आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
अस्तित्वका साना कम्युनिस्ट पार्टी

ओली–प्रचण्डसँग ‘पाखुरा सुर्कँदै’ कम्युनिस्ट पार्टी खोल्नेहरूको नालीबेली

बिहीबार, १० जेठ २०८१, १४ : ३४
बिहीबार, १० जेठ २०८१

काठमाडौँ । देशको शासन सत्तामा कम्युनिस्ट पार्टीहरूको जगजगी छ । संसदमा दबदबा देखिन्छ । सत्ता र शक्तिमा ठुला कम्युनिस्ट पार्टी छन् । सत्तामा नजोडिएका र संसदमा पाइलै नहालेका स–साना कम्युनिस्ट पार्टीको सङ्ख्या पनि बाक्लै छ । 

साना कम्युनिस्ट पार्टीहरू पनि ठुला बाम दल जस्तै वैचारिक, सैद्धान्तिक, कार्यनीति र कार्यदिशाको अन्तरसंघर्षबाट गुज्रिरहेका छन् । यही कारण २००६ साल वैशाख १० गते पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापित नेपाल कम्युनिस्ट पार्टी साढे सात दशकको अवधिमा दर्जनौँ पटक फुट्ने र जुट्ने उपक्रमबाट गुज्रिरहेको छ ।

पुष्पलालको उत्तराधिकारी दाबी गर्ने नेकपा (एमाले) अहिले संसदमा दोस्रो र वामपन्थीमध्ये सबैभन्दा ठुलो दलका रूपमा सत्ताको वरिपरि घुमिरहेको छ । माओवादी धारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले तेस्रो शक्तिको रूपमा सरकारको नेतृत्व गरिरहेको छ । 

पुष्पलालकै विचार, सिद्धान्तलाई मार्गदर्शक मानेको नेकपा (एकीकृत समाजवादी) सरकारमै छ । नेकपा चौम (चौथो महाधिवेशन) धारको नेतृत्व गरेको राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर पार्टी २०४८ को आम निर्वाचनदेखि निरन्तर संसदमा उपस्थित छ । 

वैकल्पिक समाजवादी धारको अगुवाइ गरेको दाबी गर्ने डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सत्ता र शक्ति सङ्घर्षको कारण विभाजित भयो । यो पार्टी  महाधिवेशनको तयारीमा छ । २०७९ सालको आमनिर्वाचनमा माओवादीको चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रेको यो दलका अर्का अध्यक्ष महिन्द्रराय यादव पक्ष माओवादीसँग एकताको  तयारीमा छ । सङ्घीय संसदमा एक सिट रहेको प्रभु साह नेतृत्वको आम जनता पार्टीले पछिल्लो समय मधेस प्रदेशमा राजनीतिक सक्रियता बढाउँदै लगिरहेको छ ।

२०८० चैत २२ सम्म निर्वाचन आयोगमा दर्ता भएका ११८ राजनीतिक दलहरूमध्ये २४ भन्दा बढी वामपन्थी विचारधारा बोक्छन्, नेकपाको पछाडि फुर्को जोडेका १९ वटा दल छन् । अस्तित्वमा देखिएका तर आयोगमा दर्ता नभएका साना बाम दलहरू बग्रेल्ती छन् । सत्ता र शक्तिको निरन्तर अभ्यास गरिरहेका एमाले, माओवादी, एकीकृत समाजवादी, नेमकिपा, राजमोबाहेक सत्ता बाहिरको विप्लव–नेकपा, वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी सक्रिय राजनीतिमा देखिन्छन् । ठुला कम्युनिस्ट दलमा हुने टुटफुट र विभाजनको रोगबाट साना कम्युनिस्ट पार्टीहरू पनि मुक्त छैनन् । 

सत्ता र संसद् बाहिर रहेर पनि निर्वाचन आयोगमा दर्ता कायम नेकपाधारी साना कम्युनिस्ट पार्टीको गतिविधिको सार–संक्षेप- 

नेकपा एकता राष्ट्रिय अभियान

एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपा २०७७ सालमा विभाजनपछि अलग कित्तामा उभिएका नेता वामदेव गौतमको संयोजकत्वमा नेकपा एकता राष्ट्रिय अभियान घोषणा भयो । माले हुँदै लामो समय एमालेको वरिष्ठ नेता रहेका गौतमको पार्टीलाई २०७९ साउन ४ गते निर्वाचन आयोगले दलको मान्यता दियो । गौतम अहिले पनि एमाले, माओवादी र एकीकृत समाजवादी पार्टीलाई एक ठाउँमा ल्याउने अभियानमै छन् । यो पार्टीको केन्द्रीय कार्यालय ललितपुर महानगरपालिका–२५ स्थित भैँसेपाटीमा छ । चुनाव चिन्ह अर्ध गोलाकार दुई घेराभित्र धानको तीन बाला रहेको छ । जबज स्वीकार गरेको यो दलले मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद लिएको पार्टी सचिवालयले जनाएको छ ।

 नेकपा (माओवादी समाजवादी)

कर्ण जित बुढाथोकीको अध्यक्षतामा ०७८ साल फागुन १० गते आयोगमा दर्ता भएको नेकपा (माओवादी समाजवादी) गत वर्ष वैशाख ९ गते विप्लव नेतृत्वको नेकपामा विलय भयो । महिला पुरुष चिन्ह लिएर २०७९ को निर्वाचनमा भाग लिएको यो दलले स्थानीय तहमा चार (स्वतन्त्रसहित) ६ सिट जितेको छ । सङ्घ र प्रदेशको निर्वाचनमा १५ हजार मत पाएको बुढाथोकीले दाबी गरेका छन् । विप्लव माओवादीमा विलय भए पनि आयोगमा दल खारेजीको निवेदन चाहिँ नदिएको बुढाथोकी बताउँछन् ।

नेकपा (समाजवादी)

विप्लव नेतृत्वको नेकपाबाट अलग भएका राजु कार्कीले नेकपा(समाजवादी पार्टी) दल गठन गरे । ०७८ भदौ २८ आयोगमा दर्ता भएको यो दलको चुनाव चिन्ह कार रहेको छ । बुढानीलकण्ठ–४ मा कार्यालय रहेको पार्टीको केन्द्रीय समिति ५३ सदस्यीय रहेको छ । अध्यक्ष कार्की २०८४ सम्ममा सबै कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउने गरी पहलमा जुटिरहेको बताउँछन् । कार्यनीतिमा सहमति भए माओवादी केन्द्र, नेकपा लगायत दलहरूसँग एकता गर्न आफ्नो दल तयार उनले बताए । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका अध्यक्ष डा. भट्टराईले आफ्नो दल लिनेबारेमा पटक पटक कुराकानी गरेको रोचक दाबी कार्कीको छ ।   

२०७९ को निर्वाचनअघि नै प्रचण्ड र डा. भट्टराई पार्टीको नाम नै नेकपा(समाजवादी) राख्न सहमत भइसकेको जिकिर गर्दै उनले भने, ‘हाम्रो पार्टी लिन पटक पटक कुराकानी गर्नुभयो । तीन पार्टीबिच एकता गरी नाम नेकपा समाजवादी राख्न सहमत भएका थियौँ । अहिले भने यो विषय ओझेलमा परेको छ ।’ आफ्नो दलले सङ्घ र प्रदेश निर्वाचनमा २५÷३० हजार मत पाएको कार्कीको दाबी छ । 

Capture

नेकपा(परिवर्तन)

०७८ साउन ४ गते आयोगमा दर्ता भएको नेकपा(परिवर्तन)को अध्यक्ष जोगमान लामा छन् । कामनपा–१३ कार्यालय रहेको यो पार्टीको चुनाव चिन्ह माथि चराको प्रतीक भएको डम्फु रहेको छ । मालेमावाद मार्गदर्शक सिद्धान्त मानेको यो दलले एमाले र माओवादीलाई कम्युनिस्ट पार्टी नै नमान्ने लामा बताउँछन् ।

विप्लव नेतृत्वको नेकपाबाट अलग भएर लामाले नयाँ पार्टी खोले । ५१ सदस्यीय केन्द्रीय समिति रहेको दलले गते स्थानीय तह निर्वाचनमा २५ सय मत पाएको दाबी गरेको छ । 

जनताको जनवादी पार्टी

२०७५ साल जेठ ३ गते एमाले र माओवादीबिच एकतासँगै नेकपा गठनपछि सन्ध्या तिवारीले नेकपा (एमाले) र गोपाल किराँतीले नेकपा (माओवादी केन्द्र) निर्वाचन अयोगमा दर्ता गराए । यद्यपि २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरिदिएपछि एमाले र माओवादी केन्द्र साबिक रूपमै फर्किए उनीहरूबाट पार्टी खोसियो ।

_116926376_117378336_112803000537631_5924551746713806834_o

तिवारीले आयोगमा ०७७ साल असार २५ गते दर्ता भएको जनताको जनवादी पार्टी लिइन् । काठमाडौँ–१० मा कार्यालय रहेको पार्टीको चुनाव चिन्ह फडा उठाएको नाग रहेको छ । मार्गदर्शक सिद्धान्त मदन भण्डारीको जनताको बहुदलीय जनवाद(जबज) रहेको महासचिव मनिष उपाध्याय बताउँछन् । २०८४ को निर्वाचनसम्ममा विचार मिल्ने साना बाम  दलहरूसँग एकताको पहल भइरहेको उनले बताए ।

नेकपा मार्क्सवादी (पुष्पलाल)

नेकपा (पुष्पलाल) दलको रूपमा ०७६ भदौ १५ गते आयोगमा दर्ता भयो । एमालेले नेकपाका संस्थापक नेता पुष्पलालको विचार छोडेकाले पार्टीबाट अलग भएर नयाँ दल गठन गरेको महासचिव मान ध्वज गुरुङको भनाई छ ।

पुष्पलालकी धर्मपत्नी साहना प्रधानले नेतृत्व गरेको नेकपा, मनमोहन अधिकारीले नेतृत्वको नेकपा (मार्क्सवादी) हुँदै ०४७ सालमा एमालेमा लागेका उनी एमालेको पाचौं महाधिवेशनबाट जबज अङ्गीकार गरेपछि अलग भए ।

‘एमालेले पुष्पलालको विचार छोडेर जनताको बहुदलीय जनवाद अङ्गालेपछि पार्टीबाट अलग भए । पुष्पलालले नयाँ जनवादी क्रान्तिको व्याख्या र विश्लेषणको एउटा स्वरूप खडा गरेर राख्नुभएको छ । त्यो अनुसार जानुपर्छ भन्ने हाम्रो मान्यता हो’, उनले भने ।

उनले थपे, ‘पुष्पलालको विचार बाहेक अन्यले परिवर्तन ल्याउँदैन भन्ने कुरा एमाले र माओवादीको आन्दोलनले देखायो ।’

विचार मिल्ने दलहरूसँग एकता र सहकार्यको पहल भइरहेको उनी बताउँछन् ।

बुढानीलकण्ठ–१ मा कार्यालय रहेको यो दलले गत  निर्वाचनमा ११ हजार मत पाएको दाबी गरेको छ । पार्टीको केन्द्रीय समिति ३५ सदस्यीय छ ।

माओवादी कम्युनिस्ट पार्टी नेपाल

एमाले र माओवादी मिलेर नेकपा बनेपछि गोपाल किराँतीले नेकपा (माओवादी केन्द्र) गठन गरेका थिए । २०७७ सालमा सर्वोच्च अदालतले नेकपा विघटन उनीबाट सो दल खोसियो । २०७८ जेठ २७ गते माओवादी कम्युनिस्ट पार्टी नेपाल अयोगमा दर्ता गराए । आन्तरिक किचलोका कारण किराँती पार्टीबाट निष्कासनमा परे । अहिले पार्टीको महासचिव रामनारायण प्रसाद पाल रहेका छन् भने गौशालामा कार्यालय रहेको छ । पार्टीको चुनाव चिन्ह हलो जोतिरहेको किसान रहेको छ । 

पार्टीको मार्गदर्शक सिद्धान्त मालेमावाद रहेको यो पार्टीले अहिले किसान आन्दोलन चलाइरहेको पाल बताउँछन् । 

किराँती पार्टीको संरक्षक रहेको बताउने पाल प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रमा फर्कन प्रस्ताव गरेको दाबी गर्छन् ।

‘गत पुसमा प्रचण्डले पार्टीमा फर्किन प्रस्ताव गर्नुभएको थियो । उहाँले सत्ता नछोड्ने भनेपछि एकताको पहल हुन सकेन । किसान आन्दोलनसँगै माओवादी घटकबिच एकता र सहकार्यको पहल गरिरहेका छौँ’, उनले भने ।

नेकपा (माले)

२०५४ सालमा एमाले विभाजित भएपछि पार्टीका प्रभावशाली नेता सिपी मैनाली वामदेव गौतमको नेतृत्वमा गठित नेकपा(माले) मा समाहित भए ।

०५६ को निर्वाचनमा पराजय बेहोरेपछि साहना प्रधान, गौतमलगायत ठुलै पङ्क्ति एमाले फर्किए पनि मैनाली मालेमै रहे । ०६४ निर्वाचनपछि समानुपातिक मतको फाइदा उठाउँदै पटक पटक मन्त्री पनि भए । तर अहिले यो दल गुमनाम जस्तै छ । मैनाली चाहिँ अहिले पनि आफू राजनीतिमा सक्रिय रहेको र देशभक्त, राष्ट्रवादी र वामपन्थी बिचार धारबिच मोर्चा गठन गरी आन्दोलन गर्ने तयारीमा जुटेको बताउँछन् ।

नेपाल कम्युनिस्ट पार्टी 

नेकपाका संस्थापक महासचिव पुष्पलालको शतवार्षिकी कार्यक्रमको तयारीमा छन्, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी । ०७५ सालमा ओली र प्रचण्डले कब्जा गरेको यो पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेपछि निकै चर्चा पाएको थियो ।

 तत्कालीन अध्यक्ष ऋषि कट्टेलले सत्ताको बलमा ओली–प्रचण्डले आफ्नो पार्टी कब्जा गरेको भन्दै सर्वोच्चमा मुद्दा हालेका थिए । झन्डै तीन वर्षपछि अदालतले कट्टेलको पक्षमा फैसला गरेको थियो । सो फैसलाबाट साबिक एमाले र माओवादी ब्युँतिएको थियो । दुई तिहाइको बलमा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाहीको तयारीमा लागेका प्रचण्ड–माधव समूहलाई यो फैसलाले ठुलो झड्का लागेको थियो । 

subedi.jpg.200x200_q70_crop

मुद्दा लडेर जोगाएको पार्टीबाट कट्टेललाई निष्कासन गरियो । पार्टीको आधिकारिकता दाबी गर्दै कट्टेल निर्वाचन आयोगमा पुगेका थिए । आयोगले सुवेदी नेतृत्वको नेकपालाई मान्यता दियो । कट्टेलले ओली–प्रचण्डसँग साँठगाँठ गरी नेकपा बेच्ने षड्यन्त्र गरेकाले कारबाही गरेको सुवेदीको दाबी छ । 

अहिलेको अवस्थामा एमाले र माओवादीसँग विचार नमिल्ने सुवेदीको तर्क छ ।

‘विचार प्रधान पुष्पलाल ००८ देखि मृत्यु अगाडिसम्म एक्लै पर्नुभयो । उहाँ ठिक लाइनमा हुनुहुन्थ्यो । पुष्पलाललाई गद्दार भन्नेले नै पछि उहाँको फोटोमा पूजा गर्न थाले । हामी त्यो पक्ष छैनौँ’, उनले भने ।  

अरू कम्युनिस्ट पार्टी 

भविसोर पराजुली नेतृत्वको नेकपा (गौरवशाली), मीननाथ देवकोटाको नेतृत्वको नेकपा (राष्ट्रवादी), सुदिप रुवाली नेतृत्वको नेकपा(लोकतान्त्रिक), रामबहादुर गुरुङको नेतृत्वको माओवादी जनमुक्ति पार्टी नेपाल र अम्बिका थैबको नेतृत्वमा रहेको नेकपा (मार्क्सवादी) पनि कम्युनिस्ट विचारधारामा आधारित दल निर्वाचन आयोगमा दर्ता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप