सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्र समृद्ध बनाउन एकताबद्ध निर्णायक शक्ति आवश्यक छ : ओली

सोमबार, २८ जेठ २०८१, १९ : ३८
सोमबार, २८ जेठ २०८१

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र समृद्ध बनाउन एकताबद्ध राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताएका छन् । 

धुलिखेलमा आज आयोजित एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीको ११औँ अधिवेशन उद्घाटन गर्दै उनले एकताबद्ध राष्ट्रिय शक्ति निर्माण नभएसम्म समृद्धिको अभियानमा व्यवधान गर्नेलाई परास्त गर्न नसकिने बताए । 

उनले ‘मिसन ०८४’ मार्फत राष्ट्रिय शक्ति निर्माण गर्ने सङ्कल्पसहित एमालेले अभियान सुरुआत गरिसकेको बताए । । “राष्ट्रिय शक्ति निर्माण नभएसम्म सुशासनसहितको समृद्धि प्राप्त गर्न सकिँदैन, त्यसैले निर्णायक तहमा राष्ट्रिय शक्तिको आवश्यकता परेको हो”, अध्यक्ष ओलीले भने,“त्यसका लागि एमालेले मिसन ८४ लाई टर्निङ प्वाइन्टका रुपमा लिन्छ, सोहीअनुसार सम्पूर्ण पार्टीपङ्क्ति लाग्नु पर्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ‘समृद्ध नेपाल–सुखी नेपाली’को अभियानलाई सार्थकता दिन आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्ने बताए । 

अध्यक्ष ओलीले पूर्वाधारलाई आधार बनाएर कृषि क्षेत्रलाई आधुनिकीकरण, औद्योगिकीकरण तथा उत्पादनमूलक बनाउनुपर्नेमा समेत जोड दिए ।  

कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले नवप्रवर्तनका कार्यक्रममार्फत विदेशिने जनसङ्ख्यालाई स्वदेशमै परिचालन गनुपर्ने बताए। पार्टीका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले एमालेको समृद्धिको अभियानलाई अगाडि बढाउन पार्टी सङ्गठनलाई एकतावद्ध र बलियो बनाउन लाग्नुपर्ने बताए । 
यसैगरी पोलिटब्युरो सदस्य कृष्ण राई र वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले एमालेको मिसनले हरेक क्षेत्रमा उत्साह पैदा भएकाले थप क्रियाशील भएर अगाडि बढ्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप