बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

प्रभाव पार्न सक्ने खेलाडी : सन्दीप लामिछाने (नेपाल)

आइतबार, ०२ असार २०८१, १९ : ०९
आइतबार, ०२ असार २०८१

काठमाडौँ । नेपाली टोलीका प्रभावशाली लेग–स्पिनर हुन्, सन्दीप लामिछाने । २४औँ वर्ष प्रवेशको सँघारमा रहेका सन्दीप टोलीका अनुभवी खेलाडी पनि हुन् । जारी विश्वकपको अघिल्ला दुई खेलमा सन्दीप टोलीमा सहभागी थिएनन् ।

अमेरिकाले भिसा (प्रवेशाज्ञा) दिन अस्वीकार गरेका कारण उनी अमेरिका जान पाएका थिएनन् । त्यसैले उनले क्यारेबियन राष्ट्रमा खेलिने जारी विश्वकपका दुई खेलमात्र खेल्ने अवसर पाएका हुन् । दक्षिण अफ्रिकाविरुद्धको खेलमा विकेट लिन नसके पनि उनको प्रदर्शन राम्रो थियो ।

सन्दीपले दक्षिण अफ्रिकाविरुद्ध मैदानमा ओर्लनुअघि गत वर्षको नोभेम्बरमा अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । सन्दीप वेस्ट इन्डिजका स्टेडियमको पिचसँग पनि राम्ररी परिचित छन् । सन्दीपले यसअघि क्यारेबियन प्रिमियर लिग पनि खेलिसकेका छन् । क्यारेबियन राष्ट्रको पिचमा स्पिन बलरहरुले उत्कृष्ट प्रदर्शन पनि गर्दै आएको देखिन्छ ।

सन्दीप नेपालका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय विकेट लिने बलर पनि हुन् । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेटको सँघारमा पनि छन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ९८ विकेट लिइसकेका छन् ।

जारी विश्वकपको बंगलादेशविरुद्धको खेलमा थप दुई विकेट लिए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको एक सय विकेट पुरा हुनेछ । सन्दीपले ५३ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै ९८ विकेट लिएका हुन् । बंगलादेशविरुद्धको खेल उनका लागि ५४औँ खेल हुनेछ ।

दक्षिण अफ्रिकाविरुद्धको खेलमा उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एउटा कीर्तिमानको बराबरी गर्ने अवसर गुमाएका थिए । त्यो खेलमा दुई विकेट लिन सकेको भए उनको नाम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेल खेल्दै एक सय विकेट लिने खेलाडीको सूचिमा दरिने थियो ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेल खेल्दै एक सय विकेट लिने बलर अफगानिस्तानका रासिद खान हुन् । उनले पनि ५३ खेल खेल्दै एक सय विकेट लिएका हुन् । टी–२० अन्तर्राष्ट्रिय खेलको एउटै पालीमा सन्दीपले गरेको उत्कृष्ट प्रदर्शन केवल नौ रन दिएर पाँच विकेट हो ।

विभिन्न राष्ट्रमा चर्चित फ्रेन्चाइज क्रिकेट खेलिसकेका उनले टी–२० अन्तर्राष्ट्रियमा एकपटक पाँच विकेट र दुईपटक चार विकेट लिएका छन् । यसका अतिरिक्त उनले ५१ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको ५० पालीमा कुल एक सय १२ विकेट लिएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन केवल ११ रन खर्चिएर ६ विकेट हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले तीनपटक पाँच वा त्योभन्दा बढी विकेट र आठपटक चार विकेट लिएका छन् ।

सन्दीप सन् २०२३ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने विश्वभरका बलरहरुको सूचिमा चौथो नम्बरमा रहेका थिए । उनले सन् २०२३ मा २१ खेल खेल्दै ४३ विकेट लिएका थिए । भारतका मोहम्मद सामीले भने १९ खेलमा ४३ विकेट लिएका थिए ।

त्यो वर्ष भारतका कुलदीप यादबले २९ पालीमा सर्वाधिक ४९ विकेट लिएका थिए । यो सूचिको दोस्रो स्थानमा रहेका भारतीय बलर मोहम्मद सिराजले २४ पालीमा ४४ विकेट लिएका थिए । नेपाललाई टी–२० विश्वकपमा छनोट गराउन पनि सन्दीपको महत्वपूर्ण भूमिका रहेको थियो ।

सन्दीपले टोलीलाई आवश्यक पर्दा तल्लो क्रममा क्रिज समाल्न आएर गतिलो रन पनि बनाउने गरेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुल तीन सय ७६ र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६४ रन बनाएका छन् । उनले एकदिवसीयमा आठ र टी–२० अन्तर्राष्ट्रियमा २० क्याच पनि लिएका छन् ।

सन्दीपले सन् २०१८ को अगस्त १ तारिखमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । त्यो खेलमा उनले एक विकेट पनि लिएका थिए । उनले पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय खेल भने सन् २०२३ को सेप्टेम्बर ४ तारिखमा भारतविरुद्ध खेलेका थिए ।

यसैगरी उनले सन् २०१८ को मे ३१ तारिखमा वेस्ट इन्डिजविरुद्ध खेल्न टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । त्यो खेलमा उनले आईसीसी विश्व–११ टोलीको तर्फबाट खेलेका थिए । यसका अतिरिक्त उनले एउटा प्रथम श्रेणीको क्रिकेट र ७५ वटा ‘लिस्ट ए’ क्रिकेट पनि खेलेका छन् ।

उनले प्रथम श्रेणीको क्रिकेटमा तीन र ‘लिस्ट ए’ क्रिकेटमा एक सय ५८ विकेट लिइसकेका छन् । उनले हालसम्म एक सय ४५ वटा टी–२० प्रतियोगिता खेलेका छन् । टी–२० क्रिकेटमा उनले कुल दुई सय ६ विकेट लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप