बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

एमाले मोरङमा ओली गुटमै चरम विवाद

महानगरका अध्यक्ष सागर थापासहित तीन जना पदमुक्त
शुक्रबार, ३२ जेठ २०८१, २१ : ०२
शुक्रबार, ३२ जेठ २०८१

विराटनगर । विराटनगर–३ स्थित मानगढ खानेपानीको निर्वाचनमा बागी उम्मेदवार उठाएको निहुँमा नेकपा एमाले मोरङ जिल्ला समितिले विराटनगर महानगर समितिका अध्यक्ष सागर थापासहित तीन जनालाई पदमुक्त गरेको छ ।

यसको भित्री पाटो भने आगामी जिल्ला अधिवेशन लक्षित गरी भित्रभित्रै चलिरहेको गुटगत प्रतिस्पर्धाको पटाक्षेप भएको एमालेकै नेताहरू बताउँछन् ।

गत जेठ १९ गते भएको मानगढ खानेपानीको निर्वाचनमा एमाले समर्थक लालमणि भट्टराई र राम घिमिरे उम्मेदवार बनेका थिए । दुई गुटको प्रतिस्पर्धाकै कारण मतदानमा विवाद भएको थियो ।

सोही विवादकै कारण मतगणना अझै हुन सकेको छैन । निर्वाचनमा धाँधली भएको भन्दै कांग्रेस निकटकाले उच्च अदालतमा रिट दर्ता गरेका छन् । सो मुद्दालाई भट्टराई पक्षका एमालेले समर्थन गरेका छन् ।

सोही रिटका आधारमा अदालतले तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको छ । उक्त मुद्दाको पेसी  असार ३ गतेका लागि तोकिएको छ ।

तर, सोही निर्वाचनमा गुटगत प्रतिस्पर्धामा उत्रिएका एमालेमा भने कारबाही गरागरको अवस्था सिर्जना भएको छ । एमाले जिल्ला कमिटीले महानगर अध्यक्ष थापासहित उपसचिव नवराज नेपाल र महानगर वडा नम्बर ३ अध्यक्ष लालमणि भट्टराईलाई शुक्रबार साधारण सदस्यबाट समेत निलम्बन गरेको हो । यस्तै सोही प्रकरणमा पार्टी जिल्ला कमिटी सदस्य मुकेश बुढाथोकीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

विराटनगरमा रहेको मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचनमा अध्यक्ष पदका लागि घिमिरे आधिकारिक उम्मेदवार रहेको एमाले मोरङको जिकिर छ । तर थापा पक्षले भने अध्यक्षका अर्का उम्मेदवार लालमणी भट्टराईलाई समर्थन गरेका थिए । सोही कारण एमाले जिल्ला समितिले महानगर अध्यक्ष थापा र उपसचिव नेपालमाथि कारबाहीको डण्डा चलाएको हो । भट्टराई एमाले ३ नम्बर वडा समितिका अध्यक्ष पनि हुन् ।

थापा पक्षले भने खानेपानीको निर्वाचनमा एमालेको विराटनगर महानगरपालिकाको वडा नम्बर १, ३, ४ र १९ तथा बुढीगंगा गाउँपालिकाको १ नम्बर वडाले लालमणिलाई जिताउने निर्णय गरेको बताएको छ । घिमिरेलाई भने खानेपानीको अध्यक्ष भएर २७ वर्ष चलाउँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । जिल्ला नेताहरूले भ्रष्टलाई बोकेर निर्वाचनमा लडाउँदा पार्टी तहसनहस भएको आरोप लगाएका छन् ।

त्यसबेलै विवाद देखिएपछि एमाले जिल्ला समितिको जेठ १८ गते बसेको बैठकले सो प्रकरणमा छानबिन गर्न जिल्ला कमिटी उपसचिव शान्ति लिम्बूको संयोजकत्वमा रविन थापा र काजीबहादुर बस्नेत सदस्य रहेको समिति गठन गरेको थियो । सो समितिका सिफारिसका आधारमा तीन जनामाथि कारबाही र एक जनालाई स्पष्टीकरण सोधिएको एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले जानकारी दिए ।

खानेपानी आयोजनाको निर्वाचन प्रक्रिया नै स्थगित भएको बेला एमालेले कारबाहीको निर्णय गरेको हो । कारबाहीमा परेका थापा पक्षले भने पार्टीको जिल्ला कमिटीले निर्वाचन अघि कसैलाई पनि आधिकारिक उम्मेदवार भनेर नतोकेकाले सो विषयमा कारबाही गर्ने कुरा व्यक्तिगत अराजकता भएको बताएको छ ।

एमाले विराटनगरका अध्यक्ष थापाले भने आफूमाथि भएको कारबाहीको विरुद्धमा विराटनगरका १९ वटै वडाका अध्यक्ष र सचिवहरूले निर्णय गरेको जानकारी दिए । उनले जिल्ला अध्यक्ष बाबुराम कार्कीले आत्मालोचनासहित निर्णय नसच्याए जस्तोसुकै कदम चाल्नसक्ने बताए ।

‘यो अराजकताको विरुद्धमा हामी सङ्घर्षमा जान्छौँ,’ उनले भने, ‘पार्टीको विधानमा भएको व्यवस्था विपरीत हठात् कारबाही गर्ने भनेर गरिएको निर्णय पार्टीको होइन । सनकका आधारमा कोही व्यक्तिले यस्तो निर्णय गरेको हुनसक्छ । पार्टीमा प्रतिबद्ध भएर सदस्यता नवीकरणमा लागिरहेको इमानदार कार्यकर्तालाई कारबाही गर्ने कुरालाई कोही पनि एमालेका सदस्यहरूले मान्ने पक्षमा छैनन् ।’

यो निर्णयको विरुद्धमा महानगरका ८० प्रतिशत कार्यकर्ता पार्टी कार्यालय घेर्न जाने उनको भनाइ छ । एमालेले अन्य जिल्लामा अधिवेशन सम्पन्न गरिसक्दा मोरङमा भने अझै हुन सकेको छैन । एमाले मोरङको नेतृत्वमा रहेको ऋषिकेश पोखरेल पक्षले अधिवेशनमा आफ्नो टिम पराजित हुने भयका कारण अधिवेशन नगरेको र अधिवेशनलाई प्रभावित गर्ने गरी खानेपानीको निर्वाचनलाई बहाना बनाएर अर्को पक्षलाई कारबाही गरेको थापा पक्षको आरोप छ ।

कार्कीले थापालाई पार्टीको विधानको धारा ८० को उपधारा ३ र ६ अनुसार कारबाही गरेको जनाएका छन् । उपधारा ३ मा ‘पार्टी निर्णय उल्लङ्घन गरेमा वा पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेमा’ भन्ने उल्लेख छ भने उपधारा ६ मा ‘कुनै जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनमा पार्टीको निर्णयविपरीत उम्मेदवार बनेमा, पार्टीको उम्मेदवारविरुद्ध प्रचार गरेमा वा पार्टीको उम्मेदवारका विरुद्धमा उठ्ने अन्य कुनै उम्मेदवारको प्रस्तावक वा समर्थक बनेमा वा त्यस्तो उम्मेदवारको पक्षमा कुनै काम गरेमा’ अनुशासन उल्लङ्घन गरेको मानिने उल्लेख छ ।

sfasfaf

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप