर भएका ५४ वर्षका कृष्ण नगरकोटी मंगलबार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीमा मृत भेटिए । सोमबार साँझ उनका छोरा रिचेन नगरकोटी घाइते अवस्थामा भेटिएका थिए ।

  • सम्पत्ति विवरण

सरकारले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डले आफूसँग बैंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् । प्रतिनिधि सभा सदस्यको हैसियतमा पाएको २५ लाख रुपैयाँ एभरेस्ट बैंक लिमिटेडमा रहेको प्रचण्डले देखाएका छन्। 
यस्तै सीता दाहालको नाममा चितवनको भरतपुर १४ मा १४ कट्ठा जग्गा रहेको, सीताकै नाममा भरतपुर १२ मा १ कट्ठा अंशबाट प्राप्त भएको उनले जनाएका छन् । 

  • बस्दैनन् सचिवहरू

यतिबेला आगामी आर्थिक वर्षका लागि बजेट बनाउने समय हो । कर्मचारीदेखि मन्त्रीहरू यतिबेला बजेट निर्माणमा जुट्नुपर्ने हो । तर कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अहिले सचिवविहीन छ । ८ वटा मन्त्रालय रहेको कर्णालीमा कानुन मन्त्रालयमा मन्त्रीसमेत नियुक्त गरिएको छैन । मुख्यमन्त्री यामलाल कँडेलले यो मन्त्रालय आफैँसँग राखेका छन् ।

  • वित्तीय सङ्घीयता

कोशी प्रदेशको चालू आर्थिक वर्षबाहेकका विगतका आर्थिक वर्षको बजेटलाई हेर्ने हो भने सङ्घबाट हुने वित्तीय हस्तान्तरणको अनुमान सधैँ फेल खाएको छ । त्यसो हुनुमा सङ्घमा पर्याप्त राजस्व नउठ्नु एउटा कारण हो भने सङ्घले हचुवाको भरमा अनुदानको सिलिङ पठाउनु र सशर्त अनुदानका आयोजनाहरू बिचैमा फिर्ता लैजानु पनि अर्को कारण हो । 

  • बिचौलियाको रजाइँ

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय वरपर तीन हजार ७२२ रोपनी जग्गा छ । लालपुर्जासहितको त्यो जग्गा त्रिभुवन विश्वविद्यालयकै स्वामित्वमा छ । त्रिभुवन विश्वविद्यालयले २०७४ सालमा प्रोफेसर अनुप कुमार श्रेष्ठको संयोजकत्वमा गठन गरेको एउटा समितिले त्रिभुवन विश्वविद्यालयको सम्पत्तिबारे अध्ययन गरेको थियो ।

  • भेपमा प्रतिबन्ध

स्कुल र कलेजमा अध्ययनरत युवा–पुस्ताले लतका रूपमा ई–सिगरेट प्रयोग गर्न थालेपछि सरकारले त्यसलाई नियन्त्रणको पहल लिएको छ । इलेक्ट्रोनिक सिगरेट (ई–सिगरेट वा भेप) प्रतिबन्धको प्रयास स्वरूप स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सम्बद्ध निकायहरूलाई परिपत्र समेत गरेको छ ।

  • व्यापारीको हालीमुहाली

किसानले तरकारीको उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् । कमजोर बजार व्यवस्थापनका साथै मूल्य निर्धारण गर्दा आफूहरूलाई बाइपास गरेर व्यापारीको मात्रै संलग्नता हुने गरेको किसानको गुनासो छ ।

  • पशुपतिको भेटी

पशुपतिनाथ मन्दिरको भेटी चोरेको आरोपमा पक्राउ परेका ५ जना कर्मचारी विरुद्ध प्रहरीले आपराधिक विश्वासघात र चोरी मुद्दामा अनुसन्धान थालेको छ । आरोपीहरू विरुद्ध आपराधिक विश्वासघात र चोरी मुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप