सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय
संसद् बैठक

सभामुखको भूमिकाप्रति कांग्रेसको असन्तुष्टि : ‘हामीलाई बोल्न दिइएन’

शुक्रबार, ११ जेठ २०८१, २० : ४७
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । सभामुख देवराज घिमिरेको भूमिकाप्रति नेपाली कांग्रेसले असन्तुष्टि प्रकट गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेसका सांसदहरूले बोल्नका लागि समय माग्दा सभामुख देवराज घिमिरेले समय दिएनन् ।

सभामुख घिमिरेले संसदमा शून्य समय, विशेष समय र आकस्मिक समय केही पनि नराख्ने निर्णय भएको बताए । सभामुखले यति भनेपछि कांग्रेसका सांसदहरूले उनीसँग माग गरे– ‘विपक्षी दललाई बोल्न दिनुपर्यो ।’

सभामुखले संसदको नियमित काम अघि बढाउन कोसिस भइरहेको बताए । विपक्षीहरूले उठाइरहेको सहकारीको विषय कार्यदलमा पनि छलफल जारी रहेकाले सभालाई पनि अगाडि लैजान उनले आग्रह गरे ।

तर सभामुखको आग्रहलाई कांग्रेस सांसदहरूले ‘हुँदैन’ भन्दै प्रतिवाद गरे । कांग्रेसका सांसद विश्वप्रकाश शर्माले भने, ‘बोल्नलाई समय पाउँ सभामुख महोदय ।’

सभामुखले आकस्मिक समय, विशेष समय र शून्य समयलाई नराखिकन अगाडि जानुपर्ने स्थिति रहेको सुनाए । कांग्रेस सांसदहरूले बोल्न पाउनुपर्‍यो भन्दै सभामुखसँग समय माग गरिरहे पनि सभामुखले बोल्न समय नदिई संसद् अघि बढाउन खोजे ।

parliament-samsad

प्रतिपक्षी दललाई समय उपलब्ध गराउनु सभामुखको कर्तव्य भएको कांग्रेस सांसद विश्वप्रकाशले हात उठाएर भने । सभामुखले नियमावलीमा भएको व्यवस्था अनुसार नै संसद् बैठक अगाडि बढाइरहेको बताए ।

सभामुखले भने, ‘माननीय सदस्यहरू, हामीले नियमावली अन्तर्गत नै कार्यक्रमलाई अगाडि बढाउन गइरहेका छौँ । हाम्रो कार्यव्यवस्था परामर्श समितिमा पनि परिस्थितिलाई सहज बनाउनका लागि अगाडि लाने, यो बिचमा बसेरै छलफलहरू टुङ्ग्याउनका लागि कोसिसहरूलाई सहयोग पुर्‍याउने काम भएको पनि माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’

कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, विश्वप्रकाश शर्माले प्रतिपक्षले बोल्न पाउनुपर्ने जिकिर गरिरहे । शर्माले भने, ‘सभामुख महोदय प्रतिपक्षले बोल्नु भनेको परिस्थितिलाई असहज बनाउने भन्ने कोणबाट बुझ्नु हुँदैन ।’

सभामुखले उभिएका कांग्रेस सांसदहरूलाई बस्न आग्रह गर्दै संसदलाई नियमित रुपबाट अघि बढाउन आग्रह गरे । कांग्रेस सांसदहरूले बोल्न पाउनु पर्‍यो संसदमा भन्दै होहल्ला गरे । सभामुखले संसदमा बोल्ने वातावरण बनाउन सत्तापक्ष र प्रतिपक्ष दुवैको भूमिका रहेको बताए । कांग्रेस सांसद र सभामुखबिच झन्डै १० मिनेट जुहारी चलेपछि सभामुखले जेठ १३ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरे ।

सरकारको इसारामा सभामुख चलेको कांग्रेसको आरोप

संसदमा सभामुखले बोल्न नदिएपछि कांग्रेसले सभामुखको भूमिकामाथि प्रश्न उठाएको छ । उसले सरकारको इसारामा सभामुख चलेको आरोप लगाएको छ ।

कांग्रेस सांसद प्रदीप पौडेलले सभामुखले प्रतिपक्षलाई सदनमा बोल्न रोक लगाएर नयाँ प्रचलन सुरु गरेको भन्दै आलोचना गरे । उनले भने, ‘प्रतिपक्षले बोल्न पाउनुपर्‍यो भन्दा सभामुखज्यूले बोल्न दिनुभएन । संसद् प्रतिपक्षको हुन्छ भन्ने आम संसदीय मान्यतालाई आज नेपालको संसद्ले उल्लङ्घन गरेको छ । यो भन्दा अगाडि संसद् सुरु भएपछि प्रतिपक्षको सांसदले बोल्न पाएको अवस्था थियो, आज त्यो पनि बन्द गरिएको छ ।’

यसबाट संसद् एकलौटी ढङ्गबाट चलाउने, जबर्जस्ती गर्न खोजेको र सभामुख सरकारको सम्पूर्ण इसारामा चल्ने स्थिति बनेको पौडेलले बताए । उनले अगाडि भने, ‘जबर्जस्ती ढङ्गबाट अगाडि जाने उहाँहरूको कोसिस देखिन्छ । संसद्ले हल निकाल्ने होइन । सरकारबाट संसदमा समस्या सिर्जना गर्ने, संसदलाई बन्दी बनाउने, संसदबाट प्रक्रियागत ढङ्गले होइन, संसदलाई नियन्त्रण गरेर जबर्जस्ती तरिकाबाट अघि बढ्ने कार्यदिशा तय गरेको आजको सभामुखको भूमिकाबाट प्रस्ट हुन्छ ।’

कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले प्रतिपक्षले संसदमा उठाउनुपर्ने धेरै विषयवस्तु रहेको बताए । त्यसमध्ये एउटा विषय सहकारी ठगीको रहेको बताउँदै छानबिन समिति बनाउँदा कोमाथि छानबिन गर्ने, त्यसलाई प्रस्ट रुपमा लेख्नुपर्ने बताए ।

कुन बिरामीमाथि उपचार गर्ने हो, त्यसको नाम खुलाएर जाँच गर्नुपर्ने बताउँदै उनले उपचार गर्नुपर्ने बिरामीको नाम कागजमा उल्लेख नगर्ने भनेपछि सहकारीमाथिको छानबिन समिति बनाउनु र नबनाउनुको अर्थ नहुने जिकिर गरे ।

शर्माले भने, ‘अहिले यहाँ के देखियो भने सरकारी प्रकरणमा एमालेले साथ दिने, गिरीबन्धु प्रकरणमा रास्वपाले साथ दिने । त्यसरी सहकारी बन्धु गठबन्धनको रुपमा उहाँहरू देखिनुभएको छ ।’

उनले सभामुखले एकलौटी ढङ्गले संसद् चलाउन खोजेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

सरकार भन्छ– एउटै कुरा संसदमा पटकपटक उठाउन आवश्यक छैन

यता सरकारले भने प्रतिपक्ष दलले बारम्बार एउटै कुरा उठाइरहेको बताउँदै छानबिन समिति बन्न लागेको बेला त्यसलाई भाँड्नेगरी अभिव्यक्ति दिन खोजेको दाबी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संसदीय छानबिन समिति बन्न लागेको बेला प्रतिपक्ष दलले संसद् अवरुद्ध गर्न आवश्यक नभएको बताए ।

मन्त्री गिरीले भने, ‘कांग्रेसलाई संसदमा बोल्न दिइएको छ, पटक–पटक एउटै कुरा उठाउन आवश्यक छैन । हामी अहिले संसदीय छानबिन समिति बनाउनका लागि छलफलमा पनि रहेकाले यस्तो अवस्थामा प्रतिपक्षले संसद् रोक्न आवश्यक छैन । कांग्रेसले संसद् चलाउन सहयोग गर्नुपर्छ ।’

उनले सरकार र प्रतिपक्षी दलको मिलनबिन्दु भनेको जहाँ–जहाँ सहकारीको अपचलन भएको छ, ती ठाउँहरूमा छानबिन गर्नेगरी, त्यसलाई एउटा निष्कर्षमा पुर्‍याउने गरी एउटा टीओआर बनाएर जाने उल्लेख गरे । यसका लागि पार्टीका शीर्ष नेतृत्व तहमा पनि छलफल भएको उनले बताए ।

सहकारीको रकम अपचलन गरेको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले गत चैत २ गतेदेखि लगातार रुपमा संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप