मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
विश्वप्रकाश शर्माको पत्रकार सम्मेलन

१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्

सोमबार, ०४ साउन २०८३, १७ : ४०
सोमबार, ०४ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीमा एकता कायम गर्न देउवा समूहले राखेका ५ सर्तबारे पत्रकार सम्मेलनमा प्रतिक्रिया दिएनन् ।
  • शर्माले पार्टीभित्र सबैको सहज सहभागिता सुनिश्चित गर्न निरन्तर छलफल भइरहेको र संवाद सकारात्मक ढङ्गले टुङ्गिने विश्वास व्यक्त गरे ।
  • देउवा समूहले पार्टीमा एकता कायम गर्न केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने, कार्यसम्पादन समिति बनाउने, महाधिवेशनको कार्यतालिका घोषणा गर्ने, महाधिवेशनसँग सम्बन्धित समितिमा बहुमत सुनिश्चित गर्ने र क्रियाशील सदस्यताको विवाद समाधान गर्ने लगायतका ५ बुँदे प्रस्ताव अगाडि सारेको थियो ।

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीमा एकता कायम गर्नका लागि राखेका ५ सर्तबारे कांग्रेसको संस्थापनले प्रतिक्रिया दिएको छैन । सोमबार पार्टी केन्द्रीय कार्यालयमा उपसभापति विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरेका थिए ।  पत्रकार सम्मेलनको सुरुमै पार्टीको आन्तरिक राजनीतिबारे कुरा गरेका शर्माले देउवा समूहका सर्तबारे नबोलेका हुन् ।

उपसभापति शर्माले सभापति गगन थापा, पार्टी नेतृत्व र अन्य सदस्यहरूबिच सबैको सहज सहभागिता सुनिश्चित गर्ने वातावरण निर्माण गर्न निरन्तर छलफल भइरहेको बताए। 

‘नेपाली कांग्रेस पार्टीको आन्तरिक जीवनका विषयमा के हुँदैछ भन्नेबारे म स्पष्ट पार्न चाहन्छु। पार्टीका आदरणीय सभापति गगनकुमार थापा, सिङ्गो नेपाली कांग्रेस पार्टी र पार्टी नेतृत्वबिच नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सबैलाई सहभागी हुने वातावरण सहज बनाउने उद्देश्यले संवाद र छलफल भइरहेका छन्,’ शर्माले भने, ‘‘ती संवाद तथा छलफल सकारात्मक ढङ्गले टुङ्गिनेछन् भन्नेमा हामी विश्वस्त छौँ। आन्तरिक जीवनको सन्दर्भमा आज तपाईहरूबाट उठ्न सक्ने जिज्ञासालाई मध्यनजर गर्दै सुरुमै यो कुरा स्पष्ट गर्न चाहन्छु।’ तर, उनले देउवा समूहका सर्तबारे केही बताएनन् । 

देउवा समूहले आइतबार मात्रै पत्रकार सम्मेलन गर्दै पार्टीमा एकता कायम राख्न ५ बुँदे प्रस्ताव अगाडि सारेको थियो । देउवा समूह्का तर्फबाट निवर्तमान प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माले चौधौँ महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने, सभापति गगनकुमार थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति बनाउने, पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले पन्ध्रौँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने प्रस्ताव राखेका थिए ।

त्यस्तै वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू बनाउने, महाधिवेशनको लागि सबैभन्दा महत्त्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टी भित्र विवाद हुनु पहिले नै वर्तमान सभापति गगनकुमार थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुङ्ग्याएका सबै क्रियाशील सदस्यलाई पन्ध्रौँ महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने माग देउवा समूहको छ । 

पत्रकार सम्मेलनमा उपसभापति शर्माले सहमतिका लागि प्रयास भइरहेको र सहमतिमा महाधिवेशन हुने वातावरण निर्माण हुने बताएर तर्किए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप