आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

बुधबार, ०९ जेठ २०८१, १६ : ३३
बुधबार, ०९ जेठ २०८१

काठमाडौँ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जलवायु परिवर्तनले निम्त्याएका समस्या न्यूनीकरण गरी पृथ्वीको सुरक्षाका लागि ध्यानाकर्षण गराएका छन् ।  काठमाडौँमा जारी ‘अन्तर्राष्ट्रिय संवाद’ मा उनले जलवायु परिवर्तनका कारण हिमालमा बढी असर परेकाले हिउँ पग्लिँदै गएकाले यस्ता समस्या न्यूनीकरणका लागि साझा प्रयत्न जरुरी बताए ।  

जलवायु परिवर्तनका कारण उत्पन्न समस्याले नेपालजस्ता मुलुकको पर्वतीय क्षेत्रमा नकारात्मक असर परिरहेको भन्दै उनले सहभागीको ध्यानाकर्षण गराए । पृथ्वीको बढ्दो तापमान वृद्धिले जलवायु परिवर्तनको समस्या अझै बढ्नसक्ने भन्दै उनले तापमान वृद्धि एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित राख्नुपर्नेमा जोड दिए । “जलवायु परिवर्तनले ल्याएका समस्या अझै बढ्ने अवस्था छ । यसबाट हिमाली क्षेत्रमा बढी असर गरिरहेकाले त्यहाँको जनजीवन अझै  कठिन बन्दै जाने देखिन्छ,” उनले भने, “यसर्थ विश्व समुदाय नै तापमान वृद्धि रोक्न एकजुट भए लाग्न जरुरी छ ।”

जलवायु परिवर्तनका असरले हिमाली भेगका समुदाय, त्यहाँको परिस्थितिकीय प्रणाली, कृषि, वन्यजन्तुलगायतमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले न्यूनीकरण र अनुकूलनको तयारीमा नजुटे अझै बढी असर पर्ने धारणा राखे । 

जलवायु  परिवर्तनको असरका कारण विपद्जन्य घटना बढ्न सक्ने र समयमा नै सबै क्षेत्र सजक रहेर जलवायुको असर न्यूनीकरणमा लाग्नुपर्ने उनको भनाइ थियो । “जलवायु परिवर्तनमा नेपालजस्ता देशहरूले न्यून भूमिका खेले पनि यसको असर सबैभन्दा बढी हाम्रै हिमालमा परेको छ, हिमालका हिउँ पग्लिँदै छन्, हिमताल विस्फोट हुने खतरा बढ्दैछ”, उनले भने, “तसर्थ अब जलवायु न्यायका लागि हामीले आवाज उठाउनुपर्छ, जलवायु परिवर्तनको असर सम्बन्धमा सबैको एउटै साझा आवाज हुनुपर्छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप