बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अर्थ

इतिहासमा बजेट : भाषण पढ्नु अघि नै ‘लिक’देखि ‘ब्रिफकेस’ तोडफोडसम्म

मङ्गलबार, १५ जेठ २०८१, १४ : १५
मङ्गलबार, १५ जेठ २०८१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दैछन् । दोस्रो पटक अर्थमन्त्रीको जिम्मेवारीमा रहेपनि पुनले पहिलोपटक १९ खर्ब रुपैयाँभन्दा माथिको बजेट भाषण गर्न लागेका हुन् ।

सुरुमा दिउँसो १ बजेलाई संसद्को संयुक्त बैठक डाकिएको भएपनि २ घण्टा सारेर ३ बजेसम्म सारिएको छ । आगामी वर्षको बजेट बनाउनका लागि अर्थमन्त्री पुनले सोमबार रातभर अर्थमन्त्रालयमा विताए । रातभर लगाएर बनाएको बजेट संसदमा पढ्नुअघि मन्त्रीपरिषद्को बैठकले पारित गर्नुपर्छ ।

पुनले बजेट भाषण गर्नुअघि नेपालको बजेट इतिहासमा घटेको केही तथ्य रातोपाटीले उजागर गरेको छ । नेपालमा २००८ सालदेखि बजेट भाषण गर्ने प्रचलन सुरु भएको थियो । तत्कालीन अर्थमन्त्री सुवर्ण शम्सेरले सो समयमा ५ करोडको बजेट भाषण गरेका थिए । त्यसयताको बजेट इतिहासमा एक/दुई वटा बिर्सिनै नसकिने घटना भएका छन् ।

विगतमा आगामी वर्षको बजेट सार्वजनिक गर्नुपर्ने मिति तोकिएको थिएन । कतिपय आर्थिक वर्षमा राजनीतिक दलहरूबिच सहमति नहुँदा महिनौँसम्म बजेट भाषण हुन नसकेका उदाहरण समेत छन् । बजेट भाषण गर्नमा नै राजनीतिक कारणले विभिन्न प्रकारका दोहोरिइरहेपछि ‘नेपालको संविधान, २०७२’ तोकेरै जेठ १५ मा बजेट ल्याउनैपर्ने व्यवस्था गरेको हो ।

बजेट पढ्नुअघि नै ‘लिक’ भएपछि...

आर्थिक वर्ष २०६८/६९ मा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले संसदमा बजेट भाषण गर्नुभन्दा अघि नै बजेटको पूर्णपाठ ‘लिक’ भएको थियो । बजेटको महत्त्वपूर्ण भाग मानिने करको विषयसमेत मन्त्री अधिकारीले संसदमा पेस गर्नु अघि नै ‘लिक’ भएको थियो । सो समयमा भरतमोहन अधिकारीले दिउँसो संसदमा बजेट भाषण गर्नु अघि बिहान पत्रपत्रिकामा करका दरसमेत राखेर जस्ताको त्यस्तै बजेट ‘लिक’ भएको हो ।

अधिकारीले बजेट भाषण सुरु गर्नुअघि संसदभवनमा हल्लाखल्ला मच्चियो र प्रतिपक्षी दलले विरोध गर्‍यो । यद्यपि, विरोधका बाबजुद अधिकारीले बजेट भाषण गरेका थिए ।

अर्थमन्त्रीको हातबाट खोसेर च्यातियो बजेट

पूर्वअर्थमन्त्री भरतमोहत अधिकारीसँगै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले ल्याएको बजेटले समेत इतिहासमा तथ्य छाडेको छ । आर्थिक वर्ष २०६६/६७ को बजेट भाषण हुनुअघि नै प्रतिपक्षी दलका सांसदले ‘ब्रिफकेस’ खोसेर च्यातेका थिए । तत्कालीन नेकपा एमालेका तर्फबाट अर्थमन्त्री रहेको पाण्डे सम्पूर्ण तयारीसहित बजेट भाषण गर्न संसद् पुगेका थिए ।

तर, संसद् पुगेपछि ‘रोस्टम’ चढ्नुअघि नै प्रतिपक्षी तत्कालीन नेकपा माओवादीका सांसदले पाण्डेको हातबाट ‘ब्रिफकेस’ खोसे र च्याते । उनीहरुले तत्कालीन अर्थमन्त्री पाण्डेलाई रोक्नेक्रममा हुलदङ्गा भएपछि पाण्डेको हातबाट ब्रिफकेस खोसेर च्यातेका हुन् । त्यसक्रममा पाण्डेलाई चोट समेत लागेको बताइन्छ । प्रतिपक्षी दलले बजेट च्यातेपछि अर्को दिन अध्यादेशमार्फत बजेट ल्याइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप