बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
बजेट

घटेर आएको हेटौँडा उपमहानगरको बजेटमा के छ ?

आइतबार, ०२ असार २०८१, २३ : ०४
आइतबार, ०२ असार २०८१

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेटभन्दा ४६ करोड ७२ लाख २९ हजार रुपैयाँ (१६.०७) प्रतिशत घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याएको हो ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २ अर्ब ४३ करोड ८९ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ५३ करोड २७ लाख ९५ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ६१ करोड ६५ लाख ८६ हजार रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट ११ करोड १७ लाख ३९ हजार रुपैयाँ र सङ्घीय सरकारको अनुदानबाट १ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बेहोरिने अनुमान गरिएको छ ।

  • बजेटको प्राथमिकता

हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकतामा आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने, उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्ने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढाउने जनाएको छ ।

स्थानीय सहभागिता जुट्ने, स्वयंसेवा परिचालन गरी लागत न्यूनीकरण गर्ने, स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग हुने, महिला, बालबालिका तथा पिछडिएका क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने, लैङ्गिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि हुने बजेटको प्राथमिकताको क्षेत्र निर्धारण गरिएको छ ।

समावेशी र दिगो विकास, वातावरण संरक्षण तथा संवर्द्धन गर्न सघाउ पु¥याउने, भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पु¥याउने, शिक्षा, स्वास्थ्य क्षेत्रको गुणस्तरीयता एवम् सबलीकरण, सबै प्रकारका सामाजिक विभेद अन्त्य भएको मानवताको सहर स्थापना गर्ने बजेटको प्राथमिकता रहेका छन् ।

  • बजेटका उद्देश्य

उपमहानगरपालिकाको बजेटले विकासका लागि आर्थिक, सामाजिक, भौगोलिक पूर्वाधार खडा गर्ने, शासनमा सुधार र सेवा प्रवाहमा जनताको सहज पहुँच वृद्धि गर्ने, आन्तरिक क्षमता विकास र सुदृढीकरणमा जोड दिने, सन्तुलित एवम् दिगो समावेशी विकासको अवधारणालाई आत्मसात् गर्ने बजेटको उद्देश्य छ ।

गरिबी न्यूनीकरण तथा जनजीविकामा टेवा पु¥याउने, समृद्ध नगर सुखी नगरवासीको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ उपमहानगरपालिकाले बजेट तर्जुमा गरेको छ ।

  • यस्तो छ हेटौँडाको बजेट कार्यक्रम

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा हेटौँडा–१० मा निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गरी सञ्चालन गर्न ६ करोड बजेट विनियोजन गरेको छ । सहरी सडक मर्मत सम्भारका लागि सडक बोर्ड नेपालसँगको लागत साझेदारीमा योजना सञ्चालन गर्न १ करोड ७० लाख विनियोजन गरेको छ भने विभिन्न पूर्वाधारको आकस्मिक मर्मत सम्भारका लागि मर्मत सम्भार कोषमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

सङ्घ तथा प्रदेश सरकारको लागत, सहयोग तथा समन्वयमा कर्रा करिडोर निर्माणको निरन्तरताका लागि आवश्यक व्यवस्था गरिएको उपमेयर राजेश बानियाँले बताए । जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि १७ करोड रुपैयाँ व्यवस्था गरिएको छ भने पदमपोखरी मुख्य सडक विस्तार कार्यका लागि ७ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए ।

उनका अनुसार हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसँग साझेदारी कार्यक्रम, न्यूनतम महसुल भुक्तानी लगायतका कार्यका लागि लागि २ करोड ८ लाख रुपैयाँ, नगरपालिकाको प्रशासनिक भवनमा लिफ्ट जडान, पर्खाल एवम् चमेनागृह निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा नागस्वती फुटबल स्टेडियम निर्माणका लागि १ करोड ७२ लाख रुपैयाँ, सङ्घीय सरकारबाट हेटौँडा चक्रपथअन्तर्गत वडा नम्बर १५, १६, १७ को सडकखण्ड स्तरोन्नति गर्न २ करोड रुपैयाँ, चाइना क्वाटरबाट राप्ती बाइपास जोड्ने सडकका लागि १ करोड रुपैयाँ, नेवारपानी गुम्बाटोल हुँदै गालछारांग–लिक्चे कैलाश, हेटौँडा कैलाश राक्सिराङ जोड्ने सडकका लागि २ करोड रुपैयाँ, बिपी मार्ग स्तरोन्नतिका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाले पूर्वाधार विकास क्षेत्रभित्र पर्ने सडक, ऊर्जा, सडक बत्ती, जलस्रोत, पर्यटन, भवन तथा आवास, सिँचाइलगायत नगरस्तरीय पूर्वाधार तर्फ ८८ करोड ८६ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन गरेको उपमेयर बानियाँले बताए ।

आगामी आर्थिक वर्षमा उपमहानगरपालिकाले उद्योग, सहकारी तथा लघु उद्यमतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ६९ लाख ९९ हजार रुपैयाँ, पर्यटनतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनको भनाइ छ ।

त्यस्तै संस्कृति प्रवर्द्धनअन्तर्गत पूर्वाधार निर्माण मर्मत तथा जीर्णोद्धारका लागि १ करोड १६ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि १ करोड २७ लाख ७१ हजार रुपैयाँ, आर्थिक विकास क्षेत्रभित्रका चालु कार्यक्रम र पुँजीगत योजना तथा कार्यक्रमका लागि ७ करोड ५६ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षक बैंक, मोबाइल शिक्षक, सिल्भर स्वयंसेवक, सुनौलो शुक्रबार कार्यक्रमका लागि  आवश्यक बजेट व्यवस्था गरिएको उपमेयर बानियाँले बताए ।

शिक्षातर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ७३ करोड २७ लाख २६ हजार रुपैयाँ र आन्तरिकतर्फ ४ करोड ४५ ७२ लाख २६ हजार रुपैयाँ विनियोजन गरिएको छ भने हटिया र पदमपोखरीस्थित आधारभूत अस्पताललाई स्वास्थ्य बीमामा आबद्ध गरी सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । स्वास्थ्य तर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न सशर्त समेत गरी ७ करोड ६९ लाख ६२ हजार रुपैयाँ तथा युवा तथा खेलकुदसँग सम्बन्धित कार्यक्रमका लागि कुल १ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाले फोहरमैला व्यवस्थापन र ढल तथा नाला पूर्वाधारतर्फका योजना तथा कार्यक्रमका लागि २ करोड १६ लाख विनियोजन गरेको छ । वातावरण तथा विपद् व्यवस्थापन एवं सरसफाइ र फोहरमैला व्यवस्थापनमा चालु कार्यक्रम र पुँजीगत योजना तथा कार्यक्रमका लागि कुल ३ करोड १२ लाख ७० हजार विनियोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप