शनिबार, ०८ असार २०८१
ताजा लोकप्रिय

सिरोहियाको प्रश्न– दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्ने व्यक्ति बार्गेनिङ गरी सत्तामा गएकोबारे अनुसन्धान कहिले हुने हो ?

मङ्गलबार, ०८ जेठ २०८१, १५ : ३३
मङ्गलबार, ०८ जेठ २०८१

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको जनाएका छन् । 

आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि मंगलबार विज्ञप्ति जारी गर्दै उनले राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट भने आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित नहुने प्रस्ट पारेका छन् ।

‘सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैँ पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो,’ विज्ञप्तिमा सिरोहियाले भनेका छन्, ‘तर, कान्तिपुर हरेक घडीमा निर्भिक रूपमा उभिँदै आएको छ ।’

सिरोहियाले आफू अहिले पनि व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार रहेको प्रस्ट पारेका छन् । तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार नरहेको उनको भनाइ छ ।

सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हुने सिरोहियाले जनाएका छन् । ‘कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैँ उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शङ्का छैन,’ सिरोहियाले विज्ञप्तिमा भनेका छन् ।

यी सब बिचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि नहट्ने उनको दाबी छ । उनले प्रश्न गरेका छन्, ‘समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोचुन्, दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्नेमा व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो ?’

जनमतको जिम्मेवारी सुशासन स्थापनाको प्रत्याभूतिका लागि हो कि आफ्नो बेथितिको ढाकछोप गर्न र आफूमाथि प्रश्न गर्ने नागरिक र सञ्चारमाध्यममाथि व्यक्तिगत प्रतिशोध लिनका लागि हो भनेर पनि उनले प्रश्न गरेका छन् ।

राज्य शक्ति र स्रोतको दुरुपयोग गर्नेमाथि कान्तिपुरको खबरदारी जस्तोसुकै प्रतिकूलताबिच पनि निरन्तर रहने उनले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप